बैतडीका थप ११ जनामा कोरोना पुष्टि
बैतडी : बैतडीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
सिगास गाउँपालिका वडा नं ३ का १ पुरुष, वडा नं ६ का २ पुरुष र वडा नं ७ का एक महिला र ४ पुरुष गरी ८ मा जनामा कोरोना पुष्टि भएको छ। यस्तै मेलौली नगरपालिका वडा नं ९ का २ पुरुष र पुर्चौंडी नगरपालिका ६ का १ पुरुषमा कोरोना पुष्टि भएको जोशीले जानकारी दिए।
मंगलबार कोरोना पुष्टि भएका सबै जना भारतबाट फर्केका नागरिक रहेको बताइएको छ। संक्रमण पुष्टि भएका मध्ये सिगास गाउँपालिकाका आठै जना क्वारेन्टाइनमा बसीरहेका छन् भने मेलौली र पुर्चौंडीका संक्रमित होम क्वारेन्टाइनमा बसीरहेका छन्। होम क्वारेन्टाइनमा बसेकाहरुबाट समुदायमा संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्। तर पछिल्लो समयमा स्थानीय तहहरुले होम क्वारेन्टाइनका नाममा भारतबाट फर्केकाहरुलाई सिधै घर पठाउन थालेका छन्।
थप ११ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या ३७४ पुगेको छ। जिल्लामा ३७४ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भईसकेको छ।
यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५ र सिगास गाउँपालिकाका ५१ जनामा संक्रमण पुष्टि भईसकेको छ।
यस्तै दशरथचन्द नगरपालिकाका ४६, मेलौली नगरपालिकाका ३३, सुर्नया गाउँपालिकाका २८, पाटन नगरपालिकाका ४३, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टी भएको छ।