खानेपानी माग्दै चरिकोटमा रित्तो गाग्री प्रदर्शन (तस्बिरसहित)
दोलखा : दोलखाको मेलुङ गाउँपालिका-४, भेड्पुका उपभोक्ताहरुद्वारा आइतबार सदरमुकाम चरिकोटमा खानेपानी माग्दै रित्तो गाग्री प्रदर्शन गरेका छन्।भेड्पुस्थित अरले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेपछि आइतबार स्थानीय करिब एकसय उपभोक्ताले चरिकोटमा रित्तो गाग्री प्रदर्शन गरेर विरोध गरेका हुन्।
सोही वडाका वडाध्यक्ष छत्रबहादुर तामाङसहितका उपभोक्ताहरुले रित्तो गाग्री, बाल्टिन, जर्किन सहित खानेपानी माग्दै विरोध प्रदर्शन गरेको उपभोक्ताहरुको भनाई छ। खानेपानीको बजेट तोकिएको ठाउँमा खर्च नगरे अर्को चरणको आन्दोलन गर्ने उपभोक्ताहरुको नारा थियो।
४ दिनदेखि उत्पन्न विवादका कारण उपभोक्ता समितिका अध्यक्षसहित ५ जना पक्राउ गरी मुद्धा चलाएपछि द्वन्द्व चर्किएको थियो। संघीय सरकारबाट सो खानेपानी आयोजनाको लागि तोकेर आएको ९० लाख बजेट गाउँपालिकाले अन्यन्त्र रकमान्तर गरेको विरोधमा ज्ञापनपत्र बुझाउन गएका उपभोक्ता समितिका अध्यक्षसहित ५ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो।
उपभोक्ताले गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेपछि चरिकोटदेखि गएको प्रहरीको टोलीले उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोलेसहित प्रविण थोकर, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई पक्राउ गरेको थियो। मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी जनप्रतिनिधिहरु र स्थानीयहरुलाई सर्वपक्षिय र सर्वदलिय रुपमा छलफल गरी वडासमिति र कार्यपालिकाको बैठकबाट कानुन सम्मत रुपमा उक्त आयोजना कार्यान्वयन गर्ने जनाएका छन्।
स्थानीय उपभोक्ता सहितको टोलीले आइतबार नै जिल्ला समन्वय समितिमा तोकिएकै स्थानमा खानपानीको बजेट कार्यान्वयन गराईदिन समन्वय प्रमुख डबल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन्। घटनाले राजनीतिक रुप लिँदा कांग्रेस दोलखाले आइतबार उपभोक्ताको समर्थनमा साँझ विरोध जुलुस समेत निकालेका थियो।