सभ्य समाजमाथिको प्रहार
उत्पीडनका साङ्ला अरू कसैले छिनाल्दैन, पीडितले नै अगाडि बढ्न र नेतृत्व लिन सक्नुपर्छ, अन्य पक्ष सहयोगी, समर्थक र सहभागी हुने मात्र हुन्
मनवीरे सुनार (कालिकोट), सेते दमाईं (दैलेख), मना सार्की (कालिकोट), शिवशंकर दास (सप्तरी), लक्ष्मी परियार (काभ्रे), राजेश नेपाली (पर्वत), श्रेया सुनार (कास्की), रूपमती दास (मोरङ), रेश्मा रसाइली (धनुषा), माया विक (कैलाली), अस्मिता तोलामी सार्की (झापा), संगीता परियार (तनहुँ), झुमा विक (ताप्लेजुङ) ले ज्यान गुमाए।
अन्तरजातीय प्रेमका सिकार काभ्रेका अजित मिजारको शव दाहसंस्कार लागि न्यायिक संघर्ष ४ वर्षदेखि शिक्षण अस्पतालमा जारी छ। नवराज विकहरूका चीत्कार भेरीका सुसेली बने। हिरासत नै बधशाला बनेको शम्भु सदा र विजयरामको न्यायिक चिच्याहट सभ्य समाजको कानमा परेन। कालिकोटका पखं विकलाई मन्दिरमा धार्मिक गुन्डाबाट भगवान्ले रक्षा गरेनन्। रोशन माझीको चीत्कार होस् या रौतहटका निरञ्जन रामको; कैलालीका विकास विकहरू गम्भीर आक्रमणमा पर्नु दलित कोखमा जन्म हुनु थियो। अहिले प्रदेश २ का मुख्यमन्त्री मुसलमान र प्रदेश प्रमुख दलित छन् तर दलितको हत्या र उत्पीडन तथा प्रतिरोधी आन्दोलनको केन्द्र पनि जनकपुर नै। उत्पीडनका रूप फरक–फरक छन्। अन्तरनिहित मूल पक्ष धार्मिक र जातीय अहंकार हो।
इतिहासका पानामा
मनुवादी वर्ण व्यवस्था हिन्दु समाजको महाकलंक हो। ती कलंक अपराध बन्दै आए। वर्चश्वशली समूह त्यसलाई तोड्नुको साटो अहंकारग्रसित बन्दै गयो। धर्मनिरपेक्ष, कम्युनिस्ट वा उदारवादी पनि आधुनिकतासँगै जातीय अहंकारमा फस्दै अपराध कर्मलाई नैसर्गिक अधिकार मान्न थल्दा एकतर्फ धर्म परिवर्तन बढ्न थाल्यो भने अर्कातर्फ अपराधले वर्चश्वशाली तप्काको संरक्षण पनि पाउँदै गयो।
लोकायतवादीहरूले धार्मिक पाखण्डबारे गम्भीर विवेचना गरेका हुन्। अन्यायपूर्ण इतिहासको क्रूरतालाई आधुनिक र सभ्य समाजले साङ्लो छिनाल्न भने सकेन। दलितले छाता ओढ्न तथा गहना र जुत्ता लगाउनु त प्रतिबन्ध नै थियो। बाटामा थुक पर्ला भनेर घाँटीमा घैंटो झुन्ड्यएार हिँड्नुपर्ने थियो। केरलाको त्रावणकोरमा दलितले (एझवा) स्तन ढाक्ने कपडा लाउनुपथ्र्यो ‘स्तन कर’ तिर्नुपथ्र्यो। सन् १८०३ मा सानर नायर नंगेलीले आफ्नो स्तन काटेर ‘लौ यही हो कर’ भन्दै प्राणत्याग गरिन् र उनका पतिले आत्महत्या गरे। यो परिघटना दलित प्रतिरोधको प्रतिनिधि घटना बन्यो। हजारांै वर्षदेखिको उत्पीडन ‘विष्ट’ समूहलाई सामान्य ठानिए। ज्ञान र उत्पादनका साधन–स्रोतमाथि उनैको कब्जा कायम रहँदा दलित सामाजिक समूह मात्रै नभई आर्थिक वर्ग पनि बन्न पुग्यो।
दलित–उत्पीडितमाथिका उत्पीडनविरुद्धको आवाज दलित वा लोकप्रियताका व्यवसायी एनजीओले मात्रै उठाउनुपर्छ ? राजनीतिक दल, मिडिया र विष्ट सन्तानका सरोकारका विषय किन बन्दैनन् ?
वर्ग निर्माणका आधार र चरित्र युरोप र यस उपमहाद्वीपमा फरक रहन गए। जुन बेला माक्र्स–एंगेल्स कम्युनिस्ट घोषणापत्र (सन् १८४८) तयार गर्दै थिए, कालामाथि भएको बर्बरताका कहानी हेरियट बुजर स्टो ‘अंकल टम्स क्याबिन’ (सन् १८५१) लेख्दै थिइन्, जसलाई राष्ट्रपति अब्राहम लिंकनले काला जातिको बाइबल भने। अंग्रेज उपनिवेश, बर्बरता र उनका मतियारबारे त माक्र्सले सुन्दर व्याख्या गरे तर भारतको जातीय बर्बरता, समाजको श्रेणीगत अवस्थाबारे गम्भीर विवेचन गर्न भ्याएनन्। पछिल्लाकालमा भारतमा भने ज्योति वा फुले, रामा स्वामी पेरियार, भीमराव अम्बेडकर र काशीरामले सामाजिक जागरण र दलित मुक्तिको अभियानमा सामेल गराएर वैचारिक आन्दोलनको प्रवक्ता बने। अझ वैचारिक कार्य र चिरफार राहुल सांकृत्यायनले गर्न पुगे।
कम्युनिस्टले जातीय कुरा नभई वर्गीय कुरा मात्र उठाउँदा दलित समूहमा पकड बनाउन सकेनन्। सामाजिक–सांस्कृतिक आन्दोलन हुन नसक्दा बरु लम्पट सर्वहारा दलित वर्गमै देखा पर्यो। आर्थिक वर्गप्रति मात्र जोड दिँदा वर्ण व्यवस्थाले वर्ग निर्माण गरेकामा ध्यान दिन सकेनन्। तीसको दशकमा अम्बेडकरले कम्युनिस्ट र पेरियारले कांग्रेस छाडे। दलित समूहबाट उच्च स्थानमा पुग्ने रूपलाल विश्वकर्माले पनि किन कम्युनिस्ट पार्टी छाडे ? के योग्यता, क्षमता र दक्षताको अभावले केन्द्रीय कार्यकारी नेतृत्वमा दलित, आदिवासी, जनजाति पुग्न नसकेका हुन् वा वर्चश्वशाली तप्काका कारण ? राजनीतिक पार्टीमा गम्भीर बहस हुुन सकेन न प्राज्ञिक जमातमा। जसरी भारतमा दलित प्रतिरोधी आन्दोलन भए र हुँदैछन्, त्यस्तो यहाँ हुन सकेन।
दलित संगठन र एनजीओ
हरेक पार्टीका जनवर्गीय संगठन त छन्, तर ती समूहका प्रवक्ता र अगुवा बन्नुभन्दा पनि आफ्नै पहिचान र आरक्षणका खोजीले दायित्व निर्वाह नगरी विष्टभक्तिमा रुमल्लिए। समानुपातिक शासकीय व्यवस्थाको परिकल्पना आरक्षणमार्फत स्वाभिमानको रक्षा र चेतनाको जगेर्ना गर्ने सोच थियो होला। तर, त्यसको बदला दलितमा आसे प्रवृत्तिको विकास गर्यो भने जनवर्गको प्रवक्ताभन्दा नेतृत्वको चाकरमा उनीहरूलाई फेरियो। समानुपातिकताको दया–याचनामा स्वन्तत्र चेत र विद्रोही आत्मा बन्धकी बन्न पुगे। उत्पीडित तप्काका विषय एनजीओलाई लोकप्रिय नारा र व्यवसायका मुद्दा त बन्छन् तर विद्रोह र प्रतिकारका विषय भने बन्दैन। बरु ‘पानी छर्कने’ काम भने गर्छ। भुक्न त सिकाँउछ तर टोक्न हौस्याउँदैन।
जनयुद्ध, दलित र संसदीय नेतृत्व
जनयुद्धले स्वाभिमान, आत्मसम्मानको सपना देखाउँदै आशा जगायो। मान्छे समान हो भन्ने विश्वास भर्यो। विद्रोह नापीजोखी कहीं पनि भद्रतामा हुँदैन, त्यो उग्रतामा पोखिँदा ‘दलित भर्सेस विष्ट’ भिडन्त कालिकोटमा देखियो पनि। अपमान र तिरस्कारले थिलथिलो भएको दलित समूह युद्धमा अग्रिम पंक्तिमा सामेल भयो। ज्यान गुमाउनेमा दलित, जनजाति र थारू सबभन्दा धेरै भए। विद्रोहले आत्मबल र वाणी पाएका समूहको स्वाभिमान र महŒवाकांक्षा त पलायो तर फेरिएको परिस्थितिमा वर्चश्वशाली तप्काबाट आएको नेतृत्व भने पुरानै सम्बन्ध र संस्कृतिमा फर्कंदा विचार र वर्ग पनि उसका फेरिए। राष्ट्रि«यसभामा ७ र प्रतिनिधिसभामा १९ सांसद गरेर २६ जना दलित सांसद हुँदा पनि दलित हत्या र उत्पीडन संसद्को विषय बन्न सकेन, बरु हत्याको तर्क पुष्टि गरिन थालिए।
धर्म र दलित
आफ्नै सीप, कला र क्षमताका धनी सिल्पी समूह आफ्नै ओकात थाहा नपाउँदा सुगन्ध थाहा नपाउने मृग झैं विष्टहरूबाट अपमानित भएको छ। अदृश्य भयले सदा सताइरह्यो। रामनामी कम्युनिस्टहरूले स्वाभिमानी दलित, जनजाति र आदिवासीलाई अन्य धर्मतिर वा धर्मान्धतातर्फ धकेल्दै गए। आफ्नै धार्मिक र सांस्कृतिक समूहहरू दलितमै समेत पनि अपमान, आक्रमण, बहिस्करणका कारण बने। हत्या, बलात्कार र आक्रमण भनेको सामूहिक मनोबल तोड्नु हो।
भारतमा दलितहरू बुद्धमार्गमा लागे भने नेपालमा इसायतमा। जुन धर्मले तिम्रो स्वाभिमानको रक्षा गर्न सक्दैन, त्यसलाई ठोक र मार भनेर रामाश्वामी परियारले समाजलाई लल्कारेका थिए, तर रोग नचिनेका दलितलाई भने भगवान् र मन्दिरले लठ्यायो। भारतका संविधान निर्माता एवं पहिलो न्यायमन्त्री ज्ञान, शिक्षा र योग्यताका उम्दा भीम राव अम्बेडकरले आफ्ना सर्मथकसँगै सन् १९५६ को अक्टोबरमा बौद्ध धम्म ग्रहण गरे।
धर्म परिवर्तन र दलित
अहिले धर्म परिवर्तनको बाढी आएको छ। त्यसको मुख्य प्रभाव दलित, जनजाति र आदिवासीमा पर्यो, तर अधिकांश पास्चर भने विष्ट कूलका छन्। पश्चिमाहरूको भूसंवेदनशील देशको रणनीतिक उद्देश्य जोडिएको छ, तर प्रोत्साहित गर्ने र धकेल्ने मुख्य कारण हिन्दु धर्मको असहिष्णु मनुवादी व्यवस्था हो। शासन र न्यायिक चरित्र पनि सोहीअनुसार छ।
दृष्टान्त नियालौं– मल्लो, तल्लो र बीच गाउँमा बाँडिएको विकापुरका कृष्ण परियार फस्र्ट बेन्चर विद्यार्थी थिए। ‘डुमपुत्र’ ले सबैलाई उछिनेकोमा विष्टहरूमा डाहा थियो नै। किशोर कृष्णको उमेर बढ्दै जाँदा छाती चौडा हुँदै थिए। पाखुरा बलिष्ठ, नजर फराकिलो, मस्तिष्कमा जिज्ञासा, कूतुहल र प्रश्न उब्जँदै गइरहेका थिए। असमानता, भेदभाव, तिरस्कार र सामाजिक अपमानका कारण पहिल्याउने भोक जाग्दै गयो। अझ सरस्वती पूजाका दिन स्कुलको चौर छोएर पूजा बिटुल्याएको आरोपमा सार्वजनिक बेइज्जत गर्दै ‘गुरु’ ले नै भगाएपछि त पीडा झन् थपियो। अर्का दिन सहपाठीका घरमा खाजा खाँदै गर्दा मित्रपिताले त्यहाँबाट पनि लखेटे। घरमा रुद्री गरेर तीन दिनपछि मात्र गृह प्रवेश गर्दै विष्टले ‘धर्म’ जोगाए। मान्छेका बीचको यो असमानता, भेदभाव, तिरस्कार र सामाजिक अपमानले घाइते कृष्ण अनेकौं प्रश्न र जिज्ञासा लिएर समानताका अभियन्ता तथा कम्युनिस्ट नेतृत्वसामु पुगे पनि उनीहरूको भनाइको आदर्श र व्यवहारबीच तालमेल नदेखेपछि बिरक्तिँदै इसाईहरूको संगतमा पुगे। तबसम्म उनमा कम्युनिस्टसँग मात्रै होइन, भगवान्सँग समेत मोहभंग भइसकेको थियो। आखिर चंख कृष्ण मण्डलीमा मात्र सामेल भएनन्, अवसरको सिँढी चढ्दै गएर राष्ट्रिय नेतृत्व तहमा पुग्न सके। पुराना अपमानका दिन सम्झँदै अहिले उनी भन्छन्– उनीहरूको भेदभाव अज्ञानताका कारण हो, माफ गरौं– त्यसबारे चर्चा नगरौं।
अहिले पास्चर कृष्णजस्ता असंख्य अपमानितको धर्म परिवर्तनलाई प्रायोजित खेल, डलर र युरोको लगानी, पश्चिमाले धर्म र संस्कृति नष्ट गर्यो भन्नेहरू वर्चश्वशालीका व्यवहार र रामनामी कम्युनिस्टबारे भने चर्चा गर्दैनन्। यसै पनि ख्रिस्तानहरू पनि अन्धविश्वासबाट मुक्त छैनन् भने उनीहरूका रक्तरञ्जित हात अरूका भन्दा अझ फोहोरी छन्।
किन झन् बढ्यो त उत्पीडन ?
एकातर्फ शिक्षामा पहुँच, परिवर्तनसँगै जागृत स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्रले हेपिएको नसहने चेत विकास भयो। हिजो दबाइएर रहेका सूचना र समाचार सामाजिक सञ्जालबाट विश्वव्यापी भए। आन्दोलन र विद्रोह एवं सामाजिक हस्तक्षेपले आत्मबल बढायो। नेताहरूको आदर्श सकिँदा र आन्दोलन नरहँदा पनि जनतामा विकास भएको प्रतिरोधी चेतनालाई विष्टहरूले बुझ्न नसक्दा पुरानै ऐंठनले आक्रामक मनोविज्ञान बढिरह्यो।
अन्त्यमा,
–उत्पीडनका साङ्ला अरू कसैले छिनाल्दैन, पीडित नै अगाडि बढ्न र नेतृत्व लिन आवश्यक हुन्छ। अन्य पक्ष सहयोगी, समर्थक र सहभागी हुने मात्र हुन्। शिक्षित हुन, संगठित हुनु, संघर्ष गर्नु, आफैंभित्रको भेदभाव तोड्नु र राजनीतिक पछुवा नबनी हस्तक्षेप गर्नु आवश्यक हुन्छ।
–दलित–उत्पीडितमाथिका उत्पीडनविरुद्धको आवाज दलित वा लोकप्रियताका व्यवसायी एनजीओले मात्रै उठाउनुपर्छ ? यी किन राजनीतिक दल, मिडिया र विष्ट सन्तानका सरोकारका विषय बन्दैनन् ? चोटको मर्म त घाइतेलाई हुन्छ तर मलमपट्टी भने अरूले पनि लगाइदिन सक्छन्, लगाइदिनुपर्छ। अहिले उत्पीडनविरुद्ध संसारमै वर्ग वा समूह या उदारवादी, परिवर्तनवादी, क्रान्तिकारी सोचको हातेमालो हुँदैछ तर नेपालमा भने खट्किएकै छ।