लद्दाख घटनामा चीनको आरोप : भारतीय सेनाले नै पहिले गोली चलायो
बेइजिङ : भारतसँगको विवादित सीमाक्षेत्र लद्दाखमा गोली प्रहार भएको बारे चीनले पनि मुख खोलेको छ । भारतीय सेनाले चीनलाई गोली प्रहार गरेको आरोप लगाएपछि चीन सरकारले विज्ञप्ति निकालेर उक्त आरोप अस्वीकार गरेको हो ।
चीनको विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सोमबार भारतीय सेनाले नै पहिले गोली चलाएको दावी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रिफिङको क्रममा अवैध रुपमा एलएसीमा भारतीय सैनिकहरुले चेतावनी दिनका लागि गोली चलाएको बताइन् । कमाण्डर तहमा कुराकानी भइरहँदा भारतीय सेनाले गोली चलाएको चिनियाँ दावी छ ।
चिनियाँ प्रवक्ताका अनुसार १९७५ पछि (४५ वर्षपछि) चीन र भारतको सीमाक्षेत्रमा पहिलो पटक गोली चलेको हो । तर चीनले दुई देशबीच मतभेदलाई शान्तिपूर्ण रुपमा कसटनीतिक तथा सैन्य वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताएको छ ।
भारतीय सेनाले भने यसअघि नै लद्दाखमा सोमबार भएको गोलीबारी चिनियाँ सेनाले पहिले गरेको दावी गरेको थियो । चिनियाँ सेनाले सीमाबाट पहिले भारततर्फ हवाइ फायरिङ गरेको भारतीय सेनाको दावी छ । साथै चिनियाँ सेनाले उत्तेजित बनाउने गतिविधि गरेको भारतीय दावी थियो। दुबैको आआफ्नै दावी आइरहँदा घटनाबारे विस्तृतमा स्वतन्त्र छानविन हुन सकेको छैन ।