सर्पले डसेर मृत्यु
सन्धिखर्क : जिल्लाको भूमिकास्थान नगरपालिकामा सर्पले डसेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका ९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए । उपचारका लागि कपिलवस्तु लैजाँदै गर्दा विकको बाटोमै ज्यान गएको हो ।
तीन दिनअघि १४ गते आइतबार विकलाई सर्पले टोकेको थियो । विषको असर देखिन थालेपछि मंगलबार मात्र उनलाई अर्घाखाँची अस्पताल ल्याइएको थियो । शरीरभरी विषको मात्रा फैलिएकाले अस्पतालले कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा रिफर गरेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
उपचारका लागि कपिलवस्तु लैजाने क्रममा नरपानीमा ज्यान गएको स्थानीय डासिराम दर्लामीले जानकारी दिए । गत भाद्र १४ गते अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।