रुपन्देहीमा भदौ २० गतेसम्म निषेधाज्ञा थपियो
भैरहवा : रुपन्देही जिल्लामा निषेधाज्ञा अवधि एक हप्ता थप गरिएको छ ।
यस अघि जिल्ला प्रशासान कार्यालय रुपन्देहीले मन्त्रिपरिषद्को निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम भदौ ७ गते राती १२ बजे देखि भदौ १४ गते राति १२ बजेसम्म अत्यावश्यक सेवालाई निरन्तरता दिँदै निषेधाज्ञा आदेश गरेको थियो ।
जिल्लामा संक्रमण तिव्र गतिमा बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) को सिफारिस र जिल्ला सुरक्षा समिती रुपन्देहीको निर्णय अनुसार भदौ २० गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै निषेधाज्ञा आदेशलाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिए ।
प्रशासनले बैंक तथा वित्तीय संस्थाले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने, अति आवश्यक काममा नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुने, अति आवश्यक बाहेकका सवारी साधन संचालन गर्न नपाइने, खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दूध तथा डेरीजन्य पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका साढे ४ बजेदेखि साढे ६ बजेसम्म संचालन गर्न सकिने जनाएको छ ।
त्यस्तै प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कनमा निषेध गरिएको छ ।