मध्यपुर थिमिले थप एक सय  शैय्याको आइसोलेसन बनाउने

मध्यपुर थिमिले थप एक सय  शैय्याको आइसोलेसन बनाउने

भक्तपुर  : नगर क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै आएपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले थप एक सय शैय्याको आइसोलेसन बनाउने भएको छ। हाल नगरपालिकामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २५ शैय्याको आइसोलेसन वार्ड रहेको छ। 

नगर प्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षता बिहीबार भएको नगरस्तरीय विपद् व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो। बैठकले आइसोलेसन वार्ड बनाउनको लागि सम्भावित ठाउँ तथा भवनको खोजी गर्ने निर्णयसमेत गरेको नपाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष राम थापामगरले जानकारी दिए।

उनले गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल र सानोठिमीस्थित राष्ट्रिय चिकित्सा शिक्षा आयोग रहेको भवनमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको बताए।

तर नागरिक सामुदायिक अस्पताल भाडामा लिएर आइसोलेसन सञ्चालन गर्नेबारे नपाका प्रमुख श्रेष्ठले अस्पतालसँग सहमति गरिसकेको नगरपालिका स्रोत बताउँछ।

भक्तपुरका चारवटा नगरपालिकामध्ये सबैभन्दा बढी संक्रमित रहेको मध्यपुर हो। यहाँ बिहीबारसम्म २ सय ७३ जना संक्रमित पुगेका छन्। जसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ।

त्यस्तै १७ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले मध्यपुर थिमि नपामा समुदायस्तरमै संक्रमण फैलिएको बताउँदै आएको छ। यहाँको वडा नं. ३, १, ५, ६, ७, ८ र ९ वडा संक्रमणका दृष्टिले जोखिम रहेका वडा हुन्। वडा नं. ३ मा मात्रै ७३ जना संक्रमित रहेका छन्।

वडा नं.७ नगदेशमा संक्रमणले एउटै परिवारका आमाछोराको मृत्यु भइसकेको छ। उक्त घरका बाँकी आठजना पनि संक्रमित छन्। जसमध्ये संक्रमणले मर्ने छोराकी श्रीमती गर्भवती छिन्।

त्यस्तै वडा नं. ९ बोडेको एउटै परिवारका १४ जनामा संक्रमण पुष्टि भएको थियो। यो परिवारमा दुईजना सुत्केरीसमेत रहेका छन्।

‘एकीकृतको खर्च व्यहोर्न सकिन्न’
यसैबीच मध्यपुर थिमि नपाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा काठमाडौं उपत्यकाको लागि तोकिएका एकीकृत आइसोलेसन वार्डको व्यवस्थापनको लागि हुने खर्च नपाले व्यहोर्न नसकिने आवाज उठेको छ।

मध्यपुर थिमि नपाको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) र युसेप नेपालको होस्टेल तथा बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा निर्माण गरिएको एकीकृत आइसोलेसनको व्यवस्थापन खर्च मध्यपुर थिमि नपाले व्यहोर्नुपर्ने केन्द्र सरकारले बताएको छ। यी तीन ठाउँसँगै भक्तपुरमा सहरी विकास मन्त्रालयको समन्वयमा करिब पाँचसय आइसोलेसन वार्डको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको छ।

सरकारले विदेशबाट उद्धार गरी ल्याइनेलाई यी आइसोलेसनमा राखिनेछ। उनीहरु उक्त आइसोलेसनमा बढीमा १४ दिन बस्नेछन्। त्यहीं अवधिमा हुने व्यवस्थापन खर्च मध्यपुर थिमि नपाले व्यहोर्नुपर्ने भनेपछि बैठकमा उपस्थित अधिकांश सदस्यले त्यसको विरोध गरेको प्रवक्ता थापामगरले बताए।

उनका अनुसार नगर प्रमुख श्रेष्ठले केन्द्रीय सरकारले नै परिपत्र गरेपछि उक्त खर्च नपाले गर्नुपर्ने आशय व्यक्त गरेपछि बैठकमा सहभागी अधिकांशले नपाले खर्च व्यहोर्न नसकिने बताएका थिए।

‘त्यसको खर्च नपाबाट व्यहोरिए राम्रो हुँदैन भन्ने अधिकांश सदस्यहरुको भनाइ थियो’, प्रवक्ता थापामगरले भने, ‘आफ्नै नगरका संक्रमितको लागि व्यवस्थापन गर्न नसकेको अवस्थामा नपाले अरु खर्च गर्न मिल्दैन भन्नेमा सबैजसो एकमत छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.