रोग, भोक र सरकार !

रोग, भोक र सरकार !

हिजो मध्यान्ह कोठामा अखबार पढ्दै थिएँ। सहयोगी कोठामा काम गर्दै थिइन्। अचानक उनले मौनता भंग गर्दै भनिन्— सायद यो वर्ष मर्छु होला म। उनको वाक्यांशले झस्किएँ। अखबारबाट ध्यान हटाएर उनको अनुहारमा आँखा पुर्‍याउँदै सोधें— किन त्यसो भनेकी। निराश र थकित स्वरमा भन्न थालिन्— कोरोनाको संक्रमण दिनदिन बढेको बढ्यै छ। मान्छेहरू पनि धमाधम मर्न थाले। कुनै दिन आफू पनि मर्छु झैं लाग्दैछ। उनको बोलीमा नैराश्य थियो।

देशको ६१ पहुँचवालालाई छाडेर बाँकी सबै देशवासीको अवस्था उनको भन्दा भिन्न छैन। आफ्नो सीप, शिक्षा, ज्ञान, इलम, क्षमता, बाउबाजेले जोडेको सम्पत्ति, जजसको जे–जेमा पहुँच छ, सबथोक लगाएर आर्जेको पेसा, व्यवसाय, जागिर सब कोरोना महामारीको भुमरीमा फसिसकेको छ। प्राइभेट कम्पनी, बैंक आदिमा काम गर्ने अधिकांशको पनि स्वेच्छिक अवकाश आदिका नामबाट बाँच्ने आधार गुमिसकेको छ। मर्न गाह्रो छ। तर बाँचेर त हेर, बाँच्न झन गाह्रो छ भने झैं भइरहेको छ अधिकांशको जीवन।

अस्तिभन्दा हिजो र हिजोभन्दा आज देशमा कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या हातेमालो गर्दै अगाडि बढेको बढ्यै छ। केही दिनयता देशका सबै जिल्लालाई उछिन्दै ५० लाखको हाराहारी जनसंख्या बसोवास गर्ने काठमाडौं उपत्यका कोरोना संक्रमितको थलो बन्दै गइरहेको छ। त्यसमाथि एकातिर देशमा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढ्दो छ भने अर्कातिर कोरोना जितेर घर फर्किनेहरूको संख्या उत्साहजनक छैन।

अहिले सार्क मुलुकमध्येमा नेपालमा कोरोना संक्रमितको निको हुने दर सबैभन्दा कम देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको निको हुने दर मात्र ५६.६६ प्रतिशत छ, जबकि श्रीलंकामा निको हुने दर ९४.८८ प्रतिशत छ। छिमेकी भारत जहाँ कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजारभन्दा माथि पुगिसकेको छ, त्यहाँ पनि निको हुने दर ७६.२१ प्रतिशत छ। नेपालका वीज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा लिएका छन्। एक विज्ञ त यसलाई मुलुकमा कोरोनासम्बन्धी गरिने खराब उपचार व्यवस्थाको परिणाम ठान्छन्।

लामो समयको अन्तरालमा केही दिनअगाडि दुइटा सुखद समाचार पढ्ने अवसर पाएँ। एक– अहिलेसम्म कोरोना भाइरस संक्रमित नभेटिएका १० वटा देशका नामावली। अनि अर्को, कोरोना भाइरसको संक्रमण सुरु भएको उद्गमस्थल वुहानका सम्पूर्ण विद्यालयमा यही मंगलबारदेखि पठनपाठन सुरु। वास्तवमा यो विश्वकै लागि पनि एक सुखद समाचार हो। यसले नैराश्यले जकडेका मनमा थोरै भए पनि आशा पलाउन सक्छ। तर नढाँटी भन्नुपर्दा मनको कतैै कुना नराम्रोसँग चिमोटिएको छ। भन्दै छ– अपराधी र पापीहरूले मेरो देशलाई हराइदिएको छ।

कोरोनाबाट बाँच्न त सकिएला सरकार ! तर भोकले मर्न लागियो भनेर गुहार मागिरहेका छन् जनता। सरकारले सुनेको छ कि छैन ? मरे पनि आफ्नै देशमा मर्छु भनेर मातृभूमि फर्किने नेपाली फेरि भोकमरीका कारण के खाने ?

चीनको वुहानमा १५ पुस २०७६ मा उत्पत्ति भएको कोरोनाले विस्तारै अन्य मुलुकमा पनि फैलिएर महामारीको रूप लिएपछि विश्व स्वास्थ्य संगठनको महानिर्देशकले १६ माघमा स्वास्थ्य अवस्था राम्रो नभएका देशहरू यस भाइरसबाट बढी जोखिममा पर्ने जानकारी गराउँदै विश्वव्यापी संकटकाल घोषणा गर्‍यो। तर चीन, अमेरिका, युरोपलगायत विश्वका धेरै विकसित देश पनि यस महामारीको चपेटामा आए। दिनहुँ लाखौं जनता संक्रमित भई हजारौंको संख्यामा मृत्यु हुन थाले।

तर संसारमा यस्तो परिस्थिति सृजना भइसक्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य अवस्था कमजोर भएको नेपाल महिनौंसम्म कोरोना कहरबाट मुक्त र सुरक्षित रह्यो। यो कुनै चमत्कारभन्दा कम थिएन। पहिले–पहिले पञ्चायतकालमा राजाले देशवासीका नाममा सम्बोधन गर्दा अन्त्यमा पशुपतिनाथले हामी सबैको कल्यान गरून् भनिन्थ्यो। मलाई कता–कता साँच्चै आफ्नो देशमाथि पशुपतिनाथको कृपा दृष्टि परेकै हो झैं लागेको थियो।

यो कस्तो संयोग हो ? चीनमा कोरोना संक्रमण फैलिएपछि त्यहाँ विद्यावारिधि गरिरहेका एक नेपाली विद्यार्थी पुस २९ गते नेपाल फर्किएछन्। त्यो समयसम्म विमानस्थलमा हेल्थ डेस्कको व्यवस्था भइसकेको पनि थिएन। नेपाल आएसँगै उनमा कोरोना भाइसरससँग मिल्दोजुल्दो ज्वरो, श्वास–प्रश्वासलगायतका लक्षण देखिन्छ। त्यसपछि उनी टेकुस्थित अस्पतालमा आएर भर्ना भए। अस्पतालले माघ ७ गते उनको रगत र र्‍यालको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको हङकङस्थित सेन्टरमा पठायो। उनी कोरोना संक्रमित भएको रिपोर्ट आयो। यो घटणाचक्रले ईश्वरले नेपाललाई कोरोना कहरबाट सजक हुन संकेत गरको हो कि भन्ने मलाई महसुस भएकै हो। तर सम्बन्धित निकायले यो केसलाई गम्भीरताका साथ लिएन। संक्रमितलाई पूर्ण उपचार नगरी चार दिनपछि डिस्चार्ज गरे। गल्तीका साथै अपराधको श्रीगणेश त्यहींबाट भयो।

यो घटनापश्चात् पनि लामो समयसम्म नेपाल कोरोनाबाट सुरक्षित रह्यो। म यसलाई ईश्वरले नेपालीलाई दिएको दोस्रो मौका ठान्छु। हामीले कोरोनाविरुद्ध लड्नका लागि यथेष्ट समय पाएकै हौं, जुन अन्य देशलाई यस्तो अवसर उपलब्ध थिएन। त्यो समयमा संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारले सम्बन्धित क्षेत्र, स्वास्थ्यकर्मी, समाजसेवी, दाता र प्रतिपक्ष दलहरू सबैलाई समेटेर एकजुट भई सबै प्रदेशमा व्यवस्थित कोराइनटाइनहरूको निर्माण, पर्याप्त स्वास्थ्य सामग्रीको जोह, दक्ष स्वास्थ्यकर्मीको पहिचान तथा प्रशिक्षण, विज्ञ समूहको निर्माण आदि कार्यमा जुट्न सक्थ्यौं।

तर भ्रष्ट सरकार, राज्यसंयन्त्र, कर्मचारी तथा व्यापारी यो प्राप्त भएको समयलाई आफ्नो निहित स्वार्थपूर्ति गर्ने धन्दामा लगाए र जनतालाई अलमल्याउन अनेक नाटक मञ्चन गर्दै हिँडे। नाटकका प्रमुख पात्रका रूपमा भने स्वयं प्रधानमन्त्रीले भूमिका निभाए। उनीले कोरोनाविज्ञका रूपमा राष्ट्रियसभा, प्रतिनिधिसभा, मुख्यमन्त्री र जनतासामु शृंखलाबद्ध नाटक मञ्चन गरिरहे। सर्वसाधारण जनता उनको उदेकलाग्दो हास्यास्पद संवाद चुपचाप सुन्दै बसे।

एकपछि अर्को गल्ती गरेको गर्‍यै छ। आफ्नो गल्तीबाट पाठ कहिले सिक्ने हो सरकार ? आरडीटी टेस्ट गलत हो, यसबाट गरिने परीक्षण रोक्नुपर्छ भनेर जनसागर सडकमा उर्लिए। उल्टै प्रहरीद्वारा उनीहरूमाथि हातपात गराइयो। प्रहरी भ्यानमा कोचेर थुन्न लगियो। यसका लागि इनफ इज इनफ समूह आवरण अनशनसमेत बसे। उल्टै उनीहरूमाथि ज्यादती गरियो। गलत परीक्षणको परिणाम आज देश कोरोना संक्रमणबाट ग्रसित छ।

अहिले फेरि एकाएक हरेक अस्पतालमा २० प्रतिशत शय्या कोरोना संक्रमणका लागि अनिवार्य छुट्ट्याउनुपर्ने, नमान्नेलाई कारबाही गर्ने उर्दी जारी भएको छ। परिणाम आज अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायत त्यहाँ कार्यरत कर्मचारीसमेत कोरोना संक्रमित भई ओपीडी र अस्पतालका सेवाहरू सिल्ड हुन थालेका छन्। यसको परिणाम कति भयावह हुने हो ? सोचेर पनि मेरो मुटु काँप्न थालेको छ। जसको परिवारमा मिर्गौला, क्यान्सर, मुटु आदि अतिरोग भएका बिरामी छन् त्यस परिवारलाई कति चिन्ता लाग्यो होला ? बिरामी स्वयंको मनको अवस्था के भइरहेको होला ? सोचनीय छ।

आज देश संकटको भुमरीमा चुर्लुम्म डुडिसकेको छ। जनता लकडाउन र निषेधाज्ञाजस्ता कठोर नियम–कानुनले तारतार भइसकेका छन्। आफ्नो रगतपसिना बगाएर परिवार पाल्ने मेहनती पुरुषमहिला काम नपाएर परिवारको भोक शान्त गर्न आज कहाँ कसले खाना बाँडेको छ भनेर दिनभरि सडकमा भौंतारिएर हिँडिरहेका छन्।

कोरोनाबाट बाँच्न त सकिएला सरकार ! तर भोकले मर्न लागियो भनेर गुहार मागिरहेका छन् जनता। सरकारले सुनेको छ कि छैन ? मरे पनि आफ्नै देशमा मर्छु भनेर मातृभूमि फर्किने नेपाली फेरि भोकमरीका कारण के खाने ? मरे उतै मरौंला भनेर देश छाडेर हिँड्न थालेका छन्। देखेको छ कि छैन सरकार ?

अन्त्यमा यही भन्न चाहन्छु— सरकार ! अब त अति असह्य भो। इनफ इज इनफ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.