स्याङ्जामा निषेधाज्ञा हट्यो
स्याङजा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यसअघि जारी निषेधाज्ञाका स्वरुप परिवर्तन गर्दै बिहीवार रातीदेखि निषेधाज्ञा हटाएको छ। तर, केही मापदण्डमा बन्द यथावतै कायम गर्दै भदौ ३१ गतेसम्म लम्ब्याएको छ। गएराती (बिहीवार) १२ बजेदेखि यसअघि जारी निषेधाज्ञाको समयावधी सकिएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिमको आदेश जारी गरेको हो।
जिल्लामा कोरोना संक्रमणको दर कम भएकाले प्रशासनले निषेधाज्ञामा लचिलो बनेको बनेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनले भने ‘कारोना संक्रमण छिटो सर्ने हुदाँ उच्च सतर्कता अपनाउदै भीडभाड हुन नदिई, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाई ब्यवसाय संचालनका लागि भने बाटो खोलिदिएका हौं।’ जिल्ला भित्र सञ्चालित निजी तथा ट्याक्सी जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाईने र एक साधनमा २ जना मात्र सवार हुन पाइने भएको छ।
सुरक्षा मापदण्ड पालनागरी बिहान ७ देखि बेलुका ७ बजे सम्म व्यवसायीक गतिविधीहरु, खाद्यान्न, कृषि र पशुपंक्षी तथा निर्माण सामग्रीहरु लगायतका ढुवानीलाई बिहान ६ देखी बेलुका ९ सम्म मात्र संचालन गर्न पाईने भएको छ।
यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीहरुले तोकिए बमोजिमका स्वास्थ्य र सुरक्षाका मापदण्ड, २०७७ को पालना गर्दै संचालन गर्न पाउने भएका हुन। तर, संक्रमितको दर घटे पनि जिल्लामा कोरोना संक्रमणको जोखिम भने कायमै रहेको जनाउदै भीडभाड नियन्त्रणका लागि केही बुँदामा भने बन्द कायमै रहेको प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ।
जारी सूचना अनुसार ‘एम्बुलेन्स तथा शव बाहन बाहेक अन्य सवारी साधन विहान ६ देखि साँझ ९ बजे सम्म संचालन गर्ने, जिल्लाभित्र तथा बाहिर संचालन हुने सार्वजनिक सवारी साधन चलाउन नपाउने, शैक्षिक संस्थाहरु, पुस्तकालय, गोष्ठी, तालिम र सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, पार्टी प्यालेस लगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना लगायतका सेवा तथा स्थलहरु खोल्न नपाईने, सभा जुलुश, महोत्सव, तथा सबै धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पाईने छैंन।’
अत्यावश्यक बाहेक बाहिर ननिस्कने। यदी निस्कनै परेमा अनिवार्य मास्कको प्रयोग, दुई मिटरको भौतिक दुरी, पटक पटक साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्दै गराउदै ब्यवसाय संचालन गर्न सूचित गरिएको छ। सूचनाकोे अवज्ञा गरे संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ।