मोडलिङमा ज्याज गायिका
काठमाडौं : नयाँ पुस्ताका युवा कलाकारितामा बढी नै आकर्षित हुन थालेका छन्। केहीले सपना पूरा गर्छन् भने धेरै क्षणिक संघर्षबाट हार खाएर पालायन हुन्छन्। मोडलिङमा प्रशस्त सम्भावना छन् तर त्यसलाई पहिल्याउन सक्नुपर्छ।
यही क्रममा मोडलिङलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचका साथ यो क्षेमा प्रवेश गरेकी गायिका तथा मोडल हुन्— सृष्टि लामा। विभिन्न स्टेज कार्यक्रममा कुशल गायन प्रतिभा प्रस्तुत गर्दै आइरहेकी सृष्टि विशेषतः म्युजिक भिडियोमा आफूलाई स्थापित गराउन चाहन्छिन्। आफ्नै स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेकी सृष्टिले टेक्सा ए एन्ड एम विश्वविद्यालय दोहाबाट मानव संसाधनमा स्नातक गरेकी छन्।
यिनले सांगीतिक ब्यान्ड इलाइटसँग आबद्ध रहेर ज्याज गीत गाउँदै आएकी छन्। सानै उमेरदेखि गायन, नृत्य र मोडलिङमा रुचि भएकी सृष्टि भविष्यमा कुशल मोडल तथा गायिकाका रूपमा चिनिन चाहन्छिन्। ‘मोडलिङ क्षेत्र आफैंमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउँछन्’, उनको बुझाइ छ, ‘गायन, अभिनय र नृत्य विधामा राम्रो सम्भावना बोकेका कलाकारले यसैको माध्यमबाट विभिन्न अवसर पनि पाइरहेका छन्। देशविदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन्।’ यसकै एक उदाहरण बनेकी छन् उनी।