धनुषामा कोरोनाले भारतीय नागरिकको मृत्यु
जनकपुरधाम : धनुषामा एक भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशको बिसाखापटा घर भएर धनुषाधाम काम गर्दै आएका भारतीय नागरिकको कोरोनाले मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले जानकारी दिए।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेशन प्राईभेट लिमिटेडमा कार्यरत ६५ वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो। मिश्रका अनुसार बुधबार कम्पनीको आवासमा वृद्ध मृत फेला परेका थिए।
मृत्युको केही दिन अघि ज्वरो र रुघाखोकीको लक्षण देखिएको प्रशासनको भनाई छ। विगत चार वर्षदेखि उक्त कम्पनी काम गर्दै आएका पुरुषको आवासमा मृत शव फेला परेको थियो। शवलाई नेपाली सेनाको कोरोना (कोविड–१९) डेथ बडी मेनेजमेन्ट टीमले स्वाब लिएर परीक्षणका लागि बुझाएको थियो। उनको जनकपुर जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार कोरोना पोजिटिभ देखिएको हो।
मृत्युपछि उनको कोभिड व्यवस्थापन नियम बमोजिम शुक्रबार शव व्यवस्थापन गरिएको हो। योसँगै धनुषामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।