भक्तपुर तलेजुको मूलचोक जलमग्न
भक्तपुर : विश्व सम्पदा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु आगमछेंको मूलचोक वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको छ । भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले वर्षाको पानी जाने निकास बन्द हुँदा मूलचोकमा पानी जम्मा भएको जानकारी दिए ।
उनका अनुसार मूलचोकको उत्तर–पश्चिम कुनास्थित ढल निकास बन्द हुँदा वर्षाको पानीले मूलचोक जलमग्न भएको छ । वर्षाको पानी एकफिटसम्म जम्मा हुने गरेको उनले सुनाए । पहिले वर्षा रोकिएको एकदुई घन्टामै पानी सुक्ने मूलचोकमा अहिले तीनचार दिनमा पनि वर्षाको पानी ननिख्रिएको उनी सुनाउँछन् । 'पहिले वर्षा रोकिएको एकदुई घन्टामै मूलचोक सफा हुने गरी निकासबाट पानी जान्थ्यो,' मूल नाइके जोशीले भने, 'तर एकदुई महिनादेखि तीनचार दिनसम्म पनि वर्षाको पानी जमिरह्यो ।'
उनका अनुसार तलेजुको सुरक्षार्थ बसेका नेपाली सेनाले निकास सफा गर्दा पनि वर्षाको पानी जम्न छाडेको छैन । वर्षाको पानी धेरै समयसम्म जम्दा निकास भएको ठाउँमा बिछ्याइएका ढुंगा भासिन थालेको मूल नाइके जोशीले सुनाए ।
'निकास चाँडै खोल्न नसकिए यसले मूलचोकको चौघेरा संरचनाको जगमा क्षति पुर्याउनसक्छ,' उनले भने । मूलचोकको दक्षिणमा सिम्रोनगढबाट ल्याइएकी तलेजूको मूल मूर्तिसँगै उनको आगमछें रहेको छ । भक्तपुर दरबार क्षेत्रको स्वर्णद्वार (सुनढोका) भएर तलेजु आगाछें प्रवेश गरिन्छ । मूलचोकको पूर्वी मोहदामा मुख्य प्रवेशद्वार रहेको छ ।
मुख्य प्रवेशद्वार क्षेत्रदेखि तलेजुभित्रका कुनै पनि ठाउँ वा सम्पदाको फोटो तथा भिडियो खिच्न बन्देज लगाइँदै आएको छ । त्यस्तै पश्चिम मोहदामा कुमारी चोक र द्वेमाजु चोक प्रवेश गर्ने छुट्टाछुट्टै ढोका रहेका छन् । मूल चोकको पश्चिमी मोहदालाई दसैंघर पनि भनिन्छ । विजया दशमीको महानवमीको दिन तुलजा भवानी आफ्नो मूल आगमछेंबाट दसैंघर सवारी हुन्छिन् । साथै यहाँ दसैं अवधिभर जिवित देवी एकान्तकुमारी विराजमान हुन्छिन् ।
दसैंलगायत अरु महत्वपूर्ण पर्वपूजामा तलेजुमा बलि पूजा हुँदा मूलचोकमै काटमार हुने मूल नाइके जोशी बताउँछन् । यस्तो महत्वपूर्ण मूलचोकको संरक्षण गर्न वर्षाको पानी निकास खोल्नु आवश्यक भएको उनको भनाइ थियो । कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न अहिले निषेधाज्ञा लगाइएकाले यसबारे पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, गुठी संस्थान भक्तपुर र भक्तपुर नगरपालिकामा जानकारी दिन नसकिएको उनले सुनाए ।
तलेजुको मूलचोकको ढल निकासको अन्तिम विन्दु भक्तपुर नपा २ स्थित इन्द्रायणी क्षेत्र भएको आफूले सुनेको मूल नाइके जोशी बताउँछन् । इन्द्रायणी तलेजु आगमछेंबाट करिब पाँचसय मिटर उत्तरपूर्वमा रहेको छ । यो दरबार क्षेत्रस्थित पद्म माविको मुनि रहेको छ । यस क्षेत्रसम्म भक्तपुर दरबार क्षेत्रको ९९ चोकसमेत फैलिएको मानिन्छ । इन्द्रायणी क्षेत्रमा पश्चिमाभिमुख दुइटा ढुंगेधारासमेत रहेका छन् । ती धारामा अहिले पनि पानी आइरहेको छ ।
यी धाराको पानीको स्रोत नै भक्तपुर तलेजु क्षेत्र रहेको भनी आफ्ना पुर्खाले सुनाउने गरेको मूल नाइके जोशी बताउँछन् । भक्तपुर दरबार क्षेत्रमा अहिले पनि दर्जनौं चोक अस्तित्वमा छन् । ती सबै चोकहरुको आआफ्नै पानी निकास छन् । त्यस्तै यहाँभित्र नागपोखरी, द्वेमाजु पोखरी र भण्डारखाल गरी तीनवटा पोखरीसमेत रहेका छन् ।
केही चोकको पानी यी पोखरीमा जाने व्यवस्था भए पनि बाँकी चोकको वर्षाको पानी प्राचीन ढल व्यवस्थापनमार्फत दरबार बाहिर जाने व्यवस्था गरिएको बताइन्छ । निषेधाज्ञा लम्बिँदै जाँदा तलेजुका रकमी सरसफाइ गर्न त्यहाँ जान नसकिएको मूल नाइके जोशी बताउँछन् । भक्तपुर तलेजुमा गुठी संस्थानले मूल नाइके जोशीको संयोजकत्वमा ५ सय ३८ रकमीको व्यवस्थापन गरेको छ ।
जसमध्ये दैनिक नित्यपूजालगायतका काम गर्न माक, न्याइच्याइ, दथेपुथे, लाखे, ग्वाछा, आदि थरका १२ भित्री नकीं (थकाली महिला) र १० जना बाहिरी नकींको व्यवस्था गरिएको छ । त्यसमाथि एकजना छाडु लगाउने रकमीको व्यवस्थासमेत रहेको छ ।
तलेजुका रकमीले पूरा तलेजु क्षेत्र सरसफाइ गर्न नसकिएपछि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयबाट समेत सफाइ मजदुर जाने व्यवस्था भएकोमा अहिले निषेधाज्ञाले सरसफाइ रोकिँदा निकास थुनिएको हुनसक्ने मूल नाइके जोशीले अनुमान गरे ।