सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ
धनगढी : कैलालीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ हुन् ।
बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए । चारैजनालाई उनीहरुकै घरबाट पक्राउ गरिएको न्यौपानेले बताए ।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवतीमाथि गत बिहीबार राती सामूहिक बलात्कार भएको थियो । राती पल्लो घरमा रहेका बुवासँग मोबाइल माग्न जाने क्रममा उनी चारजनाद्धारा बलत्कृत भएकी बताइएको छ ।
'मलाई अपहरण गरेर नजिकैको खेतमा लगेर त्यो समूहले बलात्कार गरेको हो,' उनले प्रहरीलाई भनेकी छन् । ती किशोरीको अवस्थाबारे उनका साथीहरुले खोजी नीति गर्ने क्रममा शुक्रबार साँझ मात्रै आफू बलात्कृत भएको बताएकी थिइन्।
युवतीकी आमा कामको सिलसिलामा भारतमा रहेको र उनी हजुरबुवा, हजुरआमा र बु्वासँगै बस्दै आएकी छन् । घटनामा संलग्न भनिएकालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । पीडित भनिएकी युवतीको स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।