बझाङमा निषेधाज्ञा पाँच दिन थपियो
बझाङ : समुदायमा कोरना संक्रमण फैलँदै गएपछि एक हप्ताका लागि जिल्ला निषेधाज्ञा गरेको बझाङ जिल्लामा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भदौ ३० गतेसम्मका लागि निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
यसअघि भदौ १७ गतेबाट २५ गतेसम्म निषेधाज्ञा गरिएको थियो। 'केही न्युनीकरण हुन्छ कि भनेर हामीले सुरुमा एक हप्ताका लागि जिल्लामा निषेधाज्ञा गरेका थियौँ', प्रजिअ भण्डारीले भने, 'समुदायमा थप संक्रमित बढ्दै गएपछि ५ दिनका लागि निषेधाज्ञा बढाएको छौँ।'
जिल्लामा ४ सय ३६ जना संक्रमितमध्ये ३ सय ६२ जना निको भएर घर गएका छन्। ७४ जना अहिले आइसोलेसनमा छन्।