क्रिकेटरको कोरोना अनुभव
राजविराज : नेपालको उमेर समूहको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका ३४ वर्षीय क्रिकेटर पवन दास होम आइसोलेसनमा बसेको करिब तीन सातापछि कोरोना संक्रमणमुक्त भएका छन्। उनीसँगै ६२ वर्षीय बुवा, ६१ वर्षीया आमा, ६ वर्षीया छोरी र डेढ वर्षीय छोराले पनि कोरोना जितेका छन्।
सुरुआतमा हल्का ज्वरो र रुघाखोकीबाहेक उनलाई अन्य दिन कुनै पनि लक्षण देखिएन। त्यसैले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाको सल्लाहमा सावधानी अपनाउँदै होम आइसोलेसनमा बसेर नै कोरानालाई पराजित गरेको उनले बताए।
होम आइसोलेसनमा रहँदा उनले मेडिकल उपचार गरेनन्। घरकै भान्सामा पाइने विभिन्न जडीबुटी प्रयोग गरे र खानपानमा ध्यान दिए। कोरोनाले केही दिन खानाको स्वाद मारे पनि अन्य अप्ठ्यारो खासै नभएको उनले बताए।
‘गुर्जो, तेजपत्ता, तुलसीको पात, अदुवा, बेसार पानी, तातो पानी, दालचिनीलगायत जडीबुटी तथा दूध, गेडागुडी, भिटामिन ‘सी’ युक्त पौष्टिक आहार खायौं’, उनी भन्छन्, ‘स्टिम बाथ लियौं, बाहिर उपचार गरेनौं। निकै सावधानीपूर्वक होम आइसोलेसनमा छुट्टाछुट्टै बस्यौं।’
महोत्तरीको बर्दिबासस्थित पावनमिथिला होटलमा साउन १५ गते भएको एक बैठकमा पुगेर फर्किएका दासलाई ज्वरो आई रुघा लागेपछि परीक्षण गराउँदा साउन २४ गते उनीसहित बुवाआमा, भान्जामा समेत कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनका नाबालक छोराछोरी र बहिनीका सासू, ससुरा, भाउजू र भतिजालाई पनि संक्रमण पुष्टि भयो। उनलाई वृद्ध बुवाआमा, कलिला छोराछोरी र आफन्तमा संक्रमण पुष्टि भएको कुराले बढी चिन्तित बनायो।
होम आइसोलेसनको बसाइमा उनले केही तीता व्यवहारको अनुभव पनि गरे। ‘कोरोना भएपछि नजिकका आफ्ना भनाउँदा केही शिक्षित वर्गबाटै रूखो व्यवहार पाएँ’, दास भन्छन्, ‘सधैं सम्पर्कमा रहने र अरू बेला फोन गर्नेहरूले फोनबाट कुरा गर्दासमेत रोग सर्छझैं गरे।’ आफूले तीतो व्यवहार सहनु परे पनि नकारात्मकभन्दा सकारात्मक अनुभव धेरै रहेको पवनले सुनाए। सामान्य चिनजान भए पनि बोलचाल नभएकाहरूले समेत फोन गरेर दिएको सहानुभूति र मायाले औषधिकै काम गरेको उनको भनाइ छ। अधिकांश साथीभाइले दिएको हौसला र सहयोगले जीवनभरिका लागि ऋणी बनाएको उनले बताए। समस्यामा परेका बेला नजिकका र टाढाका छुट्टिने गरेको भन्दै दासले भने, ‘जात, धर्म, नाताभन्दा मानवता ठूलो रहेछ।’ थोरै मानिस नकारात्मक भए पनि धेरै मानिस सकारात्मक नै पाएको उनको ठम्याइ छ।
कोरोनालाई अनावश्यक रूपमा भयावह बनाएको र संक्रमणमुक्त हुनुलाई विश्वकप जितेझैँ गर्नुलाई उनी ठीक मान्दैनन्। कोरोना संक्रमणबाट जोगिने र संक्रमित भएमा होम आइसोलेसनमा बसेर के–कस्ता उपाय र सावधानी अपनाउने विषयमा उनले सामाजिक सञ्जालमार्फत लगातार आफ्ना अनुभव साट्दै आएका छन्।
‘कोरोना लाग्नेबित्तिकै मरिन्छ भन्ने एक किसिमको भ्रम पालेर बसेका छौं’, दासले भने, ‘कोरोनाबाट जोगिन सचेत र सावधान रहनुपर्ने भए पनि अनावश्यक भयावह बनाएका छांै।’ यसलाई जित्न सकिन्छ र जित्छु भन्ने आत्मविश्वास हुनेले कोरोनालाई पराजित गर्न सक्ने उनले बताए। दासले कोरोनाबाट बच्न सामाजिक दूरी आवश्यक रहेकाले अति आवश्यकबाहेक घरमै बस्न सबैसँग आग्रह पनि गरे।
हौसला र मनोबल आवश्यक पर्ने कोरोना संक्रमितलाई उल्टो व्यवहार नगर्न आग्रह गर्दै दास भन्छन्, ‘कोरोना संक्रमितलाई भाइरसले भन्दा पनि सामाजिक तिरस्कारको डरले बढी कमजोर बनाउने भएकाले संक्रमितलाई परिवार र समाजको साथ चाहिन्छ।’ यो २० दिनको होम आइसोलेसनको बसाइमा आफन्तको साथ र सहयोगको महŒव बुझेको बताउँदै दासले भने, ‘कोही चिनजानका व्यक्ति संक्रमित भएमा हौसला दिन सम्भव भए भेट्ने, अन्यथा फोनबाट भए पनि कुरा गर्नेछु।’
कोरोना संक्रमित रोगले भन्दा सामाजिक तिरस्कारको डरले कमजोर हुने गरेकाले संक्रमण भएको बेला आफन्त तथा सामाजिक हौसला आवश्यक पर्ने उनको भनाइ छ।
संक्रमणमुक्त भएपछि उनी कोभिड–१९ बाट प्रभावित गरिब, असहायका लागि अभियान सञ्चालन गर्ने तयारीमा छन्। ‘हुनेले आर्थिक, भौतिक सहयोग गर्ने र नहुनेले राहत लिने अभियान सञ्चालन गरेर कोरोना प्रभावित असहायको जीवन बचाउने योजनामा छु’, उनी भन्छन्।
कृषि उद्यम केन्द्रमा कार्यरत राजविराज–५ निवासी दासले सन् २००२ मा नेपाली अन्डर–१५ तथा सन् २००४ मा अन्डर–१७ नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए। उनी श्रीलंकामा सन् २००२ मा भएको एसियन ड्रिम टिममा समेत सहभागी भए। सप्तरीमा क्रिकेट खेलको विकासमा योगदान र सामाजिक कार्यमा भूमिका निर्वाह गरिरहेका दास अहिले पनि खेलकुद सामग्रीको व्यवसाय गरिरहेका छन्।