भक्तपुरमा १.६ प्रतिशत कोरोना संक्रमितको मृत्यु
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण हुने मृत्युदर समग्र नेपालकोभन्दा बढी देखिएको छ। आइतबार नेपालभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुग्यो। यही अवधिमा २ सय २१ जनाको मृत्यु भयो। जुन ०.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनायो।
तर आइतबार नै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९१ पुग्यो। आइतबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण ८ जनाको मृत्यु भयो। जुन नेपालभरको दरभन्दा एक प्रतिशत बढी अर्थात १.६ प्रतिशत हो। भक्तपुरमा आइतबार एकैदिन दुईजनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भयो। भक्तपुर नपा १ दूधपाटी निवासी ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भयो। मध्यपुर थिमि नपा १ लोकन्थलीका ७७ वर्षीय वृद्धको लोकन्थलीस्थित समिट अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।
भक्तपुरका चार नपामध्ये मध्यपुर थिमि र सूर्यविनायक नपाका ३–३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो। बाँकी दुईजना भक्तपुर नपाका रहेका छन्। कोरोना भाइरस संक्रमणको कारण मरेकाहरु सबैजसो सँगसँगै उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगी थिए। कोही मुटुरोगी थिए। कोही दमका बिमारी। कसैलाई कोरोना भाइरस संक्रमण हुनुअघि नै क्यान्सर रोग थियो।
आइतबारको तथ्यांक हेर्दा विश्वमा कोरोना भाइरस संक्रमतिमध्ये ३.४ प्रतिशतले मृत्युवरण गरे। तर अझै धेरैले कोरोना भाइरस संक्रमणको मृत्युदर सा¥है कम रहेको भ्रम पालिरहेका छन्। कोरोना भाइरस संक्रमणको कारण हुने मृत्युदर विश्वमा भन्दा नेपालमा कम रहे पनि निको हुने दर भने नेपालमा कम रहेको छ। विश्वमा आइतबारसम्म ६९.६ प्रतिशतले कोरोनालाई जिते तर नेपालमा ५४ प्रतिशतले मात्रै।
नेपालमा भन्दा भक्तपुरमा अझै कोरोना भाइरस संक्रमणको निको हुने दर साह्रै न्यून रहेको छ। आइतबारसम्म भक्तपुरका १५.६८ प्रतिशत संक्रमतिले मात्रै कोरोना भाइरस संक्रमणलाई जितेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबारसम्म कूल ४ सय ९१ संक्रमितमध्ये जम्मा ७७ जनाले मात्रै कोरोनालाई जिते। जसमा पुरुष ४० र महिला ३७ जना रहेका छन्। भक्तपुरमा आइतबारसम्म संक्रमणकै कारण कुनै पनि संक्रमित आईसीयूमा छैनन्। यहाँका ४ सय ९ सक्रिय संक्रमितमध्ये २ सय ४९ पुरुष र एकसय ५८ महिला रहेका छन्।