अनुसन्धान माग गर्दै प्रहरीलाई स्थानीयको दबाव
जोमसोम : जोमसोम-वारागुङ मुत्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथमा गत श्रावण २४ गते ८२ वर्षीया महिलाको शव भेटिएकोबारे अनुसन्धान गर्न प्रहरीलाई स्थानीयले माग गरेका छन् ।
प्रहरी अनुसन्धानलाई तिब्रता दिनुपर्ने, घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत माग राख्दै उनीहरुले मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा ध्यानाकर्षण गराएका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारी समक्ष घटनाको चाँडो भन्दा चाँडो सत्यतथ्य छानविन गर्न वारागुङ मुक्तिक्षेत्र-१ अन्र्तगत मुक्तिनाथ, झारकोट र खिङ्गा गाउँका स्थानीयले ध्यानआर्कषण गराएका थिए ।
मुक्तिनाथका स्थानीय समाजसेवी छिरिङधावा गुरुङका अनुसार घटना घटेको २२ औं दिन पूरा भइसक्दा पनि वास्तविकता नआउनु दुखद् रहेको स्थानीयहरुको गुनासो छ । गत श्रावण २४ गते ८२ वर्षीया वृद्धा भुटिक गुरुङको शव बेवारिसे अवस्थामा भेटिएको थियो । उनी अन्तिम पटक श्रावण २१ गते यार्तुङ पर्वको पहिलो दिनपछि गाउँमा देखिएकी थिइन् भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भण्डारीले घटनाको सत्यतथ्य अनुसन्धान भइरहेको स्थानीय समक्ष जानकारी दिए । उनका अनुसार मृतकको पोष्टमार्टम भइसकेको र वास्तविकता पत्ता लाग्न भेसेरा रिपोर्ट आउन बाँकी रहेको छ । प्रहरी कार्यालयका अनुसार मृत बृद्धको यसअघि भेसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको छ ।