स्याङ्जा अस्पतालमा हेमोडायलासिस सेवा सुरु
स्याङजा : कोरोना भाइरस संक्रमण फैलिरहेका बेला जिल्ला अस्पताल स्याङ्जाले हेमोडायलासिस सेवा सुरु गरेको छ। मृगौलासम्बन्धी रोगीलाई लक्षित गर्दे जिल्लामै पहिलो पटक सेवा सुरु गरिएको हो।
साउनको अन्तिम सातादेखि सुरु भएको मृगौला डायलायसिस सेवाबाट नियमित १० जना लाभान्वित भएका छन्। बढ्दो कोरोना संक्रमणले जारी बन्दाबन्दीकै अवस्थामा अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा संचालनमा ल्याएको हो।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४ वटा डायलायसिस मेसिन उपलब्ध गराएको हो भने अन्य औषधी लगायतका आवश्यक उपकरण अस्पतालले खरिद गरेको छ। अस्पतालले डायलायसिस् सेवा निशुल्क दिएको छ।
एक पटकमा ३ वटा मेसिनबाट ३ जनाको उपचार गरिन्छ । एउटा मेसिन एमर्जेन्सीमा छ । एकजनाको डायलायसिस गर्दा ३ देखि ४ चार घण्टासम्म लाग्छ । हेमोडायलासिस सेवा अस्पतालबाट पाउन थालेपछि मिर्गौला रोगीले राहत महसुस गरेको ६५ वर्षीय टिके विकले सुनाए । डायलायसिसका लागि साढे ४ वर्षदेखि पोखरा धाउनु पर्दाका दु:ख र खर्च धेरै भएको उनको भनाइ छ ।
'मृगौला रोगीले अस्पतालबाट सेवा पाउनुपर्ने माग गर्दे निवेदन गरेपछि अस्पतालले प्रदेशसंग समन्वय गरी सो सेवा उपलब्ध गराएको हो, 'अस्पताल प्रमुख डा. सुशिल मरासिनीले भने, 'अहिले १० जनाले नियमित सेवा लिइरहेका छन्।'
हेमोडायलायसिस गराउनेमा पुतलीबजार नगरपालिकाका ८ जना,वालिङ नगरपालिका र आँधीखोला गाउँपालिकाका एक/एक जना छन्। कहिले काही इमर्जेन्सी आउने गरेको डायलायसिसमा संलग्न स्टार्फ नर्स मुना रेग्मी भन्छिन्, 'नियमित सेवा हप्ताको २ पटक दिनुपर्छ । सेवा लिनेमा २ महिला सहित ८ जना पुरुष हुन् । डायलायसिस गर्नेमा ३२ देखि ६५ वर्ष उमेरका छन् ।'
कोरोनाका संक्रमण बढेसँगै लकडाउन र निषेधाज्ञा समेत पालना गर्दै डायलायसिसमा जान विभिन्न कठिनाइ भोग्दै आएका बिरामीलाई अस्पतालको ठूलो सहयोग पुगेको छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले बताए।
तालिम प्राप्त २ जना स्टाफ नर्सले दिनभर मृगौला रोगीको उपचारमा संलग्न हुन्छ । जिल्लामा मिर्गौला रोगी यति नै छन् भन्ने आधिकारिक तथ्यांक नभएको जनाउँदै तथ्यांक संकलनमा जुटिरहेको अस्पतालले जनाएको छ। विगत १० वर्षदेखि पोखरामा पुगेर हेमोडायलायसिस गर्ने पुतलीबजारका ३२ वर्षीय मन्जु शर्मा र उनका परिवार पनि जिल्लामा सेवा पाउँदा खुशी छन्।