मेयरले एक्लौटी गरेको भन्दै विशेष नगरसभा बोलाउन माग
सन्धिखर्क : नगर प्रमुखले छलफल नै नभएको विषय माइन्युटमा छिराएर एक्लोटी काम गर्न खोजेको भन्दै अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनप्रतिनिधिबीच विवाद चर्किएको छ । विवाद चर्किदै गएपछि पाँचजना वडा अध्यक्षसहित २० जना नगर सभा सदस्यले हस्ताक्षर संकलन गरेर नगर प्रमुखलाई विशेष नगरसभा बोलाउन माग गरेको नगरपालिकाका नगर उपप्रमुख खडानन्द वेल्वासेले बताए ।
नगरसभाका सदस्यको एक तिहाइ सदस्यले लिखित रुपमा विशेष नगर सभा वोलाउन पाउने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ बमोजिम भएको विशेष व्यवस्था बमोजिम नगरसभाका सदस्यहरुले नगरसभा बोलाउन माग गरेको नगर उपप्रमुख वेल्वासेले बताए ।
गएको आषढ ५ गतेको कार्यपालिकाको बैठक र १० गतेको नगर सभा बैठकमा संघिय सरकारबाट भुमिकास्थान नगरपालिका वडा नम्वर ५ असुरकोटको स्वास्थ्य चौकी भवन स्तरोन्नती तथा १५ सैयाको अस्पताल बनाउने योजनाका विषयमा निर्णय नै भएको थिएन । नगर उपप्रमुख वेल्वासेले भने माइन्युटको प्रस्ताव नम्वर २ मा उक्त योजना छेउमा पर्ने भन्दै वडा नम्वर ७ र ८ को विचमा १५ सैयाको अस्पताल बनाउने भनेर निर्णय भएछ । नगर प्रमुखले एक्लौटी रुपमा छलफलनै नभएका विषय माइन्युटमा छिराएको उनको आरोप छ ।
त्यती मात्र हैन गत असार ९ गते बसेको कार्यपालिकाको बैठकमा छलफल नै नभएको विषय करारका कर्मचारीको म्याद थप गर्ने निर्णय प्रस्ताव नम्बर ६ मा राखेर निर्णय गरिएको भुमिकास्थान नगरपालिका ४ का वडा अध्यक्ष तथा प्रवक्ता बाबुराम सुनारले बताए । उनले करारका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा कुनैपछि छलफल नभएको उनको भनाइ छ ।
नगर प्रमुखले बैठकको बिधि, मुल्य, मान्यता र परम्परा विपरित कागजात मिलाउने, विषयबस्तु तोडमोड गर्ने र नगर सभाको हवला दिँदै विभिन्न कामहरु अगाडि बढाएको भन्दै नगर प्रमुखको विरुद्धमा नगर उपप्रमुख खडानन्द वेल्वासे, वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता वावुराम सुनार, वडा नम्वर १ का वडा अध्यक्ष भोजराज खनाल, २ का वडा अध्यक्ष बुद्धिबहादुर थापा, ५ का वडा अध्यक्ष तुल्सीराम वेल्वासे, ६ का वडा अध्यक्ष झविलाल बन्जाडे सहित ३१ जना उत्रिएका छन् । नगर सभा बोलाउन माग गर्दा पनि नगर सभाको मिति नतोकेको उनीहरुको भनाइ छ ।
नगर सभाको बैठक र कार्यपालिकाको बैठकमा छलफल भएको विषय मात्र माइन्युटमा राखेर निर्णय गरिएको नगर प्रमुख रेशम थापाले बताएका छन् । आफूमाथि झुटो आरोप लगाएको उनको भनाइ छ ।
१० वटा वडा रहेको भुमिकास्थान नगरपालिकामा स्थानीय तहको निर्वाचनमा नगर प्रमुख तत्कालिन नेकपा माओवादी, उप प्रमुख नेपाली कांग्रेसले जितेको छ । १,२,४ र ५ नम्वर वडा राष्ट्रिय जनमोर्चाले, ७,८,९ र १० नम्वर वडामा अध्यक्ष तत्कालिन एमालेले, ६ नम्वर वडामा अध्यक्ष नेपाली कांग्रेसले र ३ नम्बर वडामा अध्यक्ष तत्कालिन नेकपा माओवादीले नितेको थियो । अहिले नगर प्रमुखको विपक्षमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा उभिएको छ । वर्तमान नेकपा नगर प्रमुखको पक्षमा छन् ।