नाच्‍न सिक्‍दै नाइजेरियादेखि अमेरिकासम्‍म : ११ वर्षीय विश्‍वचर्चित 'ब्यालेट डान्‍सर' को कहानी

नाच्‍न सिक्‍दै नाइजेरियादेखि अमेरिकासम्‍म : ११ वर्षीय विश्‍वचर्चित 'ब्यालेट डान्‍सर' को कहानी

वासिङटन : ११ वर्षीय ‘ब्यालेट डान्सर’ एन्थोनी मेसोमा मदुको एउटा भिडियो केही महिना अघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडियोमा उनी खाली खुट्टा झरी परिरहेको बेला हिलोले भरिएको साँघुरो ठाउँमा सहजै ब्यालेट डान्स गरिरहेका देखिन्थे । उक्त भिडियो सार्वजनिक भएको केही महिनापछि नै उनी सामाजिक सञ्जालमा भाइरल बनेका हुन् । नाइजेरियाका उनै बालक एन्थोनी आज अमेरिकाको एक प्रतिष्ठित छात्रवृत्ति पाएका छन् ।

मदुलाई लागेको थियो कि, त्यो भिडियो खासमा ब्यालेट डान्स सिकाउने गुरुले अध्ययनकै एक हिस्साको रुपमा बनाउँदै थिए । तर उक्त छोटो भिडियोले नै यी बालकको जीवन बदलिदिएको छ ।

जहाँ उनको डान्स कौशल प्रष्टसँग देखिन्छ । सोही भिडियो हेरेर हलिउड अभिनेता सिन्थिया एरिभो र भिओला डेभिड सहित थुप्रै उनका प्रशंसक बने । झरीका बीच हिलो मैदानमा सहजै र कौशलतापूर्वक खुट्टा चालेको देखेर भिओला डेभिडले मदुको प्रशंसा गर्दै ट्वीटरमा पनि लेखेका थिए ।

यतिसम्म कि, मदुको डान्सले न्युयोर्कस्थित एबिटी ज्याकलिन केनेडी ओनेसिस स्कुल अफ कला निर्देशक सिन्थिया हार्बेको ध्यान पनि खिच्यो । हार्बे क्षमताबाट प्रभावित बनिसकेकी थिइन् । फलस्वरुप हार्बेकै पहलमा अमेरिकन थिएटरमा डान्स सिक्न जान पाउने भए । यसरी उनी अमेरिकन ब्यालेट थिएटरमा २०२१ को समर स्कुलमा जाँदैछन् ।

नाइजेरियन निर्माता फेड उगुन्रोको ‘द बुकिङअफ्रिका’ले पनि विश्वको जुनसुकै स्थानमा, उनको सम्पूर्ण पढाइ खर्च तिरिदिने भएको छ । गत जुलाइमा मोदुले पनि साउथ अफ्रिकन अन्तर्राष्ट्रिय ब्यालेट प्रतिष्पर्धाको भर्चुअल इभेन्टमा ग्रान्ड उपाधि पाएका थिए । सोही पुरस्कारको एउटा सुविधा थियो अमेरिकी डान्स स्कुलमा डान्स सिक्न पाउनु ।

मदुले छोटो अवधिमै यतिको उपलब्धि पाएपछि अन्तर्राष्ट्रिय मिडियालाई अन्तर्वार्ता दिइसकेका छन् । सिएनएनसँग उनले आफू यसरी भाइरल बन्ने कहिल्यै योजना नबनाएको तर आफ्नो कामबाट खुसी भएको प्रतिक्रिया दिएका छन् ।

‘म अचम्ममा परेँ किनकि, मेरो भिडियो यसरी भाइरल बन्ला भन्ने कहिल्यै मेरो मस्तिष्कमा थिएन । सबभन्दा ठूलो कुरा त, जब मैले अमेरिकामा डान्स सिक्न जान पाउने ग्रान्ड उपाधि पाएँ । किनकि, धेरैले यो अवसर पाउँदैनन् । ईश्वरलाई म धन्यवाद दिन्छु,’ मदुले भनेका छन् ।

डान्स एकेडेमी :

मदुले २००६ मा एक यस्तै डान्स प्रतिष्पर्धा देखेपछि उनमा यसप्रतिको रुची विकास भएको थियो । खासमा उक्त प्रतिष्पर्धामा १२ जना विजेता नर्तकीहरुले आफ्नो अनुभव र लगाव सुनाएपछि त्यसबाछ उनी प्रभावित भएका थिए ।

त्यसपछि आफ्नी आमासँग यस डान्स सिक्न जाने कुरा सुनाए । पछि उनी ओजोस्थित डान्स सिक्न जान थाले । जहाँ २०१७ मा रकम तिर्न नसक्ने वा विपन्न बालबालिकालाई लक्षित गर्दै डानियल ओसेनी अजलाले निशुल्क ब्यालेट डान्स सेन्टर खोलेका थिए । अजला आफैँ एक घरेलु प्रशिक्षकको रुपमा केटाकेटीलाई डान्स सिकाउँथे । उनले मदुभित्र डान्सप्रतिको भोक यति धेरै देखे कि, उनले मदुकी आमालाई थप डान्स सिकाउन र प्रेरित गर्न भने ।

उनै प्रशिक्षकले मदुको डान्स रेकर्ड गरेका थिए । तर उनले पनि उक्त भिडियो यति तीव्र रुपमा विस्तारित होला भन्ने कहिल्यै सोचेकै थिएनन् । नाइजेरियामा कोभिड १९ का संक्रमित ५४ हजार भन्दा धेरै पुगेपछि स्कुलहरु बन्द भएका छन् । मदु र उनका साथीहरुले भने डान्स क्लास हप्ताको ६ दिन गर्छन् ।

‘जब सुरुमा डान्स थालेँ, त्यसबेला यो सजिलो लागेको होला जस्तो लागेको थियो, मलाई थाहा थिएन कि, यो त गाह्रो रहेछ । तर मैले कठिन मेहनत गरेँ । हरेक क्षण अजालाले हामीलाई सिकाउँथे । म अभ्यास गर्न घर जान्थेँ र फेरि डान्स सेन्टरमा उनलाई देखाउँथेँ,’ मदुले भने ।

मदु जस्तै अजला पनि किशोरावस्थामा ब्यालेट डान्समा रुची राख्थे । २००१ म उनले जब ‘सेभ द लास्ट डान्स’ हेरेपछि नाचप्रति रुची जागेको थियो । अहिले २९ वर्षीय उनी युट्युब हेरेर डान्स सिक्छन् । खासमा उनी कहिल्यै प्रशिक्षकको रुपमा तयार थिएनन् । बरु सिक्दै जाँदा यसप्रतिको लगावले उनलाई यसका तरिकाहरु सिक्न सजिलो भयो, डान्सको मायाले उनलाई आत्मबल बढायो । अहिले उनी आफ्नै घरमा डान्स सिकाउँछन् । हरेक दिन १२ बालबालिका स्कुल सकेर सिधै उनको घरमा डान्स सिक्न पुग्छन् ।

युवतीका लागि ब्यालेट :

जब उनले सुरुमा ब्यालेट सिकाउन थाले, त्यसपछि यो त युवतीले मात्रै नाच्ने नाच हो भन्दै उनलाई धेरैले गिज्याउन थाले । यस्तै यो अफ्रिकन डान्स हैन भनेर पनि उनको आलोचना भयो ।
‘यो अफ्रिकन डान्स हैन भन्ने धारणा पनि छ यहाँ । पुरुष डान्सर हुनु खराब हो । मानिसहरु सोच्छन् कि, ब्यालेट पुरुषका लागि बनेको हैन,’ उनले भने ।

ऐतिहासिक रुपमा ब्यालेट १७ शताब्दिमा सुरु भएको हो । जुन मौलिक रुपमा फ्रेन्च राजा लुइस १४औँ लगायत शासकहरुले सुरु गरेका थिए । पछिल्ला केही दशकदेखि यस क्षेत्रमा महिलाहरुको बाक्लो सहभागिता भयो । र ब्यालेट डान्स उद्योगको ठूलो हिस्सा महिलाले नै ओगटेका छन् । त्यसो त, ब्यालेट डान्स महिलाका लागि विशेष हो भन्ने विश्वास गरिन्छ ।

मदुले पनि यस्तै रुढीवादी सोचको सामना गर्नुपरेको थियो । जहाँ उनले पनि पुरुषले नाच्नु हुँदैन भन्ने धेरैतिर सुन्दैआए । यो डान्स महिलाका लागि बनेको भन्ने सुन्दा आफू निरुत्साही बन्ने गरेको सुनाउँछन् मदु । तै पनि आफैँ संघर्ष गर्न छाड्दैनन् ।

‘म भिन्न हुन चाहन्छु । अरु डाक्टर वकिल, बैंकर्स भए जस्तै म हुन चाहन्न,’ मदुले सुनाए । उनी नाइजेरिया जस्तो ठाउँमा ब्यालेट डान्स फस्टाउन सक्दैन भन्ने धारणा परिवर्तन गर्न पनि चाहन्छन् उनी । उनी पेशेवर रुपमै ब्यालेट डान्सर भएर समाजमा नयाँपन देखाउन चाहन्छन् ।

(सिएनएनबाट)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.