१२ वर्षसम्म मुक्त हलियाका समस्या ज्यूकात्यूँ
बैतडी : हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा भएपनि पुनस्र्थापनाको काम भने सम्पन्न हुन सकेको छैन् । सरकारले मुक्त घोषणा गरेको १२ वर्ष बिते पनि हलियाका समस्या अझै कहालिलाग्दा भएको राष्ट्रिय हलिया मुक्ति महासंघ नेपालका पूर्व केन्द्रिय अध्यक्ष राजुराम भुलले बताए । उनले भने,'हलिया मुक्त भइसकेपछि पनि उनीहरुका समस्या समाधान हुन सकेका छैनन् । अहिले पनि मुक्त हलियाहरु विभिन्न समस्या झेलिरहेका छन् ।'
२०६५ साल भाद्र २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषणा हुँदा सुदूपश्चिम र साविकको मध्यपश्चिमका १९ हजार ९६५ जना हलिया परिवार खुसी भएपनि अहिलेसम्म उनीहरुको पुनस्र्थापनाको काम सम्पन्न नहुँदा निराश भएका हुन् । अहिले पनि धेरै छुट मुक्त हलिया रहेका र उनीहरुले परिचय पत्र पाउन नसकेका भुलले बताए । अहिलेसम्म १६ हजार ९५९ जनाले मुक्त हलिया प्रमाण पत्र पाएका छन् ।
बैतडीमा पनि मुक्त हलियाका समस्या उस्तै रहेको जिल्ला हलिया मुक्ति समाजका उपाध्यक्ष जयराम लुहारले बताए । उनले भने, ' समस्या अझै पेचिला छन् । उनीहरुका मुद्दा सम्बोधन हुन सकेका छैन् । छुट मुक्त हलियाहरुले परिचयपत्र पाउन सकेका छैनन् ।'
बैतडीमा २ हजार २२ जना मुक्त हलिया भएपनि १ हजार ५४४ जनाले मात्रै परिचय पत्र पाएका छन् । परिचय पत्र पाएकाहरुले मात्रै सरकारी कार्यक्रमको लाभ लिएको भएपनि छुट मुक्त हलियाहरुले अहिले पनि समस्या झेल्नुपरेको महासंघका पूर्व अध्यक्ष भुलले बताए । उनले भने, 'सरकारले दिगो जिविकोपार्जनका कार्यक्रम ल्याउन नसक्दा मुक्त हलियाहरुले अहिले समस्यामा छन् । मुक्ति भएर मात्रै भएन उनीहरुलाई जिविकोपार्जनको आधार पनि चाहिन्छ ।’
मुक्त भइसकेपछि पनि परिचयपत्र नपाउनु दु:खद भएको मुक्त हलियाले बताए । आफूहरुले परिचयपत्र नपाउँदा सरकारी कार्यक्रमको लाभ लिन नपाएको हलिया हिरा महरले बताए । उनले भने, 'हामीलाई दैनिक छाक टार्नकै लागि समस्या भएको छ । हामीलाई जिविकोपार्जनका कार्यक्रम सरकारले ल्याउन सके राम्रो हुन्थ्यो ।'