'धुनहरूले पछ्याइरहन्छ मलाई'
काठमाडौं : गाउँघरको पूजा आजा, विवाहमा होस् या गीतको भिडिओमा होस् पञ्चेबाजाको आवाजमा मोहित हुन्छन् उनी। कहीं कतै गीत बजिरहेको सुन्दा अनायासै हातखुट्टा चल्मलाउन थाल्छन्। उनलाई नाच्न मनपर्छ। बासुरी, मुरलीको सुरिलो धुनमा स्वर्गीय आनन्द भेट्छु भन्छन्। यसैले पनि होला उनलाई संगीतका धुनहरूले पछ्याइरहेझैं लाग्छ। कहिले बाजा बजाएको स्वरमा छमछमी नाचिरहेका हुन्छन् त कहिले कल्ले बोलायो भन्दै नृत्यबाटै प्रियसीलाई खोजीरहेका हुन्छन् उनी। जे होस् उनलाई गाउँले स्वर, स्थानीय भाका र लोक संगीत औधी मनपर्छ।
कोरियोग्राफर काजिस श्रेष्ठ आफ्नो संगीतसँगको सम्बन्ध बताउँ अटुट भएको बताउँछन्। पेशाले उनी म्युजिक भिडिओमा कोरियोग्राफी गर्छन्। सयौं गीतमा उनले कोरियोग्राफी गरिसकेका छन्। यस्तै आफैँ अभिनय गरेर जीवन्त बनाएका म्युजिक भिडिओको संख्या पनि निकै छन्। डान्स त उनको सहयात्री नै भयो, यसबाट अलग हुने कुरै भएन। यसका साथै निर्देशनमा समेत उनको दख्खल छ।
रौतहटका रैथाने काजिसको नृत्य मोह भने बच्चैदेखीको हो। तर स्कुले जीवनमा यसले फस्टाउने मौका पाएन। एसएलसीपछि जब कलेज पढ्न चपुर गए तब त्यहाँ कर्मा लामालाई भेट्ने मौका पाए। लामाले चपुरमा कल्चर सेन्टर खोलेर नृत्य सिकाउने काम गर्थे। काजिसलाई हिरो बन्न मन लाग्थ्यो। यसका लागि नाच्न जान्नुपर्छ भन्ने बुझेका थिए उनले। डान्सको फरक फरक शैली सिक्न मन पर्थ्यो उनलाई। लय कसरी मिलाउने ? गीतमा शब्दसँगै नृत्य प्रस्तुति गर्ने क्षमता सिक्ने भोकले उनलाई कर्माको सेन्टरमा पुर्यायो।
आफू बसेको ठाउँबाट दुई वटा खोला पार गरेर त्यहाँ पुग्थे उनी। बर्खायामम लुगा जुत्ता भिजाउँदै जाने गर्थे। ४ बजे उठेर नै नाचको प्य्राक्टिस गर्थे। निकै मेहनतले नृत्यका स्टेपलाई आफ्नो बसमा राखे उनले। काठमाडौं आएपछि साधना कला केन्द्रमा केही महिना नाच सिके अनि सिकाउने पेशामा लागे। नेहा सिने आर्ट हुँदै केही डान्स सेन्टरमा सिकाउने गर्थे। यसै क्रममा म्युजिक भिडिओमा नाच्न थाले। नृत्य शिक्षक शिवम पोखरेलसँगको भेट्ले उनलाई म्युजिक भिडिओमा डान्स गर्ने र अभिनय गर्ने मौका दियो। अभिनय र अवसरको भोकले धेरैपटक काजिसलाई सुटिङ स्पट पुर्यायो। दशकौं अघिको संघर्षको दिन सम्झँदै उनी भन्छन्, ‘आफ्नो काम नै नहुँदा पनि सुटिङ र नाच हेर्नकै लागि पुग्ने गर्थे। कहिले काही स-सानो भूमिका पाउँथें मख्ख हुँदै फर्कन्थें म।’
पहिलो पटक नाचेर पाँच सय पारिश्रमिक पाएका काजिस अहिले भने चल्तिका कोरियोग्राफर बनिसकेका छन्। उनको सफलताको पछाडि निरन्तरको मेहनत, लगाव र धैय गर्न सक्ने बानी छ। उनलाई नाच सिकाउन पाए पुग्छ, भिडिओ निर्देशन गर्दे आफैँ नाच्न पाए पुग्छ।
लकडाउन अगाडि महिनामा २०-२५ वटा म्युजिक भिडिओको कोरियोग्राफी गर्ने गरेका काजिस लकडाउनमा केही समय घरमै बसे। तर अहिले उनी फिल्डमा निस्किसकेका छन्। करिव डेढ दर्जन गीतको कोरियोग्राफी गर्न भ्याइसके। काजिसले लोक गीत, आधुनकि गीत, रक पप प्याटर्न सबैखालको गीतमा काम गर्ने गर्छन्। उनलाई गीत भए पुग्छ। त्यसको भिडिओ कस्तो बनाउने र कसरी क्वालिटी मेन्टने गर्ने आफैँ जानेका छन्। गीत कस्तो छ त्यही अनुसार निर्मातालाई भिडिओ बनाउन सुझाव पनि दिन्छन् उनी। यसैले पनि उनले काम गरेका व्यक्ति, क्लाइन्ट लामो समयसम्म उनलाई नै कोरियोग्राफीमा खोज्छन्।
नाचेर के हुन्छ र ? पैसा कमाइन्छ भनेर प्रश्न गर्नेलाई काजिसले जवाफ दिएका छन्। हरेक दिन व्यस्त रहन्छन् उनी। कामसँगै दाम र नाम पनि कमाउन सफल छन्। उनले कोरियोग्राफी गरेका गीतमा दिलिप रायमाझी, पुस्प खड्का, दुर्गेश थापा, पुस्कल शर्मा, रामजी खाड, आचल शर्मा, वर्षा शिवाकोटी, सुष्टि श्रेष्ठ, अनु शाह, सागर लम्साल लगायत दर्जनौं चर्चित कलाकारले अभिनय गरिसकेका छन्।
'मान्छे फकाएर आफ्नो हुँदैन', 'नौलाई शुन्य नब्बे', 'जुनकिरी', 'रातो अबिर', 'सुपारिका दाना', 'चर्तिकला नक्कले', 'ओइ साइली जान्छेउ र ?', 'ओए मेरो नक्कले', 'बिच्च बिच्चमा ३', 'बेसार' लगायतका दर्जनौं लोकगीतका भिडिओमा उनले गरेको कोरियोग्राफी चर्चित छ। यस्तै उनले आधुनिक गीतमा पनि काम गरेका छन्। प्रताप दाशको 'जुनकिरी', 'कर्ली कपाल', 'के दियौ तिमीले', 'सैया', 'तिमी सुखी हुनु', 'शिरशिर हावा', 'आइ लभ यु' लगायतका गीतको भिडिओमा पनि काम गरेका छन्।
सुटिङका क्रममा दु:ख सुख दुबै भोगेका छन्। कोरियोग्राफीका अलावा उनले विभिन्न डान्सिङ कार्यक्रमको निर्णायक पनि बन्ने गरेका छन्। आफ्नो काममा नयाँ प्रतिभालाई अवसर दिन रुचाउने काजिस बेलाबेलामा सामाजिक कार्यमा सहभागी भैरहन्छन्। सुटिङमा गर्नुपर्ने काम र टिम हेरेर एउटै भिडिओमा काम गरेको ४० हजारसम्म पारिश्रमिक लिने काजिस मेहनतले जुनसुकै फिल्डमा पनि सफल बन्न सकिने बताउँछन्।
फिल्ममा होस् या आधुनिक गीतमा अहिले लोक प्याटनका गीतले बजार लिएका छन्। उनाई पनि लोक गीतले नै देशको पहिचान दिन्छ भन्ने लाग्छ। नेपालीपन प्रदशन गर्नका लागि पनि लोकसंगीतलाई युवापुस्ताले संरक्षण गर्नुपर्ने उनको धारणा छ। इमान्दार भएर काम गर्नेलाई अवसरले पछ्याइरहन्छ भन्ने काजिस अभिनय मोडलिङभन्दा पनि कोरियोगफिमै रमाउने गर्छन्।