कर्णालीमा ६० हजारले गुमाए रोजगारी, ८० प्रतिशतको संकटमा

कर्णालीमा ६० हजारले गुमाए रोजगारी, ८० प्रतिशतको संकटमा

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडाका लिलाराम विक हिजोआज तनावमा छन्। पाँच महिना भयो। उनले आम्दानीको बाटो गुमाएको। भारतको गुजरातमा रोजगारी गर्दै परिवारको खर्च टारेका थिए। तर कोरोना कहरपछि उनी गत बैशाखमा गाउँ फर्किए। त्यसयता उनलाई घरखर्च धान्नै हम्मेहम्मे भएको छ।

‘गुजरातमा होटमा काम गर्थेँ, सात जनाको परिवारलाई खर्च टरेकै थियो’ लिलारामले भने,‘कोरोनाले घर न घाटको बनायो, भएको जागिर छोडेर गाउँ आएँ। यहाँको खेतीले तीन महिना पनि पुग्दैन, भारत जाउँ भने कोरोनाले बाटो छेक्यो।’उनले कमाएको रकम पनि सकिएको भन्दै परिवार भोकै हुने अवस्था आएको दुखेसो पोखे। आफन्तसँग सापटी मागेर गुजरा चलाउनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ का मनवीर बुढा वुटवल र भैरहवातिर व्यापार गरेर गर्थे। झोलामा सामान बोकेर टोलटोलमा बिक्री गर्थे। त्यहीबाटै महिनामा ४० हजारसम्म कमाउँथे। तर कोरोनाको त्रासपछि घुम्न नपाएने भएपछि गत चैतमा नै उनी जुम्ला फर्किए। ‘कमाइकाज नै बन्द भयो’ उनले भने,‘व्यापार गर्न जाउँ भने कोरोना छ, घरमा बस्दा छट्पटी मात्र भइरहेको छ। खेती गरेको अन्नले बर्षभरी पुग्दैन, यस्तै अवस्था रहे कसरी छाक टार्ने होला ?’

दैलेखको आठविस नगरपालिका-१ सातलाका डम्मर नेपालीको पीडा पनि उस्तै छ। कोरोना महामारीअघि उनी भारतमा मजदुरी गर्थे। कोरोना महामारीसँगै उनी नेपाल फर्किए। गाउँमा रोजगारी नभएपछि उनलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ। ‘गाउँमा रोजगारी पाउँदैन, दिन कटाउनै गाह्रो हुन थाल्यो’ उनले भने, ‘कोरोना कहिले सकिएला र भारत जान पाइएला।’उनी कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित हुन्। प्रदेश सरकारका अनुसार कोरोना भाइरसको महामारीपछि कर्णालीमा हालसम्म ६० हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। मजदुरीका लागि कर्णालीबासीको मुख्य गन्तव्य भारत हो। भारतमा मजदुरी गरेर घरखर्च चलाउने अधिकांश परिवार अहिले बेखर्ची भएका छन्।

कोरोना त्रासपछि होटल, उद्योगधन्दा र स्कूल बन्द छन्। त्यहाँ कार्यरत अघिकांश मजदुरले हाल रोजगारी गुमाएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सुर्खेतमा मात्र १८ हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। यस्तै प्रदेशभर ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ। लामो सयमसम्म भएको लकडाउन र कोरोना महामारीका कारण उद्योग व्यवसाय बन्द हुँदा ८० प्रतिशतको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए। व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था नरहेको उनको भनाइ छ।

यसैबीच कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजगारी गुमाएका झण्डै डेढलाख नागरिकलाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको छ। कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। प्रदेश सरकारकार प्रवत्ता विमला केसीले चालु आर्थिक बर्षमा झण्डै डेढलाख युवालाई रोजगारी दिइने बताइन्। यसका लागि एककरोड मुनि बजेट खर्च हुने विकास निर्माणका योजनाहरु उपभोक्ता समितिबाटै गराउने सरकारको तयारी छ। ‘भोकमारी र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्’ प्रवत्ता केसीले भनिन्, ‘कृषि र विकासका क्षेत्रमा एकलाख ५० हजार नागरिकलाई रोजगारी दिन्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.