निषेधाज्ञामा सिरुटारका दुई सय २० जनाले दिए रगत
भक्तपुर : रगत अभाव हुन नदिन भक्तपुर जिल्लामा टोलटोलमा रक्तदान अभियान जारी रहेको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको अगुवाइमा यहाँका चारैवटा नपाका ३८ वटा वडाका टोलटोलमा रक्तदान अभियान जारी रहेको हो ।
जसअनुसार सूर्यविनायक नगरपालिका १ सिरुटारका विभिन्न टोलटोलमा गरिएको रक्तदानमा २ सय २० जनाले रगत दिएका छन् । नेपाल रेडक्रस सोसाइटी सिरुटार उपशाखाले वडाका ८ वटा छुट्टाछुट्टै टोलमा फरक फरक दिनमा रक्तदान कार्यक्रम गरेको थियो । जसमा ३९ महिला र एकसय ८१ पुरुष गरी २ सय २० जनाले रगत दिएको भक्तपुर रेडक्रसका जिल्ला सदस्य सुरज मिश्रले जानकारी दिए ।
उनले रगतको माग अत्यधिक भएकाले भदौ २४ गते पुनः सिरुटारमै रक्तदान कार्यक्रम राखिएको बताए । टोलटोलमा गरिएको रक्तदानमा कोरोना भाइरस संक्रमण हुन नदिन सामाजिक एवं भौतिक दूरी कायम गरिएको उनको भनाइ थियो । त्यस्तै रगत लिन प्राविधिक सहयोग गर्ने भक्तपुर रेडक्रसको ब्लड बैंकका प्राविधिकहरुले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर जनस्वास्थ्य मापदण्ड पूरा गर्ने गरिएको सिरुटार रेडक्रसले जनाएको छ ।
भक्तपुर रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले भक्तपुरका चारैवटा नपाका टोलटोलमा रक्तदान अभियान सञ्चालन गरिएकाले यहाँ रगत अभाव नभएको बताए । 'टोलटोलमा रक्तदान अभियान सञ्चालन भएकाले दैनिक एकसय पिन्ट रगत संकलन हुँदै आएको छ,' उनले भने, 'यसले गर्दा भक्तपुर ब्लड बैंकमा रगत अभाव छैन ।'
उनका अनुसार काठमाडौं उपत्यकासँगै काभ्रेका अस्पतालबाट बिरामीका आफन्त भक्तपुरमा रगत लिन आउने गरेका छन् । भक्तपुर ब्लड बैंकले होल ब्लडसँगै रगतमा हुने प्लाज्मा, प्लेटलेट्स, क्रायो, आरबीसी र डब्ल्यूबीसीलगायत छुट्याएर दिने गर्दै आएको छ ।