जापानका पहरामा बुद्ध खेज्दै

जापानका पहरामा बुद्ध खेज्दै

मेरो सफलतामा रमाउने तिमी छौ

मेरो खुसीमा हराउने तिमी छौ।

हातमा छिना बोकेर चट्टानी पहरा फुटाउँदै गर्दा निस्कने टुकटुक आवाजमा एक प्रकारको संगीत भेट्छन् उनी। पहाड छोएर बहने हावाले पनि उनलाई ऊर्जा थपिरहन्छ। गीतका शब्दहरू मनमा लेखिरहन्छन्। गीतका शब्दहरूले भनेझैं उनको सफलतामा रमाउने हजारौं मन छन्। सम्पूर्ण देशले गर्व गर्नेछ उनको नाम अनि काममा।

गीत रचना गरेका हुन्, मञ्जुल मितेरीले। पेसाले व्यावसायिक मूर्तिकार। उनलाई ढुंगा फुटाउँदा फुटाउँदै गीत फुर्छ। रातदिन कडा चट्टानमा नेपाली इतिहास लेख्ने सपनामा लागिरहँदा कहिलेकाहीँ निराशा पनि छाउँछ। उनी गीत, गजल, कथा, कविता लेखेर मनको निराशा मेटाउँछन्। साहित्यले उनलाई ऊर्जा दिन्छ। दुखेको मनमा मल्हम लगाइदिन्छ।

कडा चट्टानमा मूर्ति कुँदेरै धेरै समय बिताए उनले। विगत चार वर्षदेखि उनीसँगै ६ जना नेपाली मूर्तिकारको टोली जापानमा छ। उनीहरूले ढुंगाको पहाडमा विश्वकै ठूलो बुद्धमूर्ति कुँदिरहेका छन्। बृहत् सांस्कृतिक तथा पर्यटकीय परियोजना पूरा गरेर नेपालको नाम राख्न मेहनत गरिरहेका छन्। मञ्जुल कहिले जिन्दगीलाई गीतकै उपमा लाइदिन्छन् त कहिले प्रीतको विशेषता टाँसिदिन्छन्। यसैले त भनेका छन्,

गीत हो भने यो जिन्दगी

आऊ सँगै सँगै गुन्गुनाऊ

प्रीत हो भने यो जिन्दगी

पिरतीको अमर धुन सुनाऊ।

नेपाली मूर्तिकारहरू मञ्जुल मितेरी, गणेश राई, सानुभाइ विश्वकर्मा र रामचन्द्र पण्डितको टोली सन् २०१६ मा जापानको कुमामोतो जिल्लाको खामिआमाकुसा पुग्यो। उनीहरू जापान जाने अवसर पाउँदा जति खुसी थिए, उति नै चिन्तित पनि। अवसरसँगै चुनौती थियो। जापानको ग्रामीण भेगमा रहेको उक्त ठाउँमा कालो रङको चट्टानै चट्टानको पहरा उभिएको थियो। यही पहरामा उनीहरू विशाल बुद्धमूर्ति कुँदिरहेका छन्। चारमध्ये सानुभाइ र रामचन्द्र गत साल नेपाल फर्किए भने जीवन पौडेल, रामकुमार राई, चतुरलाल राजवंशी र सुवास विश्वकर्मा थपिए। हाल ६ जनाको समूह दुई सय फिट चौडाइ र ७० फिट उचाइको चट्टानमा विशाल मूर्ति बनाउन जुटेको छ। करिब ७० प्रतिशत काम सकिइसकेको छ। अबको दुई वर्षमा उनीहरू एउटा पहाडलाई नै बुद्ध भूमिमा परिणत गरेर फर्कनेछन्।

मोरङवासी मञ्जुलले नेपाली मूर्तिकारको समूहको नेतृत्व गरिरहेका छन्। उनीहरूको एउटै सपना छ, विदेशमा नेपाली नाम र देश चम्काउने। उक्त परियोजना सकिएपछि मञ्जुललगायतका मूर्तिकारको नाम स्वर्ण अक्षरले लेखिनेछ। हजारौं वर्षसम्म उनीहरूको कामको चर्चा हुनेछ। नेपाली कलाकारको सम्मान हुनेछ। यही सपनामा उनीहरू रातदिन ढुंगासँग खेलिरहेका छन्।

मञ्जुलका अनुसार चट्टानको स्वभाव नै कडा हुनु हो। रातदिन काम गरिरहँदा एक खालको दिक्दारी पनि हुन्छ। तर आफ्नो कामसँगै देश चिनाउने सपनाले उनीहरूलाई अशान्त बनाउँछ। यसैले त आफ्नो देशभन्दा पर परिवारको माया छातीमा सजाएर जापानी ढुंगा फोरिरहेका छन् उनीहरू। साबेल, बेल्चा, छिनो, ड्रिल, ग्लान्डर मेसिन, मार्तल बोकेर हरेक बिहान ८ बजे पहरामा पुग्छन् उनीहरू। पहराभन्दा नौ किलोमिटर पर समूहमै बस्छन्।

भाषाको समस्याले उनीहरूले धेरै स्थानीयसँग कुरा गर्न त पाउँदैनन्। तर उनीहरूको  श्रम, सीप देखेर जापानीले निकै माया गर्छन्। बुद्ध जन्मिएको देशका कलाकार भनेर सम्मान गर्छन्। मञ्जुललाई यसैमा गौरव लाग्छ। संसारभर फैलिएको कोरोनाले मानिसहरू घरभित्रै बसिरहेका छन्। तर उनीहरूलाई यो डरले छोएको छैन। निरन्तर चट्टानसँग खेलिरहेका छन्। कहिले पहराको माथि डोरीमा झुन्डिएर मूर्ति कुँद्छन् त कहिले अग्लो पहराको टुप्पोमा चढेर ढुंगा टुक्य्राउँछन्।

कक्षा ६ पढ्दा अरनिकोको जीवनी पढ्ने बेलादेखि नै ढुंगासँग खेल्न थालेका हुन् मञ्जुल। अरनिकोले चीनमा गएर ख्याति कमाएको इतिहासले उनलाई पनि देशकै लागि काम गर्नुपर्छ भन्ने लाग्यो।

गाउँकै कौशिला राईसँग प्रेमविवाह गरेका मञ्जुलले नेपालमै पनि हजार मूर्तिको सपना बुनेका छन्। विश्वप्रसिद्ध हजार व्यक्तिको मूर्ति बनाएर सरकारलाई हस्तान्तरण गर्ने उनको महत्वाकांक्षी योजना छ। जापान जानुअघि उनले यही योजनामा काम गरिरहेका थिए। करिब एक ८० वटा मूर्ति बनाइसके। उनको मूर्तिकर्ममा  श्रीमतीले पनि सहयोग गर्छिन्। साहित्य लेखनमा पनि सक्रिय मञ्जुल गीत गाउँछन्, संगीत भर्छन् र मीठामीठा गीत लेख्छन्। आधा दर्जन गीत रेकर्ड भएर बजारमा पठाएका पनि छन्। यस्तै केही वर्षअघि उनले ‘अर्काको देशमा’ नामक कथासंग्रह पनि प्रकाशन गरेका थिए।

औपचारिक रूपमा मूर्तिकला पढ्न भने पाएनन् उनले। काम गर्दै सिक्दै गरेका हुन्। इन्टरनेटलाई नै सिक्ने माध्यम बनाए। जापानमा चट्टान फोरिरहँदा उनलाई इतिहासले सम्झने काम गरिरहेको छु भनेर खुसी मिल्छ। इतिहास बनाउनु सानो काम पनि त हैन नि।

मञ्जुलले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार पनि प्राप्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.