माइतीजस्तै आइसोलेसन
धनगढी : भारतमा कोरोना महामारी बढेसँगै स्वदेश फर्किने नेपालीको लर्को लागेको थियो। तीमध्ये थुप्रै कोरोना संक्रमित पनि थिए। तर, सरकारी तवरबाट उनीहरूलाई राख्न उपयुक्त क्वारेन्टाइनको व्यवस्था थिएन। केही स्थानमा बनाइएको क्वारेन्टाइनमा पनि पुरुष र महिला सँगै बस्नुपर्ने अवस्था थियो।
त्यही बेला धनगढीस्थित वी पोलिक्लिनिक इन्स्टिच्युटले महिलालाई छुट्टै क्वारेन्टाइन सञ्चालन ग¥यो। त्यो क्वारेन्टाइन अझै सञ्चालनमा छ। त्यहाँ आश्रय लिएर ३ सयभन्दा बढी महिला घर फर्किएका छन्।
‘भारतबाट फर्किने महिला र बालबालिकालाई ध्यानमा राखेरै हामीले यस्तो क्वारेन्टाइन सञ्चालन गर्ने योजना बनाएका हौं’, इन्स्टिच्युटकी सञ्चालक हीरा भण्डारी भन्छिन्, ‘महिलाका फरक समस्या हुन्छन्। क्वारेन्टाइनमा महिला हिंसा र बलात्कारका घटना पनि सार्वजनिक हुन थाले। त्यसपछि स्थानीय तह, रेडक्रस, व्यवसायी सबै मिलेर यसलाई आइसोलेसनका रूपमा निरन्तरता दिइँदै आएको छ।’
इन्स्टिच्युटको आइसोलेसनमा १८ जना कोरोनाका बिरामी छन्। तीमध्ये ३ जना गर्भवती छन्। ‘गर्भवतीका लागि सेनेटरी प्याड, कपडा र अन्य सबै आवश्यक सामग्री उपलब्ध गराइएको छ’, आइसोलेसनकी व्यवस्थापक दिया विष्ट भन्छिन्।
महिला आइसोलेसनमा स्वास्थ्यकर्मी पनि महिला मात्रै छन्। जिल्ला प्रहरी कार्यालयले पनि सुरक्षाका लागि हरेक सिफ्टमा दुई–दुई जनाका दरले महिला प्रहरी खटाउने गरेको छ। नेपाल रेडक्रम सोसाइटीले दुईजना स्टाफ नर्स खटाएको छ।
‘महिला मात्रै भएकाले उनीहरू खुलेर आफ्नो समस्या भन्छन्। नाचगान रमाइलो पनि गर्छन्, लजाउँदैनन्। रमाइलो वातावरण भएकाले उनीहरूको आत्मबल पनि बढ्छ’, स्टाफ नर्स माया कुञ्जेडा भन्छिन्, ‘आत्मबल नै कोरोना जित्ने सबैभन्दा ठूलो हतियार पनि हो।’
महिला आइसोलेसनका लागि चाहिने सरसामान, खानेकुरा, तन्ना, कपडा, झुल, स्यानिटाइजर, मास्कसहितका सामग्री उपलब्ध गराउन १ दर्जन संघसंस्था दत्तचित्त भएर लागेका छन्। आइसोलेसनमा बस्ने महिला तथा बालबालिकालाई दिनमा २ पटक खाजा, २ पटक खाना र सातामा २ पटक मासु दिने गरिएको छ।
‘बिहान सबैलाई ७ बजेसम्म उठिसक्न भनेका छौं। त्यसपछि तातोपानी, घरेलु औषधि, बेसार पानी र गुर्जाे दिने गरेका छौं। केही बेर शारीरिक व्यायाम पनि गराइन्छ। आधा घण्टा घाममा बसाइन्छ’, व्यवस्थापक विष्ट भन्छिन्, ‘८ देखि साढे ८ बजेसम्म नास्ता, ११ बजे खाना, ३ बजे नास्ता र साँझ साढे ७ बजेसम्ममा खाना दिने गरेका छौं।’
आइसोलेसनमा खटिएको स्वास्थ्य टोलीले राति ११ बजे पालैपालो सबैसँग फोनमा कुरा गर्छन्। उनीहरूले कुनै समस्या छैन भनेपछि मात्रै स्वास्थ्यकर्मी सुत्छन्। ‘गीत गाउँछन्, हाँस्छन्, रमाइलो गर्छन्। खुल्ला चौर छ, धेरै रूखहरू भएको स्थान भएकाले पर्याप्त अक्सिजन पनि पाउँछन्’, स्टाफ नर्स कुञ्जेडा भन्छिन्, ‘महिला र बालबालिकाका लागि अरू स्थानीय तहले पनि यस्तै नमुना आइसोलेसन बनाउनु पर्छ।’