पलायन हुँदै पार्टी प्यालेस व्यवसायी
काठमाडौं : पार्टी प्यालेस तथा क्याटरिङले सहरी क्षेत्रको जनजीवनलाई सहज बनाएको छ। विवाह, व्रतबन्ध, संघसंस्थाका कार्यक्रमका लागि पार्टी प्यालेस र क्याटरिङले उपयुक्त स्थानका साथै खानपिनको प्रबन्ध मिलाउने गर्छन्। तर, त्यही व्यवसाय कोभिड १९ का कारण ठप्प बन्यो।
सामूहिक कार्यक्रम आयोजना गरिने भएकाले भीडभाड हुने व्यवसायमध्ये पार्टी प्यालेस पनि पर्छ। सरकारले २५ जनाभन्दा धेरैको जमघट गर्न निषेध गरेकाले पछिल्लो समय पार्टी प्यालेस सुनसान छ।
लकडाउन हटेको समयमा अरु व्यवसाय सञ्चालन भए पनि पार्टी प्यालेस बन्द कै अवस्थामा थियो। लकडाउनका कारण करोडौंको लगानीमा खुलेका पार्टी प्यालेस व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भक्तपुर लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसका सञ्चालक नवराज चौलागाई बताउँछन्। ‘लकडाउन सुरु भएदेखि पार्टी प्यालेसको गतिविधि ठप्प छ।
गतिविधि शून्य हुँदा घर भाडा, कामदारको तलब र बैंकको कर्जा तिर्न समस्या छ। हालसम्म व्यक्तिगत खर्च कटौती गरेर खर्च धान्दै आएका छौं’, चौलागाई भन्छन्। मंसिरसम्म अहिलेको अवस्था रहेमा पार्टी प्यालेस व्यवसाय पूर्णरूपमा धराशयी हुने चौलागाईको भनाइ छ।
घर तथा पार्किङ भाडा र कर्मचारीको तलब गरी मासिक दुई लाख रुपैयाँसम्मको खर्च छ। तर, पार्टी प्यालेसमा आयोजना हुने गतिविधि बन्द हुँदा ब्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ। दिव्यश्वरी पार्टी प्यालेसले नियमित ३ कर्मचारी र गतिविधिअनुसार २० देखि ३० जनालाई रोजगारी प्रदान गर्दै आइरहेको थियो।
पुनर्कर्जाबाट १० लाख रुपैयाँ प्राप्त भए पनि यो रकम घर भाडा र कर्मचारीको तलबमै खर्च भइरहेको छ। सरकारले विकल्प नदिएमा करोडौंको लगानीबाट सुरु गरिएको व्यवसायबाट पलायन हुनुपर्ने आवस्था आउनेमा चौलागाई चिन्तित देखिन्छन्।
पार्टी प्यालेसमा गतिविधि हुने समयमा कारोना महामारीका कारण व्यवसाय ठप्प हुँदा व्यवसायीलाई ठूलो आर्थिक क्षति पूगेको काठमाडौं कपनस्थित वेलकम पार्टी प्यालेसका सञ्चालक राधाकृष्ण पूणासैनी बताउँछन्। पार्टी प्यालेज सिजनल व्यवसाय भएकाले पनि व्यवसायी मर्कामा परेको उनले बताए। तीन, चार महिनाको कमाईले वर्षभरिको खर्च धान्नु पर्ने हुन्छ।
लकडाउन खुलेको समयमा अरु व्यसाय खुले पनि पार्टी प्यालेस खुल्न पाएन। करोडौंको लगानी रहेको व्यवसायलाई संरक्षण गर्न सरकार चुकेको उनको भनाइ छ। व्यवसाय टिकाइ राख्न पनि आर्थिक रूपमा सम्भव नदेखिने उनको भनाइ छ।
लकडाउनका कारण सञ्चालन खर्च न्यूनीकरण गर्न कर्मचारी कटौती गर्नु परेको दियालो पार्टी प्यालेस तथा फुडल्याडका सञ्चालक खुमराज खरेल बताउँछन्। ४० जना कर्मचारीलाई रोजगारी दिएको फुडल्याडले लकडाउन सुरु भएदेखि १० जना कर्मचारीबाट मात्र काम लिइरहेको छ।
अवस्था सामान्य हुने आशमा जेठसम्म सम्पूर्ण कर्मचारीलाई तलब दिए पनि अहिले बाँकी कर्मचारीलाई बेतलबी छुटी दिनुपरेको खरेलले बताए। ‘हामीले पार्टी प्यालेससँगै रेस्टुरेन्ट व्यवसाय पनि गरेका छौं। लकडाउन सुरु भएदेखि पार्टी प्यालेस बन्द छ। केही समय रेस्टुरेन्ट खुलेकाले १० जना कर्मचारीबाट काम लिन सकेका थियौं’, खरेलले भने, ‘अहिले पुन निषेधाज्ञा आदेश जारी भएकाले रेस्टुरेन्टका कर्मचारीलाई पनि तलब खुवाउन समस्या छ।’ अहिलेको अवस्था सुधार नआए पार्टी प्यालेस ब्यावसायबाटै पलायन हुनुपर्ने अवस्था आउनेप्रति उनी चिन्तित देखिन्छन्।
कोभिड-१९ का कारण सबैभन्दा धेरै मर्कामा परेको व्यवसाय पार्टी प्यालेस भएको भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङका अध्यक्ष सचिन श्रेष्ठ बताउँछन्। ‘लकडाउन खुकुलो भएको समयमा अरु व्यवसाय खुले। तर पार्टी प्यालेस खोल्न सरकार तयार देखिएन। ठूलो लगानी भएकाले सञ्चालन खर्च पनि धेरै छ। आम्दानी नहुँदा खर्च मात्रै बढेको छ। कर्मचारीको तलब, घर भाडा र बैंकको किस्ता तिर्न नसकेर धेरै पार्टी प्यालेस बन्द हुने खतरामा छन्।
अर्थविद् डा. रमेश पौडेलका अनुसार कोभिड-१९ को प्रभावबाट व्यवसायलाई संरक्षण गर्न सरकार चुकेको छ। व्यवसाय सञ्चालन गर्ने कार्य मोडालिटी सरकारले निर्माण गर्नुपर्छ। कोरोनाको उच्च जोखिम भएका उमेर समूहलाई वर्गीकरण गरेर आयआर्जन गर्न सक्नेलाई सुरक्षा उपाय अवलम्बन गरेर आर्थिक गतिविधि गर्न दिनुपर्छ।
सामाजिक विकाससँगै सहर बजारमा पार्टी प्यालेस व्यवसाय फस्टाएको हो। ४, ६ अनामा निर्माण भएका घरमा विवाह, व्रतबन्धलगायत गतिविधि गर्न सम्भव छैन। पार्टी प्यालेसले सामाजिक तथा साँस्कृतिक गतिविधिको जर्गेना गरेको छ।
रोजगारीका साथै आर्थिक क्रियाकलाप पनि वृद्धि भएको छ। सरकारले निश्चित नियम बनाएर पार्टी प्यालेसलाई अनुगमन गर्नुपर्छ। हजारौंका संख्यामा सेवा दिन सक्ने क्षमताका पार्टी प्यालेस सञ्चालनमा छन्। क्षमताभन्दा केही संख्या घटाएर सामाजिक र आवश्यक स्वास्थ्य उपकरण प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न सकिन्छ। यस्तो गर्न सकिए पार्टी प्यालेस अहिलेका भन्दा धेरै व्यवस्थित र स्वस्थ हुने उनको भनाइ छ।
लगानी सुरक्षा गर्ने चिन्ता
कृष्णप्रसाद पाण्डे, प्रवक्ता, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ
पार्टी प्यालेस र क्याटरिङ सेवा सिजनल व्यवसाय भएकाले पनि यो क्षेत्रका व्यवसायी मर्कामा परेका हुन्। यो वर्ष कमाइ हुने समयमै कोभिड १९ ले प्रत्यक्ष असर गर्यो। संघसंस्थाका कार्यक्रम, विवाह व्रतबन्ध, तीजलगायत कार्यक्रम पनि हुने समय यही थियो।
कमाउने समयमा व्यवसाय ठप्प हुँदा सञ्चालन खर्च जोहो गर्न पनि मुश्किल छ। मुलुकभर ७ हजारभन्दा धेरै पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालनमा छन्। एउटा पार्टी प्यालेसमा दुई देखि १२ करोड रुपैयाँ र क्याटरिङमा २० लाखदेखि एक करोड रुपैयाँसम्मको लगानी गरिएका छन्।
५० हजारभन्दा धेरै श्रमिक यो क्षेत्रमा जोडिएका छन्। यो क्षेत्रमा ज्यालादारीमा काम गर्ने पनि धेरै छन्। लगानीको सुरक्षा कसरी गर्ने भन्ने चिन्त छ। विदेशबाट कामदार स्वेश फर्किएका छन्। स्वदेशमै सञ्चालन भएको व्यवसाय बन्द हुँदा श्रमिक व्यवस्थापन गर्न कठिन हुन्छ।