ट्रम्पसँग बाइडेनको वाकयुद्ध : ट्रम्पलाई भने, 'हिंसा भड्काउने विषालु नेता'
वासिङटन : अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने निर्वाचनका लागि डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
रिपब्लिकनका उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक उम्मेदवार बाइडेनबीच वाकयुद्ध हुन थालेको छ । पछिल्लो पटक अस्वेत नागरिकको हत्याको विषयलाई लिएर उनीहरुबीच फेरि आरोप प्रत्यारोप लगाउने काम भएको छ ।
बाइडेनले राष्ट्रपति ट्रम्पलाई ‘विषालु’नेताको संज्ञा दिँदै देशमा हिंसा भड्काउने गरेको आरोप लगाएका छन् । पेन्सिल्भेनियामा सम्बोधन गर्दै बाइडेनले ट्रम्पका कारण अमेरिकामा हिंसा झन् बढ्ने बताएका थिए ।
मे २५ मा अफ्रिकी–अकेरिकी जर्ज फ्लोयडको प्रहरीद्वारा हत्या भएपछि उत्पन्न अजस्था र देशव्यापी प्रदर्शनको पक्षमा बाइडेनले अभिव्यक्ति दिने गरेका छन् भने त्यसको ठीक उल्टो ट्रम्पले प्रहरी प्रशासनलाई साथ दिँदैआएका छन् ।
मंगलबार पिट्सबर्गमा बाइडेनले ट्रम्पलाई लक्षित गर्दै उनले देशको नेतृत्वको नैतिक अधिकार गुमाएको बताए । साथै ट्रम्पले वर्षौँदेखि हिंसा भड्काउने गरेकाले नैतिक धरातल नभएको उनको दावी थियो । बाइडेनले अमेरिकामा न्याय र सुरक्षा चाहिएकोले यस्तो अवस्थामा ट्रम्पलाई पुनः राष्ट्रपतिको रुपमा चयन गर्दा अमेरिकामा हिंसा झन् बढ्दै जाने उनको आरोप छ ।
बाइडेनको अभिव्यक्तिको खण्डन गर्दै ट्रम्पले बाइडेनलाई हिंसा भड्काउने समूहको समर्थन गरेर प्रहरीमाथि दोष लगाउने गरेको बताए । ती घटनामा प्रहरीको भन्दा पनि हिंसा भड्काउने समूहको गल्ती रहेको ट्रम्पको भनाइ छ ।
ट्रम्पले ट्वीटरमा बाइडेनले दंगा गर्ने, अराजकता निम्त्याउने र लुटेराको सट्टा प्रहरीलाई धेरै दोष दिइरहेको लेखेका थिए । यसवाहेक उनले हिंसात्मक घटना भएका सहरका डेमोक्र्याट्सका मेयरहरुमाथि पनि ट्रम्पले आरोप लगाउने गरेका छन् ।