भक्तपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण आइतबार थप एक जनाको मृत्यु भएको छ। पाल्पा जिल्ला घर भई हाल मध्यपुर थिमि नगरपालिका १ लोकन्थली बस्ने ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै भक्तपुरका कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।
मध्यपुर थिमि नपा १ का वडा अध्यक्ष सुरज खड्काका अनुसार लोकन्थलीस्थित समिट अस्पतालबाट थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो। उपचारको लागि उनलाई शुक्रबार समिट अस्पताल लगिएको थियो। मृतकको शव सदगद गर्न नेपाली सेनाको टोलीले काठमाडौंको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा लगेको वडा अध्यक्ष खड्काले जानकारी दिए।
यससँगै मध्यपुर थिमिमा मात्रै कोरोना भाइरस संक्रमणका कारण दुई महिला र एक पुरुषको मृत्यु भएको छ। यसअघि मध्यपुर थिमि नपा ३ गट्ठाघर निवासी ६४ वर्षीया महिलाको मृत्यु भएको थियो। नागरिक अस्पतालका उपचारको लागि लगिएकी उनको मृत्युपछिको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यस्तै शनिबार राति मध्यपुर थिमि नपा ७ नगदेशका ६२ वर्षीया महिलाको उपचारकै क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। भक्तपुरमा शनिबार रातीमात्रै घरमै बसी उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको थियो।
भक्तपुर नगरपालिका १ दूधपाटी निवासी ६५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनी घरपरिवारको सल्लाहमा होम आइसोलेसनमा रहेका थिए।
यसअघि भक्तपुर नपा ३ मंगलाछेंका ८२ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
कोरोना भाइरस संक्रमणकै कारण सूर्यविनायक नपाका दुई महिला र एक पुरुष गरी ३ जनाको मृत्यु भइसकेको छ। सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। सूर्यविनायक नपा ८ का ७३ वर्षीय संक्रमित पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।
आइतबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ८९ पुगेको छ। आइतबारमात्रै भक्तपुरमा ४५ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।