कस्तो युवा, कसको नेतृत्व ?

कस्तो युवा, कसको नेतृत्व ?

नेपाली कांग्रेसका प्रवक्ता एवं प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने क्रममा कमिजभित्रबाट आफूले धारण गरेको जनै निकालेर देखाए। जनै धारण गर्नु उनको व्यक्तिगत (वर्णवादी) स्वतन्त्रता छँदै छ, तथापि त्यसरी प्रदर्शन नै गर्दा उनको वर्ण (ब्राह्मण) वादी उच्चताको स्पष्ट परिचय दिन चाहेको कम्तीमा पंक्तिकारलाई लाग्यो। आशा लाग्दा र उज्ज्वल भविष्य भएको भनिएका यस्ता युवा नेताको त्यस्तो हर्कतले अन्य समुदायमा प्रत्यक्ष÷परोक्ष निराशा र घृणा जगाउन ठूलो भूमिका खेल्छ।

नेपाली कांग्रेसको चौधैौं महाधिवेशन निकट आएसँगै कांग्रेसभित्र युवा नेतृत्वको बहस एकपटक फेरि सतहमै छताछुल्ल भएको छ। कांग्रेसभित्र मात्रै होइन, बेलाबखत राजनीतिक दलहरू र सरकारकै नेतृत्वसमेत युवाले हाँक्नुपर्ने धारणा व्यक्त भइरहन्छन्। जस्तो कि मानौं आजसम्मका सम्पूर्ण असफलताको जिम्मेवार निसंकोच प्रौढ नेतृत्व हो। यस्तो बुझाइमा पूर्ण सत्यता रहेको मान्न नसकिए पनि त्यस्तो मान्यता सत्यको निकट भने अवश्य छ नै। यद्यपि प्रश्न उठ्छ- निरपेक्ष युवा नेतृत्व के एक मात्रै र अकाट्य निकास या विकल्प हो ? अथवा कस्तो युवा ? युवा सोचको कि उमेरको ? युवा समुदाय, जात, लिंग, भाषा या क्षेत्रसँग सापेक्ष रहने कि निरपेक्ष ? जात—जाति, क्षेत्र, समुदाय र लिंग आदिका युवा आवश्यक हो कि फगत निरपेक्ष युवाको बहस हो ? के यस्तो युवा नेतृत्व राष्ट्र निर्माणको सही विकल्प हुन सक्छ ? यो लेख र आजको युवा नेतृत्वसम्बन्धी बहसको चुरो प्रश्न पनि यिनै हुन्।

 निरपेक्ष युवा नेतृत्व, विकल्प हुनै सक्दैन

२०१० साल कात्तिक १० गते नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले सिंहध्वज खड्काको अध्यक्षतामा अर्धसैनिक दस्ताका रूपमा कांग्रेसी युवाहरूको संगठन तरुण दलको घोषणा गरे। ज्ञातव्य रहोस्, जहानियाँ राणाशासनविरुद्ध लड्न २००७ सालताका कांग्रेसले करिब आठ हजारको संख्यामा ‘जनमुक्ति सेना’ निर्माण गरेको थियो। अझै पनि त्यसलाई बीपीका जनमुक्ति सेना भन्ने गरिन्छ। पछि ००७ को क्रान्ति सम्पन्न भएपछि त्यो सेना भंग गरिएको थियो। जे होस्, सात सालदेखिको प्रजातान्त्रिक, लोक्तान्त्रिक र प्रगतिशील विभिन्न क्रान्तिमा युवाको भूमिका र जिम्मेवारी महत्र्वपूर्ण रह्यो। रोचक प्रसंगसमेत के छ भने, संयोगवश प्रधानमन्त्री बीपी कोइराला चर्चित २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहद्वारा गिरफ्तार गरिँदा बीपी तरुण दलकै महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गरिरहेका थिए। स्मरणीय छ- महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपीलगायत कांग्रेसका नेताहरूलाई पक्रेर जेल कोच्दै पञ्चायती व्यवस्था घोषणा गरी सत्ता आफ्नो हातमा लिएका थिए।

रुढिग्रस्त मनस्थिति भएको व्यक्ति उमेरले युवा हुनु र वृद्धा हुनुको कुनै अर्थ रहँदैन। त्यसैले कस्तो युवा र कसको नेतृत्व चाहेका हौं हामीले, पहिले त्यसको निक्र्योल गर्न जरुरी छ।

२०२७ सालमा कांग्रेसले नेपाल विद्यार्थी संघ (नेवि संघ) को स्थापना गरी युवा—विद्यार्थीको भूमिकालाई महत्र्व र जिम्मेवारी दियो। युवाको भूमिका र योगदान महत्र्वपूर्ण रहँदै आएको भए पनि दल या राज्यकै नेतृत्व युवाले गर्न पाउनुपर्ने माग भने अद्यापि निरन्तर जारी छ। युवा केवल निरपेक्ष हुन सक्दैन। युवा कुन समुदायको हो ? कुन जात, धर्म, लिंग र क्षेत्रको हो ? यो प्रश्न त्यत्तिकै महत्र्वपूर्ण छन्। किनभने ६०÷७० वर्ष उमेरका वृद्ध नेताको ठाउँमा उही जाति, उही लिंग, उही धर्म, समुदाय र उही क्षेत्रका ३०÷४० वर्ष उमेरका युवा नेतृत्वमा आउँदैमा क्रान्ति भएको मान्न सकिन्छ ? उदाहरणका लागि मानौं कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल आदि नेतृत्वबाट विस्थापित भइ विश्वप्रकाश शर्मा, गगन थापा, गुरु घिमिरे आदि नेतृत्वमा आए भन्दैमा कांग्रेसको कायापलट सम्भव छ ? अवश्य पनि छैन। वृद्ध बाहुन—क्षेत्री नेतालाई विस्थापित गरी सोही समुदायका अर्का युवा नेता स्थापित हुनु कुनै शर्तमा पनि प्रगतिशील कार्य हुनै सक्दैन। त्यो परिवर्तन र समयको माग होइन। फरक जात—जाति, समुदाय, लिंग, क्षेत्र, सम्प्रदायको सामूहिक नेतृत्व प्रणालीको विकास गर्नु एक मात्रै र सच्चा विकल्प हो। निर्णायक तहमा आर्य—खस, दलित, मधेसी, गैर—हिन्दु, महिला आदि समुदायको सामूहिक नेतृत्वको जरुरी छ। त्यहाँ उमेरको मात्रै नभई सोचको प्रगतिशील युवा हुनु त्यत्तिकै आवश्यक छ।

नीति निर्माण तहमा समावेशी युवा

सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व र सत्तासंघर्ष तत्काल केही समयका लागि भए पनि मत्थर हुने दिशातर्फ लम्किएको बुझिन आएको छ। नेकपाभित्रको पर्दामा देखिने गरी तीन गुटका दुईदुईजना सदस्य रहेका विवाद समाधानका लागि सुझाव सिफारिस गर्ने जिम्मेवारी पाएको समितिले भर्खरै दुई अध्यक्षसमक्ष प्रतिवेदन तयार पारी बुझाएको छ। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको उक्त समिति एकल जातीय आर्य—खस मात्रै सम्मिलित थियो। हुन त नेकपा भनेकै पहाडे, बाहुन—क्षेत्री, हिन्दु र भालेहरूको मात्रै पार्टी रहेको पुष्टि भइ नै सकेको छ। भालेहरूको पार्टी भएकाले भालेकै जुधाइ हुनु र समाधान पनि भालेहरूले खोज्नु आश्चर्यको विषय होइन। नेकपाको स्थायी कमिटी, अझ सचिवालयको जातीय, लैगिंक र क्षेत्रीय बनोट हेर्ने हो भने यो पार्टी कसको हो स्पष्ट भइहाल्छ।

त्यसको प्रभाव या असर केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारमा पनि पर्नु अनौठो विषय होइन। संघीय सरकारका प्रमुख मन्त्रीहरू, राष्ट्रपतिदेखि सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रदेश संसद्का सभामुख र मन्त्रीहरूसम्म हेर्दा जातिवादी सत्ताको मुहार प्रस्टै देखिन्छ। यो युगलाई फगत निरपेक्ष युवा नेतृत्वको स्थापना एवं विकासलाई मात्रै लक्ष्य बनाइयो भने त्यो अपूर्ण, मूर्खता र घातकसमेत हुनेछ।

जनयुद्धपछि धारण गरिएका कमरेडहरूका जनै, धनयुद्धमा हड्पिएका कमरेडहरूका अकूत दौलत, पद र पावरको दुरुपयोग तथा हत्या—हिंसासम्म पुगेको घृणित जातिवादको बिगबिगी आदि कारणले हाम्रो देशमा जातीय, क्षेत्रीय, लैगिंक, धार्मिक, भाषिक र सामाजिक समानता साथै समावेशिताको मुद्दा जबर्जस्त ढंगले उठाउनैपर्ने बाध्यताको महसुस गराएको छ। अब यो राजनीतिको केन्द्रीय मुद्दा बनाउनुपर्ने आवश्यकता छ। स्वघोषित सबैभन्दा क्रान्तिकारी भनिने कम्युनिस्टहरू धुरन्धर धार्मिक, पुँजीपति र जातिवादी कित्तामा उभिएका छन्। आकाशमा ढुंगा फाल्ने र त्यो ढुंगा जहाँ झर्छ, त्यही कथित (रामायण कथाका आदर्श पात्र तर भौतिक उपस्थिति प्रमाणित गर्न नसकिने) श्रीरामको जन्मभूमि हो भन्दै कोरोना भाइरसका बिरामीलाई न्यूनतम उपचारको पर्याप्त व्यवस्था गर्ने दायित्वबाट निर्लज्ज ढंगले पन्छिदै राममन्दिर निर्माणमा मनग्गे खर्च गर्ने मनकारी व्यक्तिलाई कम्युनिस्ट आदर्श नेता मानिँदो रहेछ। अझ उनै राष्ट्रनायक कहलिन बेर छैन। कसैले भन्लान्- ओली-दाहालहरू वृद्धा भए, नेकपाका युवा नेताहरू त्यस्ता छैनन्। 

तर पत्याउने आधार खोइ ? नेकपाका आशा गरिएका भनिएका युवा नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल आदि यही मन्त्रिपरिषद्मै मन्त्री छन्। भट्टराई अनियमितता र विवादमा तानिए भने भुसाल किसानलाई मल दिनेलगायत आफ्नो मन्त्रालय सुधार्न छाडेर ‘दमदार’ लेख लेख्नमै व्यस्त छन्। सानदार र उपलब्धिमूलक काम गर्न छाडेर आदर्शवान्, क्रान्तिकारी र दमदार लेख लेख्न तल्लीन कृषिमन्त्री हुँदा पनि आज किसान र राष्ट्रको कृषिको हालत त्यस्तै छ जो हिजो पनि थियो। यही हो त युवा नेताहरूप्रतिको आम जनअपेक्षा ? बोल्न र लेख्न जति सजिलो छ, कामै गर्न सरल नभए पनि असम्भव भने छैन। त्यो गरी देखाउने दायित्व युवा शक्तिमा छ। तथापि उमेरले युवा भए पनि मानसिक्ता पुरातन हुनाको परिणति नै यो असफलताको कारक हो।

यात्रामा बिरालाले बाटो काट्दा अशुभ हुन्छ भनी डर मर्ने क्रान्तिकारी युवा कमरेडप्रति आँखा चिम्लेर भरोसा गर्ने जमात भने जीवितै छ। मंगलबार घर पस्न हुन्न, महिनावारी भएकी श्रीमती, आमा या दिदीबहिनीलाई भान्छा, पूजाकोठामा प्रवेश निषेध गर्नु धर्म हो, सहरमै घर भए पनि कोठा भाडामा लगाउादा जात सोध्न बिर्सनै हुन्न आदि जस्ता विचार राख्ने युवा र यस्ता विचार बोकेर युवा आऊ, देश बचाऊ भन्नेहरूको पछि लागेर के फाइदा ? युवा त सोचमा नवीनता भएको, परिवर्तनलाई हाँक्न र आकलन गर्न सक्ने क्षमतायुक्त हुन आवश्यक छ। रुढिग्रस्त मनस्थिति भएको व्यक्ति उमेरले युवा हुनु र वृद्धा हुनुको कुनै अर्थ रहँदैन। त्यसैले कस्तो युवा र कसको नेतृत्व चाहेका हौं हामीले, पहिले त्यसको निक्र्योल गर्न जरुरी छ। हेक्का रहोस्, युवा उमेरमा भन्दा बेसी सोच, मान्यता र व्यवहारमा खोज्नु उपयुक्त हुनेछ। समावेशी युवा नेतृत्व विकल्पका रूपमा अघि सार्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.