कोरोनालाई चुनाती दिँदै रक स्टार
नयाँ दिल्ली : कोरोना त्रासका कारण विश्व मनोरञ्जन उद्योग ठप्प भएको बेला एक ताइवानी रक स्टारको प्रस्तुतिले संसारमै चर्चा कमाएको छ। कोरोना माहामारी हो र होइन भन्नेमा जनमत विभाजन हुन थालेपछि विस्तारै विभिन्न गतिविधि सुरु हुन थालेकै बेला उनको प्रस्तुति हेर्न र सुन्न हजारौं दर्शक उपस्थित भए। उनको प्रस्तुतिसँगै अन्य कलाकार पनि जुर्मुराउन थालेका छन्। कोरोना सुरु भएको चीनको वुहान सहरमा पनि चलचित्रलगायत मनोरञ्जनका गतिविधि सुरु भएका छन्। फिल्म हल खुल्न थालेका छन् भने सार्वजनिक जीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ। त्यसकै छिमेकमा रहेको ताइवानमा भएको यो कन्सर्टले अन्य कलाकारलाई पनि हौसला प्रदान गरेको निष्कर्ष निकाल्न थालिएको छ।
ताइवानी पपस्टार एरिक चाउले ताइवानमा कोरोना महामारीबीच १० हजारभन्दा धेरै दर्शक सामुन्ने संगीत कार्यक्रम प्रस्तुत गरेका छन्। कोरोनाको मात्रै कुरा सुन्दै आएका दर्शकले उनको यो प्रस्तुतिबाट भरपूर मनोरञ्जन लिए। पछिल्लो समय विश्वमै यसरी सार्वजनिक समारोहमा कार्यक्रम गर्ने उनी पहिलो कलाकार बने। यसबाट हौसिएर उनी फेरि छिट्टै अर्को प्रस्तुति लिएर आउने तयारीमा छन्। राजधानीको ताइपेई एरेनामा कार्यक्रम प्रस्तुत गरेका एरिकले भने, ‘यो अवस्थामा कार्यक्रम प्रस्तुत गर्ने पहिलो कलाकार बन्न पाउनु मेरा लागि रोमाञ्चक अनुभव हो।’
उनले भने, ‘वास्तवमै यो समयमा यसरी कार्यक्रम गर्नु सजिलो थिएन। पहिलो हुन धेरै तयारी आवश्यक थियो। सांगीतिक कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले मास्क लगाउनु र हात सेनिटाइज गर्नु जरुरी थियो। टिकट किन्नुभन्दा पहिले नाम, आईडी नम्बर र फोन नम्बर दर्ता गराउनुपर्ने थियो।’
उनले अगाडि भने, ‘हामीले १० हजारभन्दा बढी दर्शकका लागि मास्क तयार गरेका थियौं। दर्शकले आफैंले लगाएर आए पनि सबैका लागि मास्क उपलब्ध गराउनु हाम्रो कर्तव्य थियो। कन्सर्टमा मास्क लगाउनुका साथै यहाँको वातावरण सुरक्षित छ भन्ने सुनिश्चित गर्नु पनि जरुरी थियो। हामीले आफ्ना दर्शकको सुरक्षाको पनि जिम्मेवारी लिएका थियौं। यो धेरै कठिन थियो तर हामीले गरेर देखायौं।’
यो सांगीतिक कार्यक्रम चाउका लागि एउटा रमाइलो अनुभव थियो। उनले सामाजिक सञ्जालमा सेयर गरेका छन्, ‘यो सबैभन्दा खास सांगीतिक समारोहमध्ये एक थियो। अब सायदै म यस्तो अनुभव प्राप्त गर्न पाऊँला। म दर्शकको अनुहार राम्ररी हेर्न सक्दैनथेँ तर उनीहरूले हुटिङ गरेको र आफ्नै लयमा गाएको सुन्नु मेरा लागि खास थियो।’ चाउ सेप्टेम्बर ५ र ६ मा पुनः मञ्चमा आउँदै छन्। यो कार्यक्रम ताइवानको काउसुङ एरेनामा हुनेछ।