५ महिनापछि : पहिलो उडान नारिता

५ महिनापछि : पहिलो उडान नारिता

काठमाडौं : कोरोनाका कारण उडान बन्द भएको करिब ५ महिनापछि नेपाल एयरलाइन्सले जापानको नारिता उडान र मलेसियाको क्वालालाम्पुरबाट मालिन्दो एयरले काठमाडौं उडान भर्ने भएका छन्।

भदौ १६ गतेबाट पुनः सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिकामा भदौ १७ गते अर्थात् सेप्टेम्बर २ तारिकमा दुवै एयरलाइन्सले काठमाडौं अवतरण गर्दै छन्। नियमित उडानसँगै चार्टर्ड उडानलाई निरन्तरता दिने सरकारको तयारी छ।

सरकारले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा, कतारको दोहा र दुबईबाट नेपालमा दैनिक उडान हुनेछन्। यी बाहेक नेपाली वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि जापानको नारिता, चीनको चंगगुइङ, मलेसियाको क्वालालाम्पुर, युनाइटेड अरब इमिरेट्को आबुधाबी र दुबई र हङकङमा उडान भर्ने तालिका सार्वजनिक भएको छ।

दिनको ५ सयभन्दा बढी यात्रु ल्याउन नपाउने सरकारको नियमानुसार हरेक दिन बढीमा २ वटा उडान राखिएको पर्यटन मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए। भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि नेपाली नागरिक, विदेशी दातृ संस्थामा कार्यरत र कूटनीतिक नियोगका प्रतिनिधिबाहेक अन्य विदेशी पर्यटक नेपाल आउन नपाउने भनिएको छ।

उडान तालिकामा हप्ताको एउटा कतारको दोहा उडान पनि समावेश गरिएको छ। सरकारले कतार, साउदी अरब र कुवेतमा अहिलेलाई तालिका उडान नगर्ने भनेको भए पनि कतार उडान पनि सूचीमा समावेश गरेको छ। कतारको हवाई सञ्जाल विश्वभरका मुलुकमा भएकाले कतार उडान आवश्यकतामा परेको आचार्यले बताए। साउदी अरब र कुवेतमा भने चार्टर्ड उडान मात्र हुने जानकारी दिइएको छ।

सरकारले अन्तर्राष्ट्रिय उडान खुलाउने तयारी गरेलगत्तै नेपाली एयरलाइन्ससहित १३ विमान कम्पनीले नेपाल उडानका लागि अनुमति दिएकोमा नेपालीको बढी चहलपहल हुनेमध्ये एसियाली मुलुक, साउदी अरब, खाडी मुलुक र मलेसिया उडानलाई प्राथमिकतामा राखिएको पर्यटन मन्त्रालयले बताएको छ। यस्तै छिमेकी मुलुक चीनका लागि तालिका उडान खुलाइएको छ भने भारतमा तालिका उडान राखिएको छैन। भारतले नेपालसँगको हवाई उडान खोली नसकेकाले भारतीय जहाजलाई तालिका उडानको सूचीमा तत्कालका लागि समावेश नगरिएको बताइएको छ। भारतले चासो दिने हो भने त्यहाँ पनि नियमित उडान गर्न सकिन्छ भन्दै आचार्यले चार्टर्ड उडान भने भइरहेको बताए।

सरकारले तत्कालका लागि सेप्टेम्बर २ बाट १ महिनाका लागि उडान तालिका सार्वजनिक गरेको छ। आवश्यक परेको खण्डमा यसलाई परिमार्जन गर्न सकिने बताइएको छ।

नेपाल आउँदा अपानाउनुपर्ने नियम

नेपाल उडान भर्ने वायुसेवा कम्पनीले उडान हुने ७२ घण्टाअघिको कोरोना जाँच रिपोर्ट (पीसीआर) नेगेटिभ आएका यात्रुलाई मात्र एउटा उडानमा राख्नुपर्ने भनिएको छ। यदि कारोना जाँच नेगेटिभ र पोजेटिभ आएका यात्रुलाई मिसाएर ल्याएमा सबैको होटल क्वारेन्टिनको खर्च सम्बन्धित विमान कम्पनीले व्यहोर्ने मात्र नभई पर्यटन मन्त्रालयले सम्बन्धित विमान कम्पनीलाई कारबाही गर्ने भनिएको छ। (सीसीएमसीको फारम भरिएको हुनुपर्ने पनि उल्लेख गरिएको छ। नेपाल आउन पाउने विदेशीको हकमा भने परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट जाँचलाई पनि अनिवार्य भनिएको छ। कोरानो पोजेटिभ भएर पनि नेपाल आएकाहरू भने ७ दिन क्वारेन्टिनमा बस्नै पर्ने र पुनः कारोना जाँच गरी कोरोना नेगेटिभ भएपछि मात्रै घर जान पाउनेछन्। होटल क्वारेन्टिनका लागि ७ रात ८ दिनको खर्च ११ हजार रुपैयाँ र कोरोना जाँचको खर्च यात्रु स्वयंले व्यहोनुपर्नेछ।

नेपालीको हकमा काठमाडौं विमानस्थल ओर्लिएपछि कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसी) अन्तर्गतको नेपाली सेनाले होल्डिङ सेन्टरमा राखी पीसीआर जाँच तथा सामान्य जानकारी लिनेछ। उक्त जानकारीअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विवरण उपलब्ध गराएर १४ दिन होम क्वारेन्टिनको निगरानी लगायत आवश्यक कामको जिम्मा दिने भनिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजनमा रहेको एलसीसीएमसीले उक्त निगरानीको काम गर्ने निर्धारण गरिएको छ।

घरसम्म पुग्ने कसरी ?

नेपाल आएका यात्रु आफ्नो गन्तव्यस्थलसम्म कसरी पुग्ने भन्ने अर्को दुविधा छ। यसका लागि सीसीएमसीले साधन व्यवस्थापन गर्न सक्छ भने यात्रु आफैले पनि साधन मिलाएर घर जान सक्छन्। आफैले साधन मिलाउँदा हवाई टिकट, बोर्डिङ पास र पीसीआर नेगेटिभको रिपोर्ट भएपछि कही रोकतोक नहुने पर्यटन सहसचिव आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.