कारागारमा कोरोना त्रास : १६६ जनामा संक्रमण
काठमाडौं : स्थान अभावका कारण चाहेर पनि सामाजिक दूरी कायम गर्न नसकिने कारागारमा कोरोना संक्रमणको त्रास फैलिएको छ।
आइतबार मात्रै सुन्धारास्थित केन्द्रीय कारागारमा ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ। कैदीबन्दीमा गरिएको कोरोना परीक्षणमा ३१ जनामा पोजिटिभ देखिएको कारागार व्यवस्थापन विभागका प्रवक्ता देवर्सी सापकोटाले जानकारी दिए।
विभागले शंका लागेका देशभरका आठ सय ७९ जना (कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी) को पीसीआर परीक्षण गरेको थियो। जसमध्ये पाँच सय ९४ कैदीबन्दी, दुई सय सात सुरक्षाकर्मी र ७८ जना कर्मचारी थिए।
पीसीआर परीक्षण गरिएका मध्ये १६६ जनामा कोरोना पोजिटिभ देखिएको थियो। त्यस मध्ये ७२ जना उपचारपछि सक्रमण मुक्त भएका छन् भने बाँकी उपचाररतमा छन्।
प्रवक्ता सापकोटाका अनुसार पर्सा कारागारमा हालसम्म ३३ जनामा कोरोना पोजिटिभ देखिएको थियो। त्यसमध्ये अहिले चारजना मात्रै उपचाररत छन्। बाँकी संक्रमण मुक्त भइसकेका छन्।
बाँके कारागारमा आठ जनामा संक्रमण देखिए पनि उनीहरु उपचार पछि निको भएका छन्। विभागका अनुसार सिरहा कारागारका सात जना कैदीबन्दीमा कोरोना पोजिटिभ देखिएको थियो। उनीहरु सबै उपचारपछि निको भइसकेको विभागले जनाएको छ।
जिल्ला कारागार सुनसरीको झुम्का कारागारका आठजना कैदीबन्दीमा पोजिटिभ देखिएपछि उनीहरुको उपचार भएकोमा चार जना संक्रमण मुक्त भएका छन्।
स्याङ्जा कारागारका एक कैदीमा संक्रमण पुष्टि भएको थियो। उनी अहिले संक्रमण मुक्त भएका छन्। सिन्धुपाल्चोक कारागारका दुई जनामा संक्रमण देखिए पनि उनीहरु निको भइसकेका छन्। देशभरका कारागारमा अहिले २४ हजार एक सय ६३ जना कैदीबन्दी छन्।