अस्पताल भर्ना भएका चार बिरामीसहित लमजुङका १७ जनामा संक्रमण
बेंसीसहर : लमजुङ सदरमुकाम बेंसीसहरस्थित जिल्ला सामुदायिक अस्पतालमा भर्ना भएका चार जना बिरामीसहित १७ जनामा कोरना संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेमा १० महिनाको बालिकासमेत छिन्।
सामुदायिक अस्पतालमा उपचाररत सर्जिकलका बिरामीमा कोरना संक्रमण भएको हो। तीन दिनअघि १४ दिनको शिशुमा समेत कोरना संक्रमण भएको थियो। सोही अस्पतालमा कोरना बिरामी राख्ने आइसोलेसन समेत रहेको छ।
आइसोलेसन भएको अस्पतालमा अन्य बिरामीको उपचार गराउँदा संक्रमण फैलिएको हो। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा शनिबार लमजुङका ९ जना पुरुष र ८ जना महिला गरी १७ जनामा कोरोना पोजिटिभ देखिएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार संक्रमित हुनेमा जिल्ला सामुदायिक अस्पताल लमजुङमा भर्ना भएका ३८ र ६२ वर्षीय पुरुष, २८ र ४५ वर्षीय महिला रहेका छन्।
यस्तै बेसीशहर नगरपालिका वडा नं. ९ का ४१ र ३४ वर्षीय पुरुष, बेसीशहर नगरपालिका वडा नं. ७ का ३०, ७५, ३७ वर्षीय पुरुष र १०, ३२, ६५, २३ वर्षीया महिला, बेसीशहर नगरापालिका वडा नं. ८ का २९, ४८ वर्षीय पुरुष र ४५, ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ६० पुगेका छ भने उपचारपछि घर फर्किएको संख्या १ सय २० पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।