डढेलो
कुन लापरबाही औंलाहरूले
अम्मलको ठुटो
यो जोवनबाट सुकेर
झरिगएका पत्करहरू
यो शरीरबाट लाछिएर
खसिगएका हाँगाहरू
जब बल्न थाले
समातेर अहंको झिल्का
आगोको लप्काले घेरिएँ।
यो जमिन, मेरो जन्मभूमि
मेरा जरा गाडिएका छन् यहाँ
म उभिएको हुँला केवल
एक चिम्टी आकाशमा
तर फैलिएको छु
यही माटोको उपत्यकाभरि
उखेलेर यी सम्बन्धहरू
म भाग्न सक्दिनँ कहीँ।
सल्किए मेरा हातहरू
मेरा पाउहरू सल्किए
माथबाट सल्किँदा सल्किँदै
म जलिसकें छातीसम्मै
धुवाँले निलेका
हरिया सपनाका कसम
म मेरै अँगारबाट
टुसाउनेछु एक दिन !
उदास छ मेरो
आँखाको चञ्चल लोखर्के
जलिगएका आफ्ना
नानीहरू सम्झेर
मेरो काँधमा उफ्रने
बदमास वानर शिशु
खोजिरहेछु यो ठूटोभित्र
भर्खरै हराएको बालापन
कहाँ गए होलान् ?
अनुहारमा माया पोत्ने जोडी चखेवा !
मेरो छाती ठुँगेर
सताइरहने काठफोरुवा
मेरो मुटुमा घर बसाउने
छिरबिर वनपरेवा
कुन मरुभूमिमा होला
नकोक्याउँदै जीवन ?
रातभर बात मारेर नथाक्ने
झ्याउँकीरी थिए कण्ठभरि
मरे कि ज्यूँदै छन् खै
मरेतुल्य छु अचेल
साँझमा लाल्टिन बालेर
आउन छाडे जूनकीरी
अँध्यारो छ मेरो
सुनसान आँगन
सबेरै आत्मा ब्यूँझाउने
भजन गुनगुनाउने मौरी पनि
कुन छटपटीमा होला ?
न खरानी बनेर खसेको छ
मेरो फक्रिएको यौवन।
केवल तिम्रो
एक लापरबाहीले
निर्जीवतुल्य उभिएको छु
एक अँगारको ठुटो
र, सबथोक
हराइगएको छ मबाट।