कोरोनाको 'हट स्पट' बन्दै नवलपरासीको पाल्हीनन्दन
परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कोरोना संक्रमणको 'हट स्पट' बन्दै गएको छ । हाल जिल्लाभर ९९ जना कोरोना संक्रमित छन् । अधिकांश होम आइसोलेसनमा छन् । केही मात्र संस्थागतमा छन् । संक्रमितमध्ये पाल्हीनन्दनमा मा ४४ जना छन् । हप्ता दिनको अवधिमा उक्त संक्रमित फेला परेका हुन् । गाउँपालिका भारतको सीमानासँग जोडिएको छ ।
गाउँपालिकाका अध्यक्षसहित अन्य जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ । गाउँपालिकाको वडा नं. ३ मा मात्र २५ जना संक्रमित छन् । सबैजना होम आइसोलेसनमै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौंडले जानकारी दिए ।
गाउँपालिकाले ८ बेडको आइसोलेन बनाएको छ । आवश्यक परे थप गरिने उनले बताए । संक्रमितहरु घरमै बस्ने जनाएकाले अहिले संस्थागत आइसोलेसनमा कोही पनि नरहेको गौंडको भनाइ छ । गाउँपालिकाबाट स्वाब संकलन गरेका ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक रत्नालाल शर्माले जानकारी दिए ।
त्यसैगरी प्रतापपुरमा १५, सरावलमा ६ र सुस्ता गाउँपालिकामा १ जना संक्रमित छन् । रामग्राम नगरपालिकामा १२ र बर्दघाटमा ११ जना संक्रमित छन् । सुनवलका १० जना सबै संस्थागत आइसोलेसनमा रहेपनि अन्यपालिकाका अधिकांश संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म २ सय ३९ जना संक्रमित भएका छन् । १ जनाको मृत्यु भएको छ । जिल्लाभर २ सय २७ जनाको रिपोर्ट आउन बाँकी छ ।