विद्रोहका जरा
विद्रोहलाई मानिसको नैसर्गिक स्वभाव मान्न सकिन्छ। त्यो कहिले मुखर र कहिले मौन स्वरूपको हुन्छ। आज मानव समाजले हासिल गरेका राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक उपलब्धिका पछाडि बेला बेला भएका विद्रोहहरूकै अहम् भूमिका छ।
समाजको वा समाज व्यवस्थापन गर्ने राज्यको, धार्मिक जमातको वा कुनै जाति वा सम्प्रदाय विशेषको कुनै पनि कुरो चित्त बुझेन भने सचेत मानिस त्यसलाई पालन गर्न आवश्यक ठान्दैन। कुनै पनि मूल्यमा त्यसलाई तोड्ने उपक्रममा उसले पहिले तर्कहरूको सहारा लिन्छ, वैकल्पिक विचारको निर्माण गर्छ, त्यस विचारलाई प्रसार गर्छ, जनमत आफ्नो पक्षमा आकर्षित गर्ने चेष्टा गर्छ र संस्थापन संस्कृति, नियम वा शासन प्रणालीमाथि मानसिक र भौतिक दबाब सिर्जना गर्छ। उसको अपेक्षालाई हासिल गर्न आवश्यक मात्रामा श्रम, समय र स्रोत तथा पछुवाहरू जुटे भने ऊ सफल बन्छ, अन्यथा असफल। यसका लागि आन्तरिक र बाह्य दुवै तत्वको योग जरुरी हुन्छ।
विद्रोहका केही बहुमान्य र सांस्कृतिक कारण छन्। मानिस कुनै खास परिवार र समाजको सदस्य भएकाले उसले जन्मदेखि नै वंशको नासो, संस्कार र सामाजिक विवेकको वाहकका रूपमा खास मूल्यप्रणालीको अनुपालन वा प्रवद्र्धन गर्दछ। कुनै खास ज्ञानको उद्बोधनका कारण चेतना वृद्धि हुँदै गएर तुलनात्मक अध्ययन विश्लेषण गर्ने स्तरसम्म पुगेको खण्डमा उसले नयाँ मूल्यप्रणाली स्थापना गर्न सक्छ भन्ने कुराका दृष्टान्त इतिहासमा पर्याप्त छन्।
महान् दार्शनिक, वैज्ञानिक र कविहरूका विद्रोहले संसारलाई नै परिवर्तन गरिदिएका छन्। पश्चिममा चर्चको सर्वमान्यतालाई चुनौती दिने धेरै प्रयासमध्ये ग्यालिलियोलाई सम्झने गरिन्छ। यस्तै कतिपय विद्रोहका कारणले चर्च र राज्यलाई अलग गर्न सकिएको हो। पूर्वमा सिद्धार्थ गौतमले राजदरबार त्यागेर ज्ञानको खोज गरे र मानव जगत्लाई नै नयाँ मार्ग देखाए, त्यसैले उनी बुद्ध बने। उनले त्यस बेला कट्टर ब्राह्मणवादको सामना गर्नु पर्यो। आजको सन्तुलित र सर्वमान्य परराष्ट्र नीतिमा उल्लेख गरिने पञ्चशील गौतम बुद्धकै देन हो।
क्रान्ति निश्चित राजनीतिक उद्देश्य प्राप्तिका निम्ति संस्थापनको शक्तिलाई सशस्त्र आक्रमण वा ठूलो जनसंख्याको उत्तेजक दबाब सिर्जना र उच्छेद गरी फाल्ने र त्यसका स्थानमा नयाँ शक्ति र प्रणाली स्थापना गर्ने कार्य हो। क्रान्तिको लक्ष्य छिटो हासिल गर्ने यौटा प्रभावकारी उपकरण मात्र हो विद्रोह। झडप, युद्ध, हताहतीका माध्यमबाट जबर्जस्ती शक्ति र स्रोत लिने विद्रोह सशस्त्र विद्रोह हो।
क्रान्ति र विद्रोहबीच झिनो अन्तर देखिन्छ। क्रान्ति निश्चित राजनीतिक उद्देश्य प्राप्तिका निम्ति संस्थापनको शक्तिलाई सशस्त्र आक्रमण वा ठूलो जनसंख्याको उत्तेजक दबाब सिर्जना र उच्छेद गरी फाल्ने र त्यसका स्थानमा नयाँ शक्ति र प्रणाली स्थापना गर्ने कार्य हो। क्रान्तिको लक्ष्य छिटो हासिल गर्ने यौटा प्रभावकारी उपकरण मात्र हो विद्रोह। झडप, युद्ध, हताहतीका माध्यमबाट जबर्जस्ती शक्ति र स्रोत लिने विद्रोह सशस्त्र विद्रोह हो। विद्रोह सशस्त्र वा बहुसंख्यकको सदेह सहभागितामै हुनुपर्छ भन्ने छैन, यो शालीन पनि हुन सक्छ। मौन, तार्किक, बौद्धिक हस्तक्षेपबाट अत्यधिक जनमतलाई आकर्षित गरी आफ्नो हेतुको पक्षमा वातावरण तयार गर्नु पनि विद्रोह नै हो। भारतका महात्मा गान्धी यस्तो विद्रोहका अगुवा मानिन्छन्। संयुक्त राज्य अमेरिकामा मार्टिन लुथर किङ र अफ्रिकामा नेल्सन मण्डेला यसै पंक्तिमा मानिन्छन्।
नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि भएका केही उल्लेखनीय विद्रोहमध्ये डा. केआई सिंहको भैरहवा विद्रोह र सिंहदरबार कब्जाको घटना पनि उल्लेखनीय मानिन्छ। भारतीय सैनिक लगाएर दबाइए पनि दिल्ली सम्झौताको विपक्षमा गरिएको यो विद्रोह विरोचित साहसको उदाहरण हो। सुदूरपश्चिममा भीमदत्त पन्तको विद्रोहलाई बडो क्रुरतापूर्वक दबाइएको थियो। सामान्य किसान नेताको यस साहसिक कारबाहीको अध्ययन र मूल्यांकन हुन बाँकी नै छ जसमा पन्तको टाउको काटेर बाँसको टाँगामा झुन्ड्याउँदै त्यस्ता विद्रोहमा आकर्षित हुनेले भोग्नुपर्ने परिणामको चेतावनी दिइएको थियो।
नेपाली कांग्रेसले पञ्चायतविरुद्ध २०१८ सालदेखि पटकपटक सशस्त्र विद्रोह गरेको थियो र ती सबै विद्रोहमा प्रजातान्त्रिक आन्दोलनले घाटा बेहोर्नु पर्यो। जनकपुर र विराटनगरमा राजामाथि बम हानेर गरिएका यी विद्रोहमा राम-लक्ष्मणलगायत धेरैको ज्यान गयो। ओखलढुंगाको टिमुरबोटे काण्डका नाममा चर्चित कांग्रेसको सशस्त्र विद्रोह पनि पञ्चायतविरुद्ध लक्षित थियो। यस विद्रोहले पनि निकै ठूलो मूल्य चुकाउनु पर्यो। २०४६ को परिवर्तनपछि कांग्रेस सत्तामा सबैभन्दा बढी रह्यो। कांग्रेस सभापति शेरबहादुर देउवा चारपटक प्रधानमन्त्री हुनुभयो।
त्यसैताका झापाली कम्युनिस्टले सुरु गरेको विद्रोहमा पनि सफलता हात लागेन। यद्यपि आजको नेकपा (तत्कालीन एमाले) को आजको राजनीतिक आकार प्राप्त गर्ने मुख्य घटना त्यही नै सावित भयो। यसमा प्रत्यक्ष वा परोक्ष संलग्न हुने या त हत्या गरी मारिए, या लामो समय कालकोठरीमा राखिए। २०४६ पछि मात्र तिनको मुक्ति सम्भव भयो। १४ वर्ष जेल भोगेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त्यसै घटनाका एक मूल पात्रमध्येको हुनुहुन्छ।
यसबीच थुप्रै विद्रोह दमन गरिए। २०५२ फागुनदेखि चलेको कम्युनिस्टहरूकै अर्को समूह माओवादीको १० वर्षे सशस्त्र युद्धको सेरोफेरोमा करिब १७ हजार नेपाली मारिनुका साथै हजारौं परिवार विस्थापित र सयौं व्यक्ति बेपत्ता पारिए। नेपालको इतिहासको पछिल्लो कालखण्डमा यति बलियो विद्रोह कहिल्यै भएको थिएन। अन्य वामपन्थी कम्युनिस्ट र कांग्रेसको समेत सहयोगमा १२ बुँदे सम्झौताबाट यसको शान्तिपूर्ण अवतरणका असंख्य घाउ अझै बाँकी छन्।
यस विद्रोहका प्राधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक नेपालको प्रधानमन्त्री भइसक्नुभएको छ भने उहाँका सहयात्री कमरेड डा. बाबुराम भट्टराई एकपटक। माओवादीको यो शान्तियात्रासँग गम्भीर रूपमा असहमत मोहन वैद्य, नेत्रविक्रम चन्द, गोपाल किराती जस्ता व्यक्ति अलग-अलग समूह बनाएर क्रियाशील छन्। त्यस युद्धमा लागेका विभिन्न तहका धेरै कार्यकर्ताले प्रचण्डलाई धोकेबाज भनिरहेका छन्। अहिले उहाँ एमालेसँग एकता गरेर नेकपाको अर्को अध्यक्ष बन्नुभएको छ।
विद्रोह सधैं सफल हुँदैनन्। विद्रोह अति ठूलो जोखिमको काम हो। यसमा रणनीतिक चातुर्य जति मात्रामा आवश्यक पर्छ, कूटनीतिक दक्षताले पनि उत्तिकै महत्व राख्तछ। वस्तुगत स्थितिको अध्ययनबिना भावुकतावश गरिएका विद्रोह दुःखान्तमा परिणत हुन्छन् र त्यही कारणले गरिएका विद्रोह पछि सफल हुँदा त्यसको जस अरूले नै लिन्छ। जनवादी गणतन्त्र ल्याउने उद्घोषका साथ चलाइएको माओवादी युद्धप्रति युद्धमै सहभागी पीएलएहरूको वितृष्णालाई यसै सन्दर्भमा हेर्नुपर्छ। यसो भए तापनि त्यस्ता युद्ध र विद्रोहहरूको ऐतिहासिक महत्व भने रहन्छ नै। यस्ता दमन गरिएका, असफल देखिने वा सम्झौतामा टुंगिएका विद्रोहहरूको समुच्चय नै ठूलो विद्रोह र परिवर्तनका आधार बनेका हुन्छन्।
तर, केही विद्रोहका पछिल्तिर कसैप्रति घोर अविश्वास, अन्धविश्वास, कोरा उत्तेजना, मनोगत विश्लेषण, महान् र इतिहासपुरुष हुने महत्वाकांक्षा, अरूको उक्साहट आदि कारण पनि हुन्छन्। दलाई लामाको भारत पलायनपछि कम्युनिस्ट चीनविरोधी पश्चिमा मुलुकहरूले नेपाली भूमिमा तिब्बती खम्पाहरूलाई हतियार र तालिम दिएर गराएको विद्रोह एउटा उदाहरण हो। धर्मान्धताको आधारमा बलपूर्वक तिब्बतलाई पुनः प्राप्त गर्ने वाङ्दीको प्रयास जुन नेपाली सेनाले असफल तुल्याइदियो। दलाईलाई अन्तिम सत्य ठानेकैले तिब्बतलाई सधैं नै स्वतन्त्र मुलुक थियो भन्ने मानेकैले र पश्चिमाले उक्साएकैले त्यति उच्च भूमिमा गरिएको त्यत्रो तयारी र खम्पाहरूको सपना दुःखान्तमा टुंगियो।
असंगठित र मनोगत नै भए पनि कट्टरपन्थी समाजमा बाहुनले हलो जोतेर गरेका विद्रोह, दलित र कथित उपल्ला जातका केटाकेटीले विवाहका कारण समाजबाट अलग्गै बसेर गरिएका विद्रोह, दलितले सिनो फाल्न इन्कार गरेको विद्रोह, मन्दिरजस्ता सार्वजनिक स्थानमा प्रवेश गर्न गरेका विद्रोह आदिले समाज परिवर्तनको दिशामा महत्वपूर्ण काम गर्छन्। अब यस्तो समय हामी भोग्दैछौं, जहाँ बाहुनले हलो जोत्नु सेलिब्रिटीले हलो जोतेको तस्बिर फेसबुकमा पोस्ट् गर्नुजस्तै सहज छ। अब दलित गैरदलितबीचको विवाहलाई राज्यले प्रवद्र्धन गरेको समेत देखिएको छ। अब मन्दिर प्रवेश गर्ने दलितलाई कसैले रोक्यो भने ऊ दण्डको भागीदार हुन्छ। विद्रोहकै कारण आज ‘विधवा विवाह’ सर्वस्वीकार्य बन्दैछ। विधवा महिला रातो राडी र रातै टीकामा सजिएकी छ। हामी फोटो खिचेर यसलाई अमर बनाऔं ?