बैतडीमा भदौ २१ सम्म निषेधाज्ञा
बैतडी : बैतडीमा कोरोना भाइरस जोखिम बढेको भन्दै यही भदौ २१ गते सम्म निषेधाज्ञा थपिएको छ । भदौ ८ देखि जारी गरेको निषेधाज्ञा आइतबार राती १२ बजे सकिदैछ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजीम निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ । विभिन्न मेला, चाडपर्वहरु सुरु भएकाले भीडभाड हुन सक्ने भन्दै भदौ २१ गते सम्म निषेधाज्ञा लागू भएको हो।
कडाइपूर्वक लागू गर्ने निर्णयसहित निषेधाज्ञाको अवधि थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उनले भने, 'अहिले हाम्रो जिल्लामा पनि कोभिडका बिरामीहरु दिनानुदिन बढ्दै गइरहेका छन् । यो सन्दर्भमा जारी गरिएको निषेधाज्ञा कडाइका साथ लागू गर्ने निर्णय भएको छ । यसमा सबैको सहयोग आवश्यक छ । सबैको स्वास्थ्यलाई ध्यानमा राखेर यो निर्णय भएको हो भन्ने कुरा बुझिदिन म आग्रह गर्दछु ।'
निषेधाज्ञा जारी भएको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द रहने जनाइएको छ । यस्तै अत्यावश्यक काम बाहेक कसैले घर बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ ।
यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै सरकारी कार्यालयहरुमा पनि न्यूनतम कर्मचारीको उपस्थितीमा सार्वजनिक सेवा प्रवाह गर्ने, अत्यावश्यक भनि तोकिएका बाहेक अन्य सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै निषेधज्ञा जारी गरिएको अवधिमा सबै प्रकारका मेला, जात्रा, सभा, जुलुस, खेलकुद लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । परम्परागत रुपमा नित्यपूजा बाहेक भीडभाड हुने किसिमले मनाइने चाडपर्वमा रोक लगाइएको आदेशमा उल्लेख छ ।
यस्तै निषेधाज्ञा जारी गरिएको अवस्थामा होटेल तथा रेष्टुराहरु सञ्चालन गर्न नदिइने पनि आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानुन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताए ।