अस्पतालमै छैन स्वास्थ्य सुरक्षा मापदण्ड पालना
बेनी : कोरोना (भाइरस) को संक्रमण फैलिन नदिन बनाइएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा म्याग्दीमा जोखिम बढेको छ । साबुनपानीले हात हुने, मास्क लगाउने, भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, सकेसम्म घरभित्रै बस्ने आदि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा नागरिकको लापरबाही बढ्न थालेको छ ।
बेनी अस्पतालमा दैनिकजसो हुने भीड व्यवस्थापन र स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड पालना नुहँदा म्याग्दीको समुदायलाई कोरोना भाइरसबाट सुरक्षित बनाइराख्न चुनौति देखिएको छ । 'बिरामी र उनीहरुसँगै अस्पताल आउनेहरुको भीड व्यवस्थापन हुन सकेको छैन्, 'अस्पतालमा सेवा लिन गएका रामबहादुर पौडेलले भने, 'भौतिक दुरी कायम भएको छैन् । नजिक–नजिक टासीएर ठेलमठेल गरेर लाइन बस्नुपरेको छ ।'
विभिन्न ठाउँमा हात धुन साबुनपानीको ब्यवस्था गरिएपनि प्रयोगमा आएको छैन् । ओपिडि शाखाका कर्मचारीका अनुसार आइतबार २०६ जना र सोमबार १९० जना सेवाग्राही आएका थिए । नाम दर्ता, चेकजाँच गराउने र रिपोर्ट देखाउने समयमा मानिसहरुको भिड लाग्ने गरेको छ । अस्पताल व्यवस्थापन समितिले भिड ब्यवस्थापनका लागि टोकन प्रणाली सुरु गरेपनि प्रभावकारी देखिएको छैन् । टोकन दिएर माइकबाट नाम बोलाउने गरिएएको छ ।
सेवाग्राहीले भौतिक दुरि पालना नगरिदिदा समस्या भएको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । 'टोकन प्रणाली सुरु गरेका छौं, 'उनले भने , 'तर सेवाग्राहीले वास्ता गर्नुभएको छैन् । कन्ट्रोल गर्न समस्या भयो ।'
म्याग्दीमा हाल सम्म ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । खुल्ला मञ्चमा बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा एकजना मात्र संक्रमित छन् । ४८ जना निको भएर घर गएका छन् ।
अहिलेसम्म पहिचान भएका संक्रमित विदेशबाट आएर क्वारेन्टिनमा बसेका हुन् । पछिल्लो संक्रमित पोखराबाट सरुवा भएर आएका प्रहरी हुन् । हालसम्म एक हजार ३५० भन्दा बढी स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।