सेतीमा प्लाज्मा थेरापीबाट उपचार
धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी पद्धतिबाट उपचार सुरु भएको छ। धनगढी उपमहानगरपालिका—५ की ५७ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा आइतबार प्लाज्मा थेरापी भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भदौ १९ गते अस्पताल भर्ना भएकी महिलाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले प्लाजा दानका लागि आह्वान गरेका थिए। कैलाली फूलबारीका २२ वर्षीय युवकले ती महिलालाई प्लाज्मा दान दिएका हुन्। कोरोना संक्रमणपश्चात् भएर निको भइसकेका व्यक्ति पूर्ण निको भएको १४ दिनपछि रगत निकालेर त्यसबाट प्लाज्मा तयार पारी बिरामीलाई रगत चढाएझैं चढाउने गरिन्छ।
कोरोनाका बिरामीले रगत दिएपछि कम्तीमा ६ घण्टा प्लाज्मा तयार पार्न समय लाग्ने गर्दछ। कोरोना निको भएका व्यक्तिको रगतमा एन्टिबडी बनिसकेको हुनाले, रगतको प्लाज्माले गम्भीर प्रकृतिका बिरामीको शरीरमा पनि एन्टिबडी बन्न मद्दत गर्ने भएकाले बिरामी निको हुने सम्भावना रहेको चिकित्सकले बताए।
सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर र डा. अशोक चौधरीको टिमले महिलाको प्लाज्मा थेरापी गरेका हुन्। ती महिलासहित पाँच जना स्थानीयमा संक्रमण भएको छ। परिवारका अन्य सदस्य भने सामान्य छन्। सेती प्रादेशिक अस्पतालमा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापीको अनुसन्धान पनि गरिरहेको छ। ‘नेपालका धेरै अस्पतालमा जस्तै सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीको अनुसन्धानात्मक उपचार सुरु गरेका छौं’ वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले भने। विश्वका अन्य धेरै देशमा गरिएको प्लाज्मा थेरापीको अनुसन्धानमा ५० देखि ६० प्रतिशत बिरामी यो थेरापीबाट निको भएको तथ्यांक रहेको उनले बताए।
कोरोना निको भएका जोसुकै बिरामीले प्लाज्मा दान गर्न मिल्दैन। प्लाज्मा दान गर्नका लागि कम्तीमा १४ दिनसम्म लक्षण मुक्त भएको हुनुपर्छ। दानकर्ताले आफूलाई स्वस्थ्य महसुस गर्नुपर्छ। रक्तदानका मापदण्ड पूरा भई प्लाज्मा दाताको उमेर १८ वर्ष पूरा भएको हुनुपर्छ।