क्लिंकरमा परनिर्भर

क्लिंकरमा परनिर्भर

बुटवल : कोरोना महामारीको निहुँमा चुनढुंगा ढुवानीमा जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रतिबन्ध लगाउँदा क्लिंकर उद्योग बन्द भएका छन्। पाल्पा प्रशासनको अदुरदर्शी निर्णयले क्लिंकरमा आत्मनिर्भर रहेको मुलुक परनिर्भर बन्दै गएको हो।

स्वदेशमै क्लिंकर उत्पादन नभएपछि अर्बाैंको क्लिंकर भारतबाट आयात गर्नु परेको छ। आर्थिक वर्ष २०७६-७७ को वैशाखदेखि असार मसान्तसम्म मात्रै ९८ करोड ६९ लाख ६६ हजार मूल्यको एक लाख २२ हजार टन बराबर क्लिंकर आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। कोरोनाको महामारी रहेको भारतबाट निर्वाध ढुवानी हुँदा निकै कम संक्रमण भएको पाल्पाले उद्योग व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। प्रशासनको यो निर्णयलाई अदुरदर्शी भन्दै सर्वत्र आलोचना भएको छ। पाल्पामा चुनढुंगाका करिब एक दर्जन खानी छन्।

‘हामीले ढुवानी गर्ने चालकको पीसीआर परीक्षण गरेरमात्रै गाडी चलाउँछौ भन्दा पनि प्रशासनबाट सहयोग भएन, सर्वाेत्तम सिमेन्ट उद्योगका प्रमुख अशोकुमार ठाकुरले भने, ‘चुनढुंगा ढुवानी हुन नपाएकै कारण उद्योग बन्द गर्नुपरेको छ।’

एक हजारभन्दा बढी कोरोना संक्रमित रहेको रूपन्देहीमा उद्योग कलकारखाना, ढुवानी निर्वाध भइरहेको छ। तर, पाल्पाले भने ढुवानी गर्नसमेत प्रतिबन्ध लगाएको छ। पाल्पामा जम्मा १६ जना कोरोना संक्रमित छन्। प्रशासनले भने कोरोना हटस्पट भएजस्तै सर्वत्र प्रतिबन्ध लगाएको छ। प्रशासनको यो निर्णयले आर्थिक क्षेत्र चौपट भएको व्यवसायीले बताएका छन्।

‘उच्च जोखिम भए मात्रै जिल्ला शील गर्ने, उद्योग खोल्न प्रतिबन्ध लगाउने हो’, एक व्यवसायी रमण कार्की भन्छन्, ‘कोरोनाको कम जोखिम भएकै स्थानमा गैरजिम्मेवार निर्णय लिएर आर्थिक क्षेत्र धाराशयी बनाउनु हुँदैन।’

रूपन्देही, नवलपरासी क्षेत्रमा रहेका सिमेन्ट तथा क्लिंकर उद्योगमा पाल्पाको चुनढुंगा आउँछ। चैतदेखि नै ढुवानी प्रतिबन्ध हुँदा यहाँका सिमेन्ट उद्योगले करिब एक अर्बको क्लिंकर भारतबाट आयात गरेका छन्। आयात हुने क्रम बढ्दै गएको उद्योगीले बताएका छन्।

स्वदेशमै क्mिलंकर नपाउँदा उद्योगको उत्पादन क्षमतासमेत घटाउनु परेको रिलायन्स सिमेन्टका सञ्चालक हेमन्त अग्रवालले बताए। भारतबाट आयात गर्दा प्रतिटन तीन हजार रुपैयाँ बढी मूल्य पर्छ। यसले सिमेन्टको मूल्यसमेत बढाउने उद्योगीले बताएका छन्।

पाल्पाका विभिन्न खानीबाट सर्वाेत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट, पाल्पा सिमेन्ट, बुटवल सिमेन्टले क्लिंकर उत्पादनका लागि चुनढुंगा ल्याउने गर्छन्। अहिले यी सबै उद्योगमा चुनढुंगाको अभाव छ।

सर्वोत्तम सिमेन्टका प्रमुख ठाकुरले १२ सय र १८ सय टनका दुई प्लान्ट चलाउने कच्चा पदार्थ नहुँदा उद्योग बन्द गर्नुपरेको बताए। यी उद्योगले बर्खायामको उत्पादनका लागि फागुन, चैत, वैशाख र जेठमा चुनढुंगा ढुवानी गरी स्टक राख्छन्। अहिले चैतमा लकडाउन भएपछि उद्योगमा कच्चा पदार्थ सकिएको छ। ठाकुरका अनुसार ६०-७० हजार टन चुनढुंगा ढुवानी गरी स्टक नहुँदासम्म उद्योग सञ्चालन गर्न सकिँदैन। एक टन क्लिंकर उत्पादनका लागि एक दशमलव ६ टन चुनढुंगा आवश्यक पर्छ।

लुम्बिनी र नवलपरासी कोरिडोरमा रहेका उद्योगबाटै उत्पादित क्लिंकरबाट यस क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालन हुँदै आएका छन्। पछिल्ला वर्षमा क्लिंकर आयात शून्यमा झर्दै थियो। तर, लकडाउनपछि आयात बढ्दै गएको छ। पछिल्लो १५ दिन पाल्पा प्रशासनले गरेको निर्णयले उद्योग बन्द नै भएका हुन्।

लुम्बिनी कोरिडोरमा मात्रै साना ठूला गरी ११ वटा सिमेन्ट उद्योग छन्। यी सिमेन्ट उद्योगले अहिले भारतबाट क्लिंकर ल्याउन रकम पठाउन थालेका छन्। भारतबाट आयात गर्दा सिमेन्टमा २५ प्रतिशतसम्म मूल्यवृद्घि हुन सक्ने सिमेन्ट उत्पादक संघले बताएको छ। ‘कच्चा पदार्थको अभावमा क्लिंकर आयातमा भर पर्दा सिमेन्ट उत्पादन समेत छट्नेछ भने मूल्य समेत वृद्घि हुनेछ, केही समयअघि विज्ञप्ति निकाल्दै संघले भनेको छ।

‘सरकारले लकडाउन अवधिभर चुनढुंगा उत्खनन् गर्न दिएन। खानी उत्खनन् गर्न नपाएपछि यहाँ क्लिंकर उत्पादन गर्ने उद्योगले आपूर्ति गर्न सकेनन्’, पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालले भने, ‘जसले गर्दा अहिले भारतबाट क्लिंकर आयात गर्नु परिरहेको छ।’

क्लिंकर विदेश निर्यात गर्न सक्ने अवस्थामा पुगेका यहाँका उद्योगलाई सरकारले उल्टै भारतबाट आयात गर्न बाध्य बनाएको छ। भैरहवा भन्सार कार्यालयका अनुसार लकडाउनयता क्लिंकर आयातमा ह्वात्तै वृद्घि भएको छ। वैशाखसम्म शून्य आयात रहेको क्लिंकर वैशाखदेखि ह्वात्तै आयात हुन थालेको हो। आर्थिक वर्ष २०७६÷७७ को वैशाखदेखि असार मसान्तसम्म मात्रै ९८ करोड ६९ लाख ६६ हजार मूल्यको एक लाख २२ हजार टन बराबर क्लिंकर आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। त्यसयताको डेढ महिनामा पनि क्लिंकर आयात तीव्र बढेको छ।

रूपन्देही, कपिलवस्तु र नवलपरासीका सिमेन्ट उद्योगबाट मुलुकभरको ४० प्रतिशत सिमेन्ट उत्पादन हुन्छ। मुलुकमा २१ क्लिंकर उत्पादन गर्ने उद्योग र ६१ वटा सिमेन्ट कारखाना छन्। पछिल्लो समय नवलपरासी, रूपन्देहीमा सिमेन्ट उद्योग थपिँदै गएका छन्। दैनिक उत्पादन क्षमतासमेत दोब्बर बनाउँदै लगेका छन्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.