रियालाई तापसीको साथ
मुम्बई : बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको अढाई महिनापछि अभिनेत्री तापसी पन्नूले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छन्। सुशान्त प्रकरणमा प्रेमिका रिया चक्रवर्तीलाई अभियुक्त मान्दै सीबीआईले जाँच गरिरहेको छ।
यस्तो बेला तापसीले आफूले व्यक्तिगत रूपमा सुशान्त र रियालाई नचिन्ने बताउँदै ट्विटरमा धारणा राखेकी छन्, ‘म सुशान्तलाई व्यक्तिगत रूपमा चिन्दिनँ, न त रियालाई नै चिन्छु। तर, म यति जान्दछु कि एक मानव हुनुको नाताले अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहर्याउनु उपयुक्त होइन। तपाईंको विवेक र मृतकको पवित्रताका लागि भए पनि कानुनमाथि भरोसा गर्नुस्’, उनले भनेकी छन्।
तापसीको सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तापसीको यो ट्विटपछि मानिसहरूले उनको अभिव्यक्ति गलत भएको आरोप लगाइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘तापसी म तिम्रो निकै ठूलो फ्यान थिएँ। इन्स्टाग्राममा फलो गर्थें तर ट्विटरमा तिमीले गलत व्यक्तिलाई साथ दिनु, गलत ट्विट गर्नु, यो सबै देखेर तिमी मेरो मनबाट बाहिर निस्किएकी छौ। तिमी जतिसुकै राम्रो काम गर तर यो गलतलाई साथ दिनु तिम्रो लागि भारी हुनेछ।’