खम्पा अर्थात् विद्रोहको डढेलो
६२ वर्षअघिको कुरा हो, तिब्बती सीमावर्ती नेपालका जिल्लाहरूमा दुईवटा शासन थियो भन्ने आह्वान थियो। एउटा श्री ५ को, अर्को खम्पा विद्रोहीको। एउटा वैध, अर्को अवैध।
को हुन् खम्पा विद्रोही ?
१ जनवरी १९५० मा जनवादी गणतन्त्र चीनले तिब्बत स्वशासित क्षेत्रमाथि हस्तक्षेप गर्यो। चीनको कब्जामा परेपछि तिब्बतमा हजारौं वर्षदेखि प्रचलित धर्म, संस्कार, संस्कृतिमाथि अतिक्रमण हुन थाल्यो। धर्म, संस्कृतिका कट्टर अनुयायी तिब्बतीहरू चिनियाँ सांस्कृतिक क्रान्तिको मारमा परे। सांस्कृतिक क्रान्तिको नाममा तिब्बतको प्राचीन चैत्य, गुम्बा, माने, कानी, छ्योर्तेन, धर्मग्रन्थ तथा प्राचीनतम धार्मिक, सांस्कृतिक सम्पदाहरू नष्ट हुन थाले।
सदियौंदेखि बुद्ध धर्मदर्शनमा निर्लिप्त तिब्बतवासीलाई यस्ता गतिविधि सह्य भएन। चीन सरकार र स्थानीय सरकारबीच १९५१ मा १७ बुँदे सम्झौता पनि भएको थियो। सरकारी पक्षबाट सम्झौता उल्लंघन हुन थालेपछि १९५६ मा तिब्बतमा सशस्त्र विद्रोही जन्मे। चिनियाँ जनमुक्ति सेना र विद्रोहीबीच सशस्त्र युद्ध सुरु भयो, जुन विस्तारै तिब्बतभरि फैलियो। १० मार्च, १९५९ मा तिब्बतको राजधानी ल्हासामा विद्रोहको डढेलो सल्कियो। यो दिनलाई ‘खम्पा विद्रोह दिवस’को रूपमा अद्यापि चिनिन्छ।
व्यापक सैनिक दमनपछि स्वतन्त्रताका लागि भन्दै गरिएको तिब्बतीहरूको सशस्त्र विद्रोह असफल भयो। परिणामस्वरूप ३० मार्च १९५९ मा तिब्बतका राजा चौधौं दलाई लामाले जीवन रक्षाका लागि ल्हासा छाडे। अमेरिकी गुप्तचर संस्था (सीआईए)को सहयोगमा उनी १८ अप्रिल १९५९ मा भारतको आसाम तेजपुरमा आश्रय लिन पुगे।
कर्मापालगायत अरू धर्मगुरुहरू पनि नेपाल, भारतलगायत अन्य छिमेकी र युरोपेली तथा अमेरिकी मुलुकमा शरण लिन पुगे। भारतमा रहेका दलाई लामाले अमेरिकी र युरोपेली सरकारको साथ र सहयोग पाएपछि भूमिगत सशस्त्र गुरिल्ला तयार गरे। विद्रोहीहरू अधिकांश तिब्बतको ‘खाम’ क्षेत्रका भएकाले खम्बा विद्रोही भनेर उनीहरू चिनिए।
गोरखाका खम्पा सेल्टर
खम्पा विद्रोहीले तिब्बतमा वितण्डा मच्चाउन सीमावर्ती नेपालका भूभाग प्रयोग गरेका थिए। स्थानीयवासीका अनुसार गोरखाको स्यार भोटको चुम उपत्यका र लार्के भोटको नुब्री उपत्यकामा पनि उनीहरू सेल्टर बनाएर बसेका थिए।
लार्केतर्फ स्यालाको जंगलमा करिब ४० जनाको डफ्फा बसेको थियो। त्यो ठाउँ हाल चुमनुब्री गाउँपालिका-२ मा पर्छ। हिउँदका बेला भने नाम्रुङ बजारभन्दा पारिपट्टि जंगलमा बस्थे। यो ठाउँ हाल चुमनुब्री गाउँपालिका-४ मा पर्छ। उनीहरू बर्खाका बेला स्यालाको जंगलमा शिविर बनाएर बसेका थिए।
स्यारभोटको नीले, ङाक्युपारि र छेकम गरी तीन ठाउँमा त्यति नै संख्याका खम्पा गुरिल्लाको फौजले सेल्टर लिएको थियो। यी सबै ठाउँ हाल चुमनुब्री गाउँपालिका-७ मा पर्छ। ‘खम्पाहरूले हतियार, आर्थिक तथा प्राविधिक सहयोग र सैन्य तालिम पनि अमेरिकाबाटै पाउँथे भन्ने सुनिन्थ्यो’, त्यति बेला नाम्रुङ चौकीमा काम गर्ने प्रहरी नारायणभक्त अर्याल भन्छन्।
नेपालमा उत्तरतर्फ खम्पाको र दक्षिणतर्फ श्री ५ को सरकार छ भन्ने आरोप त्यति बेलाका सरकारको कानमा परिरहेको थियो। खम्पा शासनले गाउँले जनजीवन कष्टकर भएकोबारे राजासम्म जानकारी पुगेको थियो। चुमका बासिन्दाले खम्पाको ज्यादतीबारे तत्कालीन श्री ५ महेन्द्रको कानमा कुरा पुर्याइरहेका थिए। तिब्बतमा सधैं वितण्डा मच्चाइरहने खम्पा विद्रोहीलाई संरक्षण नदिन चिनियाँ सरकारले बारम्बार दबाबपूर्ण अनुरोध र आग्रह गरिरहेको थियो, चेतावनी दिइरहेको थियो।
‘घोडा चढेर हिँड्थे। जीउडाल पनि बडेबडेमानको हुन्थ्यो। हेर्दै डरलाग्दा। पेस्तोल भिर्थे। मान्छे पनि एकदम रिसाहा जस्ता’, थप्छन्, ‘हामी त्यहाँ पुग्दा उनीहरूले चुप्पी हानेर एकजना मान्छे मारिसकेका रहेछन्। त्यसैले खम्पा भनेपछि गाउँले थुरथुर हुन्थे।’ तर नेपाल प्रहरीसँग उनीहरू निहुँ खोज्दैनथे। ‘चौकीनेर आइपुगेपछि घोडाको रेस बढाएर जान्थे’, उनी स्मरण गर्छन्, ‘आमनेसामने भए भने जिब्रो झिक्थे। अलि डराएजस्तो, लाज मानेजस्तो गरेर हाँस्थे अनि जान्थे। उनीहरूको चलनै त्यस्तै हो कि झैं लाग्थ्यो।’
प्रहरीको काम शान्तिसुरक्षा कायम गर्नु हो। उनीहरूलाई ‘निःशस्त्र बनाउनू’ भन्ने सरकारको आदेश हुन्थ्यो। तर व्यवहारमा कठिन थियो। भिडेर हतियार खोस्न सक्ने अवस्था थिएन। आफूले मन पराएकी नाम्रुङकी एउटी युवतीलाई मन पराउने लार्के भन्सारका बहिदार रामेश्वर अधिकारीलाई खम्पाले चुप्पी हानेर मारेको घटना छ।
ल्हो गाविसका पूर्वअध्यक्षसमेत रहेका ६९ वर्षका तेञ्जिनल नोर्बुले पनि खम्पा विद्रोही बेहोरे। उनीसँग त एकफेर झगडै भयो। ‘सबैजना खैरो रङको युनिफर्म लगाउँथे। उनीहरूलाई रासनपानी, पकेट खर्च र हतियार रातिराति आउँथ्यो’, उनी सम्झन्छन्, ‘कसले ल्याउँथ्यो, कहाँ भेटेर दिन्थे, हामीले देखेनौं।’
रातिराति अचानक तिब्बत गएर आक्रमण गरेर फर्कने उनले बताए। अचानक जान्थे। तिब्बतमा सरकारको खाद्य गोदाममा ड्याम्डुम् हान्थे। अनि लुटपाट मच्चाउँथे। लुटेको सामान यहाँसम्म ल्याउँथे। कुटपिट गर्ने, हान्ने मार्ने गर्थे। उनीहरूको पनि तहतह हुने रहेछ। बदमासी गर्थे भन्ने सुनेको थिएँ, तर मैलेचाहिँ बदमासी गरेको थाहा पाइनँ। एउटी केटीको बारेमा हानाथाप भएपछि एकजना कर्मचारीलाई चुप्पी हानेर मारेको विषय उनलाई थाहा छ।
आफ्ना कुनै पनि गतिविधिबारे स्थानीयवासीलाई सूचना दिन्थेनन्। ‘हामीले सोध्दा यता जाने हो भने उनीहरू उता जान्थे। सोझो बोल्दैनथे’, उनी भन्छन्। गाउँलेसँग पैसा, खाद्यान्न सरसापट चलाउँथे। ‘गाउँले कसैसँग पैसा भएन भने सापट दिन्थे तर कबोल गरेको समयमा तिर्नै पर्थ्यो’, उनले भने। खम्पा यहाँ बस्दा गाउँलेले महँगीको मार खेप्नु परेको थियो। ‘उनीहरूसँग त पैसा प्रशस्त हुने रहेछ। मकै, गहुँ, करु महँगोमा किनिदिन्थे। त्यसको मार हामी गाउँलेलाई पर्यो’, थप्छन्, ‘हाम्रो नेपालमा बसेपछि हाम्रै रीतिथिति मान्नु पर्थ्यो। नेपालकै ऐनकानुनमा बस्नुपर्थ्यो। तर उनीहरू कहाँको मान्नु ? मान्दैनथे।’
धर्मशालामा बसेका दलाई लामाको भूमिका दोहोरो थियो, धार्मिक र राजनीतिक। आफूहरू धार्मिक रूपमा दलाई लामालाई देउता मान्ने तर राजनीतिक रूपमा नमान्ने तेञ्जिनको भनाइ छ। यस भेगका हरेकको घरको मूल कोठामा दलाई लामाको तस्बिर हुने गर्छ। उनको तस्बिरमा धुप बाल्ने र आशीर्वाद लिने गर्छन्। ‘हामीहरू मिलेसम्म बर्सेनि दलाई लामाको जन्मदिनमा धर्मशाला जान्छौं। उहाँको आशीर्वाद लिन्छौं। उहाँ काटमार नगर्नू, झुटो नबोल्नू, नराम्रो काम नगर्नू मात्र भन्नुहुन्छ। राजनीतिक कुरा हामीसँग गर्दा पनि गर्नु हुन्न। गरे पनि हामी मान्दैनौं’, सांगेदोेर्जे भन्छन्।
खम्पा विद्रोहीको नेपालको राजधानी मुस्ताङ थियो। उनीहरूका सर्वोच्च कमान्डर वाङ्दी त्यहीँ बस्थे। चुम भ्यालीमा बस्ने खम्पाहरू अलि उग्र थिए। त्यति बेला चुम भ्याली धादिङ जिल्लाको क्षेत्र पर्थ्यो। नीलेका प्रमुख लामा हिसे घ्याम्जोका अनुसार केही खम्पा विद्रोही र धेरैजना तिब्बती शरणार्थी चुम उपत्यकामा बस्थे। खम्पा विद्रोहीले स्थानीयवासीलाई सास्ती दिन्थे। ‘कतिजना थिए कुन्नि, ठ्याक्कै त भन्न सक्दिनँ। त्यस्तै ३५÷४० जना जति खम्पा यहाँ बस्थे। एक हिसाबले उनीहरू गुण्डाजस्तै हुन्’, उनी सम्झन्छन्, ‘तिब्बत जान्थे। बाख्रा, च्यांग्राको हुलहुल लुटेर ल्याउँथे। अनि अन्नहरू पनि त्यसरी नै लुटेर ल्याउँथे।’
चुम उपत्यका सय वर्षभन्दा अघिदेखि नै हिंसारहित क्षेत्र हो। तर खम्पाहरूले स्थानीय नीतिनियम उल्लंघन गरी उपत्यकाभित्र काटमार गरे। यसका कारण स्थानीयवासी हैरान भए। ‘गाउँमा मिटिङ बसेर राजेन गुम्बाका डुक्पा रिम्पोक्षेले हाम्रो क्षेत्रभित्र काटमार नगर, आनी, छोरीबुहारी नबिगार भनेर धेरैपटक हात जोडेर भन्नुभयो। त्यसपछि आनीहरू तानेर लान छोडे, तर काटमार गर्न छाडेनन्। अनि खम्पाले हाम्रो नीतिनियम बिगारे भनेर काठमाडौं गएर श्री ५ लाई पनि गुनासो गर्यौं। त्यसपछि यहाँ काटमार गर्न त छाडे, तर तिब्बततिरै काटेर मासु मात्र ल्याउन थाले। चुम्लिङतिर लगेर काटमार गरेर मासु ल्याएर खान थाले’, उनी भन्छन्। त्यसो गर्न पनि पाइँदैन भनेर स्थानीयवासीले भने पनि केही सीप लागेन।
एकपटक जनमुक्ति सेना चढेको गाडीलाई खम्पाले गोली हाने र नष्ट गरे। धेरै जनधन नष्ट गरी फेरि चुम उपत्यका आएर ज्यान बचाएको घटना हिसे सुनाउँछन्। धेरैपछि छेकम्पारमा प्रहरी चौकी आयो। त्यसपछि खम्पाको गतिविधि मत्थर हुँदै गयो। ‘खम्पाहरू पहिला त चारजना आएका थिए। पछि धेरै आए’, ८६ वर्षीय छिरिङफुञ्जो लामा भन्छन्, ‘धेरैजसो खम्पाहरू लामागाउँभन्दा पारि चौरमा बसे। कोही ङाक्युको पारि च्याप्के नाङ्मा भन्ने ठाउँमा बसे। पाल टाँगेर बसेकाले छाडेका अहिले केही दसीप्रमाण छैन। विस्थापित भएर तिब्बतीहरू पनि धेरै आए। खान पाएनन्। यहाँ आएकाहरूले गाउँलेसँग मिलेर काम गरे। खाने र बस्ने व्यवस्था गरे।’
एक समूह छेकमको झ्याङ्जुको घरमा बसेका थिए। जाने बेला ङादार नोर्बुलाई दुईवटा बन्दुक दिएर गए। जग्गाको विषयमा विवाद हुँदा ङादारले छेइङलाई सोही बन्दुक हानेर मारेका गाउँलेहरूमा सम्झना ताजै छ। खम्पाले दिएको दुःख सम्झँदै अर्का प्रमुख लामा पासाङ फुञ्जो भन्छन्, ‘हाम्रो ठाउँमा वन थोरै छ। त्यही पनि उनीहरू काट्थे।
जबर्जस्ती गाउँलेलाई रूख काट्न लगाएर तिब्बतमा बेचेर खाद्यान्न किनेर ल्याउन लगाउँथे। कतिपयले गाउँकै अन्न पनि किन्थे। अन्न किन्दा यस्तो अन्याय गर्थे कि भर्ने बेलामा तीन घ्वाक गहुँ भर्थे, पैसा दिने बेला दुई घ्वाकको मात्र पैसा दिन्थे। कसैले धेरै अन्न लगेर थोरै पैसा दियो भने अहिलेसम्म पनि ‘खम्पाको घ्वाक’ भन्ने चलन छ।’
खम्पाले त्यस बेला छोरीचेली पनि उधुमै बिगारे। अर्काले बिहे गरेका छोरीचेली पनि खम्पाहरूले लगे। राजेन गुम्बाका १२÷१५ जना आनीहरू पनि लगे। अहिले उनीहरू कोही काठमाडौंमा छन्। कोही भारतमा छन्।
उनीहरूका बच्चाबच्चीलाई अमेरिका, युरोपले सजिलै भिसा दिने रहेछ। जनमुक्ति सेनालाई जासुसी गरेको आरोपमा खम्पाहरूले ओर्केन छेवाङको काकालाई तेल खन्याएर मारेको स्थानीयवासीले बिर्सेका छैनन्। कुटपिट गरेर घरबाट खानेकुरा लिएर जाने, तिब्बतबाट ल्याएको भोटेकुकुर गाउँमा छाडा छाड्ने गाउँले सबै उपस्थित हुनुपर्ने वाङ (पूजा) मा, पाठपूजामा सामेल नभए गाउँको नियम उल्लंघन गर्ने गरेको गाउँलेको आरोप छ।
यसरी बिदा भए खम्पा
नेपालमा उत्तरतर्फ खम्पाको र दक्षिणतर्फ श्री ५ को सरकार छ भन्ने आरोप त्यति बेलाका सरकारको कानमा परिरहेको थियो। खम्पा शासनले गाउँले जनजीवन कष्टकर भएकोबारे राजासम्म जानकारी पुगेको थियो। चुमका बासिन्दाले खम्पाको ज्यादतीबारे तत्कालीन श्री ५ महेन्द्रको कानमा कुरा पुर्याइरहेका थिए।
तिब्बतमा सधैं वितण्डा मच्चाइरहने खम्पा विद्रोहीलाई संरक्षण नदिन चिनियाँ सरकारले बारम्बार दबाबपूर्ण अनुरोध र आग्रह गरिरहेको थियो, चेतावनी दिइरहेको थियो। चतुर राजा महेन्द्र युरोप र अमेरिकाबाट पनि विश्वास जितेका, चीनमैत्री, माओमैत्री पनि थिए। प्रधानमन्त्री कीर्तिनिधि विष्ट भने राजासँग अत्यन्तै बफादार र आज्ञापालक थिए। खम्पा विद्रोहीलाई हटाउनैपर्छ भन्ने निष्कर्षमा उनीहरू पुगेका थिए।
खम्पाहरूलाई निःशस्त्रीकरण गर्न सीमावर्ती जिल्ला प्रशासकहरूलाई आदेश थियो। आदेश पालना गर्ने क्रममा गोरखाका जिल्ला प्रहरी इन्चार्ज नेतृत्वको टोली अठार सय खोला (खोलाको नाम) प्रस्थान गर्यो। त्यो दिन थियो, २०३२ साल असार १४ गते। इन्स्पेक्टर गुञ्जबहादुर खत्री, एक हवल्दार र चार सिपाही गरी ६ जना टोली लार्केतर्फ हिँड्यो। हाल गोरखा नगरपालिका-६ छहरेनिवासी सिपाही टोपबहादुर पाठक पनि सोही टोलीमा थिए। उनीहरूको मुख्य लक्ष्य थियो, स्यालाको जंगलमा बसेका खम्पा विद्रोहीलाई निःशस्त्र बनाउने।
‘हामी यहाँबाट इन्स्पेक्टरको कमान्डमा एकचार (एक हवल्दार, चार सिपाही) गएका थियौं। हवल्दारसाप अर्घाखाँचीको हुनुहुन्थ्यो। हामी सिपाही कृष्णबहादुर थापा, मान्बुको मानबहादुर खड्का र म। ४० खम्पालाई लखेट्न सक्छौं भन्ने लागेको त थिएन। हामीसँग के थियो, त्यही एकेकवटा एसएलआर र सास राइफल मात्र। इन्स्पेक्टरसँग एउटा पेस्तोल थियो’, टोपबहादुर पाठक विगत साट्छन्, ‘उनीहरू ४० थिए, हामी ६। उनीहरू माथि जंगलमा थिए, हामी तलबाट गएका थियौं। गरौं भनेको भए त उनीहरूले जे गर्न पनि सक्थे।’
असारको बेला अठार सय खोला तर्दैतर्दै जान सजिलो थिएन। बाटो अहिलेको जस्तो पनि थिएन। बुटा समाउँदै, भर्याङ चढ्दै, भीरमा डोरी समाउँदै जानुपर्थ्यो। सातौं दिनमा उनीहरू सरासर स्यालाको खम्पा क्याम्प पुगे। ‘क्याम्पमा एउटा कुकुर थियो। त्यो कुकुरले हामीलाई झम्टियो। हामीले धपायौं’, पाठक चलचित्रका दृश्यजसरी वर्णन गर्छन्, ‘क्याम्पभित्र कोही थिएनन्। ठूलाठूला फल्याक ओछ्याएको रहेछ। बीचमा अँगेनु। फलेकमाथि राडी काम्लो ओछ्याएर बस्ने, सुत्ने गर्छन् भन्ने सुनेका थियौं। तर, त्यति बेला सबै थोक लगिसकेका रहेछन्, केही बाँकी थिएन। उनीहरूलाई नभेटेपछि हामी खोज्दैखोज्दै सामागाउँ र नौ दिनको दिनमा साम्दो पुग्यौं।
हामी त्यहाँ आउने सूचना पाएर अघिल्लै दिनमा क्याम्प छोडेर हिँडिसकेका रहेछन्। हामी आज पुग्यौं। उनीहरू हिजै साम्दोभन्दा माथि लार्केबाबुमा पाल टाँगेर बसेका रहेछन्। आज बिहानै त्यहाँबाट पनि उकालो लागे भन्ने सुनियो। उनीहरू गए पनि केही खम्पा महिला गाउँमै थिए। काखमा बच्चा थियो। उनीहरू लडाकु होइन, शरणार्थी रहेछन्।
उनीहरूलाई सम्झाइबुझाई निःशस्त्रीकरण गरेर नेपाल सरकारले खडा गरेको शिविरमा राख्ने वातावरण बनाउने जिम्मा पनि त्यति बेला प्रहरीकै थियो। तर ‘कुचो लगाउनै नपरी बतासले उडाइदिएको’ भन्दै उनले खुसी व्यक्त गरे।
असार १४ गते अठार सय खोला प्रस्थान गरेका प्रहरीको टोली मिसन पूरा गरी ठ्याक्कै एक महिनापछि साउन १४ गते गोरखा सदरमुकाम आइपुगेको थियो। तर दुर्भाग्य नै भन्नुपर्छ, त्यही रात गोरखनाथको मूर्ति चोरियो। सो मिसन टोली मूर्ति खोज्दै फेरि तात्तातै बन्दीपुर पुगेको थियो।