नेपाल-भारत सम्बन्धमा सुधारका संकेत

नेपाल-भारत सम्बन्धमा सुधारका संकेत

दुई देशबीचको सम्बन्धलाई थप बलियो र जिम्मेवारीपूर्ण बनाउन भारतले असल छिमेकीको व्यवहार गर्नुपर्छ।


सीमा विवादलाई लिएर बिग्रिएको नेपाल–भारत सम्बन्ध कसरी सुध्रिन्छ भन्ने सबैको कूतुहलताको विषय बनेको छ। प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल–भारतबीच कुनै विषयमा विवाद नहोस् भन्ने चाहन्छन्। तर बेलाबखत नेपाल–भारत सम्बन्धमा तिखा काँडा देखा पर्छन्। नेपालको राजनीतिक, आर्थिक, कूटनीतिकलगायत आन्तरिक मामिला चाहिनेभन्दा बढी चासो राख्नु र त्यसको मिहीन ढंगले व्यवस्थापन गर्न खोज्दा भारत धेरैपटक आलोचित भएको छ।

यस्तै चाहनाले बेलाबखत नेपाल–भारतमा सम्बन्धमा चिसोपन आएका उदाहरण प्रशस्त छन्। नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्छ भन्ने विषय अब लुकाउनु पर्दैन। त्यही भएर पनि नेपाली युवा पुस्ता भारतविरोधी छन्। नेपाली जनता आफ्नो मुलुकको आन्तरिक मामिलामा भारतबाट होस् वा चीन या त अन्य कुनै मुलुकले माइक्रो म्यानेजमेन्ट गरेको हेर्न चाहँदैनन्। भारतको आन्तरिक मामिलामा पनि अन्य मुलुकले माइक्रो म्यानेजमेन्ट गर्‍यो भने भारतीय नेता र युवा वर्ग त्यसको विरोधमा उत्रिन्छन्। कुनै पनि मुलुकका जनताले आफ्नो मुलुकको सार्वभौमिकता, अखण्डता र अन्य आन्तरिक मामिलामा बाह्यि हस्तक्षेप गरेको स्वीकार गर्दैनन्।

पछिल्लोपटक कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयलाई लिएर नेपाल र भारतबीच औपचारिक रूपमा संवाद बन्द भयो। भारतले गत नोभेम्बरमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्‍यो। त्यसको नेपाल सरकारले कूटनीतिक नोट पठाएर विरोध जनायो। त्यसपछि पनि नेपाल र भारतबीच संवाद चलिरहेकै थियो। वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने बाटो उद्घाटन गरे। नेपालले भारतको उक्त विवादास्पद कदमको विरोध गर्‍यो। त्यसपछि नेपालले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गर्‍यो। भारतले संविधान संशोधन गर्ने र नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा सार्वजनिक गर्ने प्रक्रिया रोक्न खोज्यो। तर नयाँ नक्सा सार्वजनिक गर्ने विषयमा राष्ट्रिय सहमति कायम भइसकेको अवस्थामा भारतको उक्त कदम विफल भयो। त्यसपछि औपचारिक रूपमा नेपाल–भारतबीचको संवाद रोकियो।

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले आफ्नो नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको समाचार सार्वजनिक भए। आफ्नो भूमिको रक्षा गर्न भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गर्दा अर्को मुलुक असन्तुष्ट हुन्छ भने त्यसमा टिप्पणी गर्न जरुरी थिएन। नेपालले रक्षात्मक ढंगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र अन्य फोरममा आफ्ना कुरा राख्यो। नेपाल अलिकति पनि विचलित भएन। अर्काको भूमिलाई नेपालीले कहिल्यै आफ्नो दाबी गर्दैनन्। अर्काको सम्पत्तिलाई आफ्नो दाबी गरेर मुद्दामामिला नगर्ने नेपालीको गज्जबको स्वाभिमान छ। सायद यो कुरा भारतले राम्ररी बुझेको छ। नेपाललाई भारतको एक इन्च पनि जमिन आवश्यक पर्दैन।

भारतले अतिक्रमण गरेका सबै भूभाग विनासर्त फिर्ता दिनुपर्छ। नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतीय विदेश सचिव र विदेशमन्त्रीले नेपाली समकक्षीहरूसँग कुरा गर्न चाहेका थिए। तर नेपालका परराष्ट्र सचिव र परराष्ट्रमन्त्रीले भारतीय समकक्षीसँग छलफल गर्न चाहेनन्। त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले समेत प्रधानमन्त्री केपी ओलीसँग टेलिफोनमा कुरा गर्न खोजे तर प्रधानमन्त्री ओलीले समय दिएनन्। बरु, प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागिपरेको सार्वजनिक अभिव्यक्ति दिए। सोही बेला पार्टीभित्र पनि विवाद देखियो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागे। तर प्रधानमन्त्री ओली टसको मस भएनन्। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले समेत प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। नेपाल र भारतबीच संवादहीनता झन् बढ्यो।

छिमेकीको घर सानो हुन सक्छ। छिमेकी गरिब हुन सक्छन्, तर उसको स्वाभिमान गरिब हुँदैन। यसकारण पनि भारतले नेपाललाई एउटा असल छिमेकीका रूपमा व्यवहार गर्नुपर्छ।

सोही बेला भारतीय सेनाध्यक्षले सीमाको विषयबारेमा विवादास्पद अभिव्यक्ति दिए। सीमाको विषयलाई लिएर भारतीय सेनाध्यक्षले नेपालबारे दिएको विवादास्पद टिप्पणीलाई भारत सरकारले फिर्ता लिन लगायो। प्रधानमन्त्री मोदीले सेनाध्यक्षको विवादास्पद अभिव्यक्तिलाई त्यहाँ तीन ठूला र प्रभावशाली मन्त्रीहरूलाई घुमाउरो पारामा सच्याउन लगाए। भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र सडक तथा परिवहनमन्त्री नितिन गडकरीले भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाइ खारेज मात्र गरेनन्, उनीहरूले नेपालसँगको सम्बन्ध विशेष रहेको व्याख्या गर्दै सबै समस्या वार्ताद्वारा समाधान गर्ने बताएका थिए।

नेपाल र भारतबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय स्वातन्त्रता दिवसको दिन साउन ३१ गते भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिए। त्यही प्रधानमन्त्री ओलीको टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गरिदियो। अहिले नेपाल र भारतका बीचमा स्थापित विभिन्न संयन्त्रहरूको बैठकको तयारी भइरहेको छ। भदौ १ मा नेपाल र भारत निगरानी संयन्त्रको बैठक बस्यो। नेपाल र भारतका सचिवस्तरीय बैठकको तयारी भइरहेको छ। नेपाल र भारत संयुक्त आयोग र बाउन्ड्री वर्किङ ग्रुपको बैठकको तयारी भइरहेको छ। नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रहरूको बैठकले दुई मुलुकबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ। दुवै मुलुकबाट उच्चस्तरीय भ्रमण र संवादको तयारी भइरहेको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको ऐतिहासिक दस्ताबेजहरूले पुष्टि गरेका छन्। भारत स्वयंलाई पनि राम्रोसँग थाहा छ कि कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालीको भूभाग हो भनेर।

नेपालको भूभाग हो भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री मोदीलाई के बाध्यता आइलाग्यो ती भूभाग समेटेर नया नक्सा जारी गर्न। प्रधानमन्त्री मोदीका ती बाध्यता इतिहासले कुनै दिन बताउला। तर वर्तमान अवस्थामा नेपाल र भारतबीच संवादको माध्यमबाट कालापानी क्षेत्रमा देखिएका विवाद समाधान गर्नुको अर्को विकल्प छैन। नेपालसँगको सम्बन्ध जति राम्रो भए पनि भारतले बेलाबखत हेपाहा र मिचाहा प्रवृत्ति देखाउने गरेको छ। भूगोल र संख्याको हिसाबले जति सानोठूलो भए पनि सार्वभौमिकता र अखण्डता सबैलाई प्यारो लाग्छ। जब देशको स्वाभिमानको प्रसंग आउँछ, त्यहाँ कुनै कुरामा कसैले सम्झौता गर्दैन। भारतले मिचाहा प्रवृत्ति देखाएर हैन, असल छिमिकी भएर नेपालसँगको सीमा विवाद टुंग्याउनुपर्छ।

पुरानै शैलीमा भारतले व्यवहार गर्‍यो भने नेपाल र भारत सम्बन्धमा नयाँपन आउँदैन। यसले पुरानै समस्या दोहोर्‍याउने खतारा बढ्छ। भारतीय सेनाहरू सीमा विवादलाई लिएर चिनियाँ र पाकिस्तानी सेनासँग दैनिकजसो भिडिरहेका हुन्छन्। त्यस्तो खालको परिस्थिति नेपाल र भारतबीच आएको छैन। र आउन दिनु पनि हुँदैन। पाकिस्तान र चीनसँगको जस्तो होइन, नेपाल र भारतबीचको सम्बन्ध। भारतले नेपाललाई एउटा असल छिमेकीका रूपमा व्यवहार गर्नुपर्छ। छिमेकीको घर सानो हुन सक्छ। छिमेकी गरिब हुन सक्छन्, तर उसको स्वाभिमान गरिब हुँदैन। कसैको स्वाभिमानलाई हेप्न र तिरस्कार गर्न थालियो भने ढिलोछिटो त्यसले सम्बन्धमा दूरगामी असर ल्याउन सक्छ।

नेपाल–भारत सम्बन्धमा देखिएको जटिलतालाई ध्यानमा राखेर हुन सक्छ भारतीय प्रधानमन्त्री मोदीले अहिले परिपक्क कूटनीतिज्ञ पठाएका छन्। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीसँग एकदमै निकट भएर काम गरेका छन्। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा केही दिनअघि नयाँदिल्ली पुगी नेपालको पछिल्लो राजनीतिक अवस्थाबारेमा त्यहाँका परराष्ट्र सचिव र परराष्ट्रमन्त्रीसँग घनीभुत छलफल गरे। राजदूत क्वात्रा प्रधानमन्त्री मोदीका विश्वासिला पात्र भएकाले दिल्ली बसाइका क्रममा उनले प्रधानमन्त्री मोदीलाई समेत नेपालबारेमा ब्रिफिङ गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ। राजदूत क्वात्राले मोदीको पहिलो कार्यकालमा तीन वर्ष प्रधानमन्त्री कार्यालयमा बसेर काम गरेका थिए। क्वात्राले प्रधानमन्त्री कार्यालयमा रहेर मोदीको विदेश मामिला हेरेका थिए।

क्वात्राले सुझाएका हेरक विषय प्रधानमन्त्री मोदीले गम्भीर रूपमा लिने गरेको जानकारहरू बताउँछन्। क्वात्रा प्रधानमन्त्री मोदीलाई सोझै रिपोर्टिङ गर्ने हैसियत राख्छन्। प्रधानमन्त्री मोदीले आफ्नो विश्वासिलो र काविल कूटनीतिज्ञका रूपमा चिनिएका क्वात्रालाई नेपालका लागि राजदूत बनाए। राजदूत मात्र होइन, पछिल्लोपटक डेपुटी चिफ अफ मिसन (डीसीएम) का रूपमा नेपालस्थित भारतीय दूतावासमा आएकी नमग्या खम्पालाई समेत प्रधानमन्त्री मोदीले नै पठाएका हुन्। उनी नेपाली भाषा राम्रोसँग बोल्न सक्छिन्। नमग्या नेपाली सीमासँग जोडिएको उत्तराखण्डकी स्थायी वासिन्दा हुन्। नमग्याले समेत प्रधानमन्त्री मोदीसँग काम गरेकी थिइन्। त्यसअघि उनले बेइजिङस्थित भारतीय दूतावासमा काम गरेकी थिइन्। भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कमा प्रधानमन्त्री मोदीले महत्त्वपूर्ण व्यक्तिलाई ल्याएका छन्। क्रोएसियामा राजदूत रहेका बेला समय नसकिँदै फिर्ता बोलाएर प्रधानमन्त्री मोदीले अरिन्दम वागचीलाई नेपाल डेस्कको जिम्मा दिए। उनी इमानदार र सफल कूटनीतिज्ञका रूपमा चिनिन्छन्। आफूसँग प्रत्यक्ष काम गरेका र सक्षम व्यक्तिलाई मोदीले नेपाल पठाए।

राजदूत क्वात्रा भारत जानुअघि प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए। प्रधानमन्त्री ओलीको विशेष सन्देश लिएर राजदूत क्वात्रा नयाँदिल्ली गएका थिए। नयाँदिल्लीबाट प्रधानमन्त्री मोदीको सन्देश लिएर आएका राजदूत क्वात्राको सेल्फ क्वारेन्टाइनको अवधि सकिएको छ। राजदूत क्वात्राले प्रधानमन्त्री मोदीको सन्देश सुनाउन प्रधानमन्त्री केपी ओलीलाई भेट्ने तयारी गरिरहेका छन्। भारतीय प्रधानमन्त्री मोदी नेपालसँग सम्बन्ध बिगार्ने पक्षमा कहिल्यै छैनन्। काठमाडौं आएका बेला मोदीले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम आउने नेपाली जनतालाई विश्वास दिएका थिए।

आध्यात्मिक स्वभावका भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा नेपाली जनताको स्नेह र माया लिएर फर्किएका थिए। आध्यात्मिक व्यक्तिले कुनै कठोर निर्णय लिनुअघि धेरैपटक सोच्ने गर्छ। धार्मिक र आध्यात्मिक व्यक्तिले स्वयंले नकारात्मक कुरा गर्न र सोच्न सक्दैन। भारतीय प्रधानमन्त्री मोदी धार्मिक व्यक्ति हुन्। त्यसैले नेपाल–भारतबीचको सम्बन्धमा दरार उत्पन्न हुनु र संवादहीनताको अवस्था आउनुमा मोदी स्वयं संलग्न नहुन सक्छन्। त्यहाँका सरकारी संयन्त्रले त्यस विषयमा ठूलो भूमिका खेलेको हुनुपर्छ। यसले मोदीलाई कुनै प्रतिक्रिया दिन नसक्ने बाध्यात्मक परिस्थिति सृजना भयो। अहिले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवैजना सम्बन्ध सुधारका लागि पहल गरिरहेका छन्।

बंगलादेशसँग लामो समयसम्म चलेको सीमा विवादसमेत भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय सहमति कायम गरी समाधान गरेका थिए। भारत र नेपालबीचको सीमा विवाद पनि अहिलेको होइन। न भारतीय प्रधानमन्त्री मोदीका पालामा सीमा विवाद भएको हो न त प्रधानमन्त्री केपी ओलीका पालामा। दुवै मुलुकका प्रधानमन्त्रीहरू सीमा विवाद सल्टाउन लागिपरेका छन्। नेपाल र भारतबीचको सम्बन्ध बिग्रिएका समाचार दैनिकरूपमा भारतीय सञ्चारमाध्यमले प्रकाशन÷प्रसारण गर्दै आएका थिए। भारतीय सञ्चारमाध्यम उच्छृंखल ढंगले प्रस्तुत भए। भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री ओलीको तीव्र आलोचना हुन थाल्यो। यसले नेपाल र भारतको सम्बन्ध थप बिगार्दै गएको थियो। नेपाल सरकारले केही भारतीय टीभी च्यानहरूको प्रसारणमा रोकसमेत लगायो। त्यसपछि भारतीय सञ्चारमाध्यममा नेपालविरोधी समाचार रोक्न त्यहाँको सरकारी स्तरबाटै पहल गर्नुपरेको थियो।

अहिले भारतीय सञ्चारमाध्यममा यदाकदा मात्र नेपालविरोधी समाचार पढ्न र सुन्न पाइन्छ। भारत सरकारले वार्ताको वातावरण बन्दै गएकाले नेपाल मामिलामा जथाभावी समाचार प्रकाशन–प्रसारण नगर्न उर्दी नै जारी गरेको छ। यसको अर्थ भारत अब नेपालसँग नयाँ ढंगले सम्बन्ध बढाउन चाहन्छ। भारत र नेपाल एकअर्काका असल छिमेकी मुलुक मात्र होइनन्, आर्थिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले नेपाल र भारत एकअर्काको परिपूरक हुन्। तसर्थ, भारतीय प्रधानमन्त्री मोदीले ठूलो छाती बनाएर मिचिएका भूमि विर्नासर्त नेपाललाई फर्काउनुपर्छ। दुई देशबीचको सम्बन्धलाई थप बलियो र जिम्मेवारीपूर्ण बनाउन भारतले असल छिमेकीको व्यवहार गर्नुपर्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.