रुपन्देहीमा एकै परिवारका १० सहित १५ जनामा कोरोना संक्रमण
भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत भदौ ६ गते कोरोना पुष्टि भएका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनिवास चौधरीले जानकारी दिए ।
उनका अनुसार संक्रमण देखिएका १७ वर्ष देखि ६९ वर्ष उमेर समूहका छन् । जसमा ८ जना पुरुष र ७ जना महिला छन् । संक्रमण पुष्टि भएका १० जना मृतक परिवारका सदस्य हुन् भने पाँच जना सोही घरमा काम गर्ने कामदार हुन् ।
चैनपुरटोल निषेधित क्षेत्र कायम
सामुदाय स्तरमा संक्रमण पुष्टि भएपछि चैनपुरटोललाई भदौ १५ गते देखि भदौ २० गते राति १२ बजेसम्म निषेधित क्षेत्र कायम गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज यादवले बताए । उनले भदौ ६ गते पछि चैनपुर टोलमा जाने आउने गरेका तथा सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न र केही समस्या परे गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको बताए ।
निषेधित क्षेत्र कायम अवधीभर कोही घरबाट बाहिर ननिस्कने र कोही अरुको घरमा जाने तथा समाजिक दुरी कायम गरी अलग अलग सुरक्षतिका साथ बस्न गाउँपालिकाले आग्रह गरेको छ ।