भक्तपुरको सूर्यविनायक नपाले चलायो घुम्ती स्वाब संकलन बुथ

भक्तपुरको सूर्यविनायक नपाले चलायो घुम्ती स्वाब संकलन बुथ

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस संक्रमण परीक्षणको लागि स्वाब संकलन गर्न घुम्ती बुथ सञ्चालनमा ल्याएको छ। संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गर्ने उद्देश्यले उक्त घुम्ती बुथ सञ्चालनमा ल्याएको नपाले जनाएको छ।

नपाको स्वास्थ्य संयोजक एवं सूर्यविनायक नपा ८ का वडा अध्यक्ष किरण थापाले कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गर्न छिटो छरितो र सहज बनाउने उद्देश्यले उक्त घुम्ती बुथ सञ्चालनमा ल्याइएको स्पष्ट पारे। नपाले फोहरमैला संकलन गर्ने आफ्नै मिनिट्रकमा स्वाब संकलन बुथको व्यवस्थापन गरेको हो। जसमा एकपटकमा दुईजनाको स्वाब लिन सकिने व्यवस्था गरिएको छ।

‘घुम्ती बुथमा स्वाब संकलनको लागि स्वास्थ्यकर्मी र प्राविधिकसहित ६ जनाको टोली परिचालन भएका छौं’, संयोजक थापाले भने, ‘घुम्ती बुथ भएकाले आवश्यकताअनुसार जहाँसुकै तत्काल पुग्न सक्ने भएका छौं।’उनका अनुसार घुम्ती स्वाब बुथमा स्वास्थ्य संयोजक, नपाको स्वास्थ्य शाखा प्रमुख, दुई जना पारामेडिक्स र दुईजना ल्याब टेक्निसियन खटिएका छन्।

घुम्ती बुथ सञ्चालनमा ल्याएको पहिलो दिन आइतबार नै नपाका ७ वटा वडामा गएर ९६ जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए। उनका अनुसार आइतबार पहिलो दिन नपाको वडा नं. १, २, ३, ६, ८, ९ र १० वडाका संक्रमितहरुको सम्पर्कमा आएका ९६ जनाको स्वाब लिइएको हो। संयोजक थापाले पहिले संक्रमितको सम्पर्कमा आएकाहरुलाई सुरक्षित स्थानमा राखेर स्वाब संकलन गर्न ठाउँ व्यवस्थापन गर्नै समस्या भएको बताए। ‘पहिले प्रत्येक पटक स्वाब संकलनको लागि ठाउँ व्यवस्थापन गरिरहनुपर्ने झन्झट थियो’, उनले भने, ‘घुम्ती बुथ सञ्चालनमा ल्याएपछि त्यस्तो झन्झटबाट मुक्ति मिलेको छ।’

स्वाब लिन घुम्ती बुथ लानुअघि संक्रमितहरुको सम्पर्कमा आएकोहरुको रेकर्ड लिइने नपाको स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए। उनका अनुसार संक्रमण पुष्टि भएको २४ देखि ४८ घन्टाभित्र संक्रमितको सम्पर्कमा आएकोहरुको पहिचान गरिन्छ।‘संक्रमितको सम्पर्कमा आएकोहरुको रेकर्डको आधारमा ५ देखि १० दिनभित्र उहाँहरुलाई पायक परेको ठाउँमा घुम्ती बुथबाट स्वाब संकलन गर्छौं’, शाखा प्रमुख चापागाईंले भने।

उनले एकैपटक धेरै कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गर्न घुम्ती बुथ धेरै नै प्रभावकारी भएको प्रतिक्रिया दिए। यसले स्वाब लिने र दिने दुवै सुरक्षित हुने उनको भनाइ थियो। उनका अनुसार बुथबाट बालबालिका र अपांगता भएकाहरुको स्वाब लिन असहज भएकाले बुथको बाहिरैबाट संकलन गर्दै आएको छ।

३० प्रतिशत कन्ट्याक्ट ट्रेसिङमा संक्रमण

स्वास्थ्य शाखा प्रमुख चापागाईंका अनुसार सूर्यविनायक नपामा कन्ट्याक्ट टे«सिङमा परेका करिब ३० प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबारसम्म ५ सयभन्दा बढीको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएको उनले जानकारी दिए। जसमा करिब ३० प्रतिशतमा संक्रमण देखिएको उनको भनाइ थियो।

शाखाले संकलन गरेको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइँदै आएको उनले बताए। आइतबारसम्म सूर्यविनायक नपामा कोरोना भाइरस संक्रमितको संख्या एकसय ६५ जना पुगेको स्वास्थ्य शाखाको तथ्यांक रहेको छ। जसअनुसार ९३ जना पुरुष र ७२ जना महिला रहेका छन्। कोरोना भाइरस संक्रमितको संख्या बढी हुने भक्तपुरका चार नपामध्ये सूर्यविनायक नपा दोस्रो हो। मध्यपुर थिमि सबैभन्दा बढी संक्रमितको संख्या हुने नपा हो। यहाँ आइतबारसम्म संक्रमितको संख्या ३ सय ११ पुगेको छ।

३७ पुरुष र ३४ महिला गरी ७१ जना संक्रमितले कोरोना भाइरस संक्रमणलाई जितेको शाखाले जनाएको छ। सूर्यविनायक नपाका २ महिला र एक पुरुष गरी ३ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.