आक्रमणमा नरोकिएको इन्द्रजात्रा कोरोनाले रोक्यो
भक्तपुर : आज मंगलबार इन्द्रजात्रा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण यस वर्ष इन्द्रजात्रा रोकियो । इन्द्रको प्रतीकस्वरुप लिंगो ठडिएन । इन्द्रजात्राअन्तर्गतका कुमारीयात्रा, लाखे, पुलुकिसी र कालभैरव जात्रालगायतका अरु विधि पनि रोकियो ।
इतिहास तथा संस्कृतिविद्हरुले इतिहासमा यस वर्षमात्रै इन्द्रजात्रा रोकिएको दावी गरेका छन् । कोरोना भाइरस संक्रमणको कारण यसवर्ष इन्द्रजात्रा भएन । आजभन्दा २५२ वर्षअघि गोर्खाका राजा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिन कान्तिपुरमा आक्रमण गरेका थिए । त्यसबेलासमेत इन्द्रजात्रा रोकिएन । कान्तिपुरलाई कब्जा जमाएका पृथ्वीनारायण शाहले समेत इन्द्रजात्रालाई निरन्तरता दिन आदेश दिएको बताइन्छ । उनले वि.सं. १८२५ आजकै दिन राजा तथा नगरवासी इन्द्रजात्रामा मस्त हुँदा कान्तिपुरमा आक्रमण गरेको इतिहास छ ।
'इतिहासमा यसअघि इन्द्रजात्रा रोकिएको छैन तर कोरोना भाइरस महामारीले यस वर्ष रोकियो',' इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने, 'पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गर्दा पनि इन्द्रजात्रा रोकिएन । बरु कान्तिपुर राज्य नै गयो, जात्रा रोकिएन ।'
उनले यसअघि काठमाडौं उपत्यकाका कुनै पनि जात्रा, पर्व रोकिएको कुनै इतिहास नभएको जिकिर गरे । तर यस वर्ष बिस्का जात्रा, मछिन्द्रनाथको जात्रापछि इन्द्रजात्रा रोकिएको उनले स्पष्ट पारे । काठमाडौं उपत्यका सम्पूर्ण जात्रा, पर्व जनसहभागितामा सञ्चालन हुन्छ तर अहिले जनसहभागिताले कोरोना भाइरस संक्रमण फैलिने सम्भावना भएकाले जात्रा मनाउने बहानामा मानव समाजलाई विनाशतिर लान नहुनेमा जोड दिए ।
'जनसहभागिताविना यहाँका कुनै पनि जात्रा सञ्चालन हुने कल्पनासम्म गर्न सकिन्न', प्रा.डा. श्रेष्ठले थपे, 'त्यसैले यस्तो महामारीको समयमा जात्रा चलाउनु मानव जातिको विनाश गर्नु हो ।' उनका अनुसार बिस्का जात्रा भक्तपुरको सांस्कृतिक पहिचान भएजस्तै इन्द्रजात्रा काठमाडौंको सांस्कृतिक पहिचान हो । त्यस्तै मछिन्द्रनाथको जात्रा ललितपुरको सांस्कृतिक प्राण हो ।
भक्तपुर इन्द्रजात्रा ३) आशन र छत्रसहितको भक्तपुर नपा ५ गःहिटीमा ठड्याइएको यमद्यः । फाइल तस्बिर
उनले मल्लकालमा कुनै अपरिचित व्यक्ति भेटिए नाम र ठेगानाभन्दा कुन जात्रा मान्ने भनेर सोध्ने प्रचलन रहेको स्पष्ट पारे । 'मल्लकालमा भक्तपुर, ललितपुर र कान्तिपुरमा कुनै अपरिचित व्यक्ति भेटिए नाम, थर र ठेगाना सोधिँदैन’, प्रा.डा.श्रेष्ठले भने, 'कुन जात्रा मनाउने भनेर सोधिन्छ । बिस्का जात्रा भने भक्तपुरे, मछिन्द्रनाथको जात्रा भने ललितपुरे र इन्द्रजात्रा भने कान्तिपुरे भनेर चिनिन्थ्यो ।'
यस्तो ठाउँ विशेषको सांस्कृतिक पहिचान र प्राण बोकेका जात्रा कोरोना भाइरस संक्रमणले प्रभावित हुनु राम्रो नभएको उनको भनाइ थियो । उनले यस्तो अवस्थामा जात्रासँग सम्बन्धित गुठीयार तथा पुरोहितहरुले आवश्यक विधिविधान पुर्याएर जात्राको क्रमलाई निरन्तरता दिनु बुद्धिमानी हुने सुझाव दिए ।
मल्लकालमा कान्तिपुर, ललितपुर र भक्तपुर गरी तीन राज्य थिए । ललितपुर र भक्तपुर आज पनि मध्यकालीन नामले अघि बढिरहेका छन् तर कान्तिपुर अहिले काठमाडौं भएको छ ।
भक्तपुरमा फरक इन्द्रजात्रा
भक्तपुरमा भने काठमाडौंमा भन्दा फरक ढंगले इन्द्रजात्रा मनाइन्छ । यहाँ इन्द्रको छोराको जयन्तको प्रतीकस्परुप इन्द्रजात्राको दुईदिन अघि नै यमद्यः (सानो काठे लिंगो) ठड्यान्छ । तर यसवर्ष विश्वव्यापी कोरोना भाइरस संक्रमणको कारण भक्तपुरमा यमद्यः ठडिएन ।
भक्तपुरमा आठ दिनसम्म इन्द्रजात्रा चल्छ । भाद्र शुक्ल पक्ष द्वादशीको दिन यमद्यः ठड्याएर यहाँ विधिवत रुपमा इन्द्रजात्रा सुरुहुन्छ । यस दिन भक्तपुरका मल्लकालीन २४ टोलमा यमद्यः उठाइन्छ । यसरी यमद्यः उठाएको छैटौं दिन मूःपात्र जात्रा हुन्छ । मूःपात्रसँगै या मता जात्रा हुन्छ । इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी जात्रा हुन्छ । पुलुकिसी देवराज इन्द्रको वहान ऐरावत हात्तीको प्रतीक हो ।
तर कोरोना भाइरस संक्रमणको कारण भक्तपुरमा यस वर्ष कुनै पनि जात्रा नहुने भएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले इन्द्रजात्राका कुनै पनि जात्रा तथा विधि नहुने उनको भनाइ थियो । 'यस वर्ष कोरोना भाइरस संक्रमणको कारण अवस्था प्रतिकूल रह्यो’, प्रमुख कर्माचार्यले भने, ‘त्यसैले सार्वजनिक रुपमा हुने यमद्यः ठड्याउने, मूःपात्र, या मता र पुलुकिसी जात्रा नहुने भएको छ ।'
काठमाडौंमा इन्द्रजात्रा सकिएको चौथो दिन भक्तपुरमा पुलुकिसी जात्रा गरेर इन्द्रजात्राको विधिवत समापन गरिन्छ ।
इन्द्र जात्रासम्बन्धी किम्बदन्ती
इन्द्रजात्रासम्बन्धी किम्बदन्तीअनुसार इन्द्रका आमा बसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न पारिजात र बिमिरो आवश्यक पर्छ । स्वर्गमा यी चिज नपाइने भएपछि आफ्ना नाति जयन्तलाई मत्र्यलोकबाट पारिजात र बिमिरो ल्याउन भनिन्छ । मत्र्यलोकमा आएका जयन्तले कसैसँग नसोधी पारिजातको फूल टिप्छ । उनले पारिजात टिपेको देखेकाले जयन्तलाई समाउँछ ।
त्यसबेला मत्र्यलोकमा राजा राक्षसराज मूःपात्र हुन्छन् । जसले गर्दा इन्द्रका छोरा जयन्तलाई मूःपात्रकहाँ पुर्याइन्छ । उनले आफ्नो राज्यको पारिजात फूल चोरेको भन्दै सजायस्वरुप जयन्तको हात काटिदिन्छ र चोकमा सबैले देख्ने गरी पाता कसेर राख्छ ।
त्यही पाता कसेर राखेको प्रतीकस्वरुप भक्तपुरका टोल टोलमा यमद्यः ठड्याइँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । मूःपात्रको कैदमा रहेको उनै जयन्तलाई छुटाउन इन्द्रले सलाँ गणेश, छुमा गणेश र मसान भैरवलाई पृथ्वीलोकमा पठाउँछन् । तैपनि मूःपात्रसँग उनीहरु पराजित हुन्छन् । त्यसपछि इन्द्रले आफ्नो बहान ऐरावत हात्ती र मसान भैरवलाई जयन्त छुटाउन पठाउँछन् । सोही ऐरावत हात्तीले जयन्त छुटाएर लगेको सन्दर्भमा भक्तपुरमा इन्द्रजात्राको चौथो दिन पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मी धौभडेल बताउँछन् ।