उपचार अभावमा मृत्यु : ११ लाख जनसंख्यालाई २१ बेड आइसीयू, ६ भेन्टिलेटर मात्रै
भैरहवा :
घटना १
भदौ १७ गते बेलुका रुपन्देही सैनामैना नगरपालिका ११ की ७७ वर्षीया वृद्धालाई स्वास्थ्यमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइन् । उनीमा ज्वरो र निमोनिया देखिएपछि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भयो । उनलाई तत्काल आइसीयूमा राखेर आवश्यक परे भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने अवस्था थियो । तर, बुटवल र भैरहवाका दुवै कोभिड अस्पतालमा आईसीयू बेड खाली थिएनन् । आइसीयू बेडको अभावका कारण अस्पतालकै ज्वरो क्लिनिकमा महिलाको ‘कामचलाउ’ उपचार सुरु गरियो । अन्ततः भोलीपल्ट एकाबिहानै उपचारको अभावमा उनको मृत्यु भयो ।
घटना २
रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुष छतबाट लडेर घाइते भए । उपचारका लागि भैरहवा स्थित युनिर्भसल मेडिकल कलेजमा ल्याइयो । उनको टाउकोमा रगत जमेको थियो । उपचार अघि भदौ ५ गते कोरोना संक्रमणको परिक्षण गरियो । ८ गते रिपोर्ट पोजेटिभ आयो । मेडिकल कलेजले खासै उपचार नगरी चार दिनपछि सरकारी कोभिड भिम अस्पतालमा रिफर गरिदियो । जबकी विरामी उपचार भिममा सम्भव नै थिएन । बिरामीलाई आइसीयूमा राखेर न्युरो चिक्तिसकले उपचार गर्नुपर्ने थियो । तर, भीम अस्पतालमा न त आईसियू थियो न न्यूरो चिक्तिसक नै । मेडिकल कलेजले रेफर गरेको केही घण्टामै उपचारको अभावमा विरामीको मृत्यु भयो ।
घटना ३
रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषलाई भदौ १४ गते स्वास्थ्य समस्या उत्पन्न भयो । उनी बिहान साढे चार बजे लुम्बिनी प्रादेशिक अस्पतालमा आए । उपचार अघि उनीमा कोरोना परिक्षण गरियो । रिपोर्ट पोजेटिभ आएपछि बेडको अभावमा उनलाई अस्पतालको ज्वरो क्लिनिकमै राखियो । मुटुको शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप लगायतका दिर्घरोगी रहेका उनलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर, कोभिड विशेष अस्पताल बुटवलमा आईसीयू बेडको अभावमा उनको उपचार हुन सकेन । र, उपचारको अभावमा त्यही दिन दिउँसो १२ बजे उनको मृत्यु भयो ।
कोरोना पुष्टि भइसकेपछि उपचारको अभावमा सर्वसाधरणले प्राण त्याग्न थालेको यी केही उदाहरणहरु हुन् । संक्रमित व्यक्ति मात्र नभई पीसीआर परीक्षणको नाममा गम्भीर अवस्थाका अन्य रोगले ग्रसित बिरामीको पनि उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ । रुपन्देहीमा संक्रमण र मृत्यु दरको ग्राफ उक्लिदै गएपनि नाम मात्रको निषेधाज्ञा लगाउने बाहेक कुनै ठोस काम भएको छैन ।
जिल्लामा निषेधाज्ञा लगाएर संक्रमणलाई नियन्त्रण गर्न चाहेपनि नियन्त्रण हुन सकेको छैन । अझै आइतबारबाट भदौ २८ गतेसम्म निषेधाज्ञा लगाएर रुपन्देहीका सम्पूर्ण व्यापार व्यवसाय संचालनको अनुमति दिइएको छ । यात्रुवाहक बस बाहेक लगभग सबै यातायातका साधन संचालनमा छ । खुल्ला सीमाबाट निर्वाध आवतजावत उस्तै छ । नियन्त्रणमा कसैले चासो देखाएको छैन । निकै सहज तरिक सीमावारपार गर्न सकिन्छ । दिनहुँ संक्रमित फेला परिरहेका छन् । प्रयाप्त ट्रेसिङ हुन सकेको छैन । समयमै ट्रेसिङ र परिीक्षण नहुँदा बिरामी गम्भीर अवस्थामा पुग्ने गरेका छन् ।
गम्भीर अवस्थाका बिरामीलाई मृत्युको मुखबाट जोगाउन आइसीयू र भेन्टिलेटरको आवश्यक पर्छ । तर, यी दुवैको अभावमा सर्वसाधरणले ज्यान गुमाउन थालेका छन् । संक्रमण फैलिएको महिनौ बितिसक्दा समेत तीनै तहको सरकारको तयारी अझै पुरा भएको छैन ।
संक्रमितको उपचारका लागि जिल्लामा दुई वटा कोभिड अस्पताल छन् । विशेष कोरोना अस्थाई अस्पताल बुटवलमा संक्रमितको उपचारका लागि ३६ वटा बेड मात्र छ । जसमध्ये १६ वटा आईसियू बेड र ५ वटा भेन्टिलेटर मात्र छ । त्यस्तै भैरहवा कोरोना भीम अस्पतालमा कुल २७ वटा बेड छ । जसमध्ये ५ वटा मात्र आइसीयू बेड र एउटा मात्र भेन्टिलेटर छ । जुन दुवै अस्पतालमा निकै कम हो । संक्रमितको चाप बढ्दै गएको अवस्थामा पनि अस्पतालको पूर्वाधार उही छ ।
करिब ११ लाख जनसंख्या भएको रुपन्देही जिल्लामा दुई कोभिड अस्पतालमा २१ वटा मात्र आईसीयू बेड र ६ वटा भेन्टिलेटर छन् । जुन निकै न्यून हो । रुपन्देहीमा एकसाथ ६ गम्भिर संक्रमितलाई मात्र भेन्टिलेटरमा उपचार गर्न सकिन्छ । यो संख्या भन्दा बढी गम्भिर संक्रमित फेला परे आइसीयू र भेन्टिलेटरको अभावमा मृत्यु हुने सम्भावना छ । न्यून मात्रामा रहेका आइसीयूका लगभग सबै बेड र भेन्टिलेर भरिएका हुन्छन् । नयाँ गम्भिर संक्रमितको उपचारका लागि बेड अभाव पर्छ । र, उसले ज्यान गुमाउनु पर्छ ।
'संक्रमित आउने जाने भएमा मेन्टेन भइराख्छ,' कोभिड भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले भने, 'तर, 'आइसीयू बेड र भेन्टिलेटर खाली नभएको अवस्थामा गम्भिर संक्रमित आएमा समस्या पर्छ ।'
उनले अस्पतालमा हाल भएको आइसीयू बेड र भेन्टिलेटर प्रयाप्त नभएको बताए । प्रदेश पाँचका स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले प्रदेशका चार वटै कोभिड अस्पतालको स्तरोन्नती गर्नका लागि काम अघि बढेको बताए ।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले रुपन्देही जिल्लाको बुटवल कोरोना अस्पतालमा आइसीयू १८, एचडि बेड २०, आइसोलेन वेड ३६ गरी कुल ७४ बेड रहने र भैरहवा कोभिड भीम अस्पतालमा आइसीयू ५, एचडि बेड १३, आइसोलेसन ९ गरी २७ बेड रहने निर्णय गरेको छ । जसको लागि जनशक्ति समेत नियुक्त गर्ने र बजेट समेत छुट्टाइएको छ । यस हिसाबले रुपन्देहीका दुई अस्पतालमा अब एकसाथ एक सय एक जना संक्रमितको मात्र उपभार सम्भव छ ।
आइसीयू, भेन्टिलेटर लगायतको अभावमा सर्वसाधरणहरुले ज्यान गुमाइसकेको पछि प्रदेस सरकारले कोभिड अस्पतालहरुलाई आवश्यक सम्पूर्ण पूर्वाधारहरुले पूर्ण सुविधासम्पन्न नबनाइ ‘कामचलाउ’ स्तरोन्नती गर्ने निर्णय गरेको छ । फेरी उस्तै समस्याले अझै सर्वसाधरणले ज्यान गुमाएपछि प्रदेस सरकारले ‘अर्को किस्तामा’ फेरी थप स्तरोन्नती गर्ने मनस्थितीमा देखिएको छ ।
संक्रमण दरको बढ्दो ग्राफलाई मध्यनजर गर्दै यी दुवै अस्पतालका लागि यति प्रयाप्त छ त भन्ने प्रश्नमा प्रमुख गिरी भन्छन्– ‘लक्ष्ण भएका र गम्भिर संक्रमितलाई मात्र अस्पतालमा उपचार गर्ने हुदाँ अहिलेको अनुमानले प्रयाप्त छ ।’
तर, प्रदेश सरकारको चालाले कोभिड अस्पताल कहिले सम्म स्तरोन्नती हुने कुनै निश्चित छैन । किनभने यस अघि प्रदेस सरकारबाट संक्रमण फैलिसकेको अवस्थामा नै भैरहवा कोभिड अस्पतालमा ५ बेडको आइसीयू बनाउनका लागि समाजिक विकास मन्त्रीलाई नै खटाइएपनि पाँच महिनासम्म आइसीयू संचालनमा आउन सकेको थिएन । आइसीयूको अभावमा दुर्घटनामा परेका एक संक्रमितले ज्यान गुमाएपछि आइसीयू संचालनमा ल्याइएको थियो ।