आन्तरिक उडानमा अन्योल

आन्तरिक उडानमा अन्योल

काठमाडौं : विमान कम्पनीले यही भदौ १६ देखि आन्तरिक उडान सुरु गर्ने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय नियमित उडानसँगै आन्तरिक उडान पनि सुरु हुने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्। यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान सुरु गर्ने भनेकामा कोरोना संक्रमण फैलिने क्रम बढेसँगै सबै उडान स्थगित गरेको थियो।

सरकारले केही समयका लागि उडान स्थगित गर्ने भनेको र १६ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तय गरेका कारण सोही समयबाट नै आन्तरिक नियमति उडान पनि सुरु हुने प्रवक्ता शर्माले बताए। उनले भने, ‘भदौ १ गते उडान सुरु गर्नु भन्ने आधिकारिक पत्र आइसकेको छ। कोरोनाका कारण १५ दिनलाई स्थगित गर्नु मात्र भनेको हो। उडान रद्ध भन्ने सरकारको आशय होइन। त्यहीकारण त्यही पत्रका आधारमा नै १६ गतेबाट आन्तरिक उडान सुरु हुन्छ।’

स्वास्थ तथा सुरक्षासम्बन्धी सरकारले तोकेको मापदण्ड पालना गरेर आन्तरिक उडान सुरु गरिनेछ। तर आन्तरिक उडानमा यात्रुको कोरोना जाँचसम्बन्धी पीसीआर टेस्ट नगरिने प्रवक्ताको भनाइ छ। चालक दलका सदस्यको हकमा भने उडान पूर्व ७२ घण्टाको बीचमा २ पटक कोरोना जाँच गरिनेछ। चालक दलका सदस्यलाई कोरोना भएमा भने आइसोलेसनमा पठाइनेछ।

करिब ६ महिनादेखि बन्द भएका आन्तरिक उडान खुलाउन विमान कम्पनीले नाटकीय उडान तयारीमा पनि गर्दै आइरहेकोमा अब वास्तविक यात्रु लिएर उड्ने गरी तयारी भइसकेको छ। कोरोना बढी प्रभावित तराईका जिल्लामा उडान नगरे पनि पोखरालगायत पहाडी र हिमाली जिल्लामा नियमित उडान भर्न समस्या नभएको शर्मा बताउँछन्। १६ गतेबाट उड्ने मान्यता भए पनि अहिलेसम्म सरकारले औपचारिक पत्र भने नपठाएका उनले जानकारी दिए। सरकार आफैं दोधारमा रहेकाले पनि उडानसम्बन्धी स्पष्ट जानकारी आउन नसकेकोले सबै नै अन्योलमा रहेको शर्मा बताउँछन्। वायुसेवा सञ्चालक संघले यस अघि सार्वजनिक गरेको तथ्यांकले सन् २०२० मा करिब १० अर्ब रुपैयाँ नोक्सानी व्यहोर्ने तथ्यांक सार्वजनिक गरेको थियो। सेप्टेम्बरबाट नियमित उडान सुरु भएको खण्डमा करिब २ अर्ब नोक्सानी कम हुने अनुमान संघको छ। उक्त संघमा नेपाली ध्वाजाबाहक नेपाल एयरलाइन्स भने आबद्ध छैन।

आन्तरिक उडान खुलाउने सम्बन्धमा सरकारको धारणा भने फरक छ। भदौ १६ गतेबाट अन्तर्राष्ट्रियतर्फको नियमित उडान मात्रै खुल्ने हो। आन्तरिक उडान सुरु गराउन सरकारले कुनै निर्णय गरिनसकेको बताइएको छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान भदौ १६ गतेबाट नै खुलाउने सम्बन्धमा केही पनि तयारी नभएको बताएको छ। केही छोटा दूरीमा खोल्ने कि भन्ने तयारी मात्रै भएको तर खोल्ने सम्बन्धमा निर्णय नभएको प्राधिकरणका महानिर्देशक राजन पाखरेलले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णय नहुँदासम्म त्यो आधिकारिक नहुने पोखरेलको भनाइ छ। ‘पोस्टपोन्ड गरिएको र अहिले तालिका उडान गर्ने भनेर भनिएको छैन। विमान कम्पनीलाई तालिका पेश गर्नु भनिएको छैन। मन्त्रिपरिषद्ले बाह्य उडान मात्र खोल्ने भनेको हो,’प्राधिकरण महानिर्देशकले भने। तत्काल खोल्ने तयारी नभएको भए पनि दसैं अघिसम्म सुरु गराउने सरकारको प्रयास रहने पोखरेलले स्पष्ट पारे।

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि आन्तरिक उडान तत्काल नखुल्ने प्रष्ट्याएको छ। मन्त्रिपरिषद्को निर्णबाट नै उडान रोकिएको हुँदा मन्त्रिपरिषद्ले उडान खुलाउने सम्बन्धमा निर्णय गर्नुपर्ने सहसचिव सुरेश आचार्यले बताए। सार्वजनिक हवाई यातायात भएकाले आफूखुसी निर्णय अधिकार नभएको भन्दै सरकारको निर्देशन कुर्नुको विकल्प नभएको आचार्यले बताए। नियमित उडान करिब ६ महिनादेखि बन्द हुँदा आन्तरिक विमान कम्पनी समस्या परेको यथार्थ सरकारले बुझेको भए पनि परिस्थितिको मूल्यांकन गरेर मात्रै उडान खुलाइने आचार्यको भनाइ छ। कोरोनाको संक्रमण तीव्र भएकाले पनि स्वास्थ्य सुरक्षालाई प्राथमितामा राखेर केही समयपछि मात्रै आन्तरिक उडान खुलाइने आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.