मापदण्डविपरितका स्वास्थ्य चौकी भवन, सेवा प्रवाहमै सकस

मापदण्डविपरितका स्वास्थ्य चौकी भवन, सेवा प्रवाहमै सकस

बैतडी  : जिल्लाको पाटन नगरपालिकाका ४ की गीता चन्द सुरक्षित प्रसूति सेवाका लागि भुमेश्वर स्वास्थ्यचौकीमा पुगिन् । तर स्वास्थ्यचौकीको एकै कोठामा सुरक्षित प्रसूती सेवा पाउन उनलाई निकै कठीनाइ भयो । स्वास्थ्य चौकीको भवन निर्माण अधुरै हुँदा सेवाग्राहीलाई सेवा लिन अप्ठेरो भएको उनको भनाइ छ । 

पाटन नगरपालिकाकै महिला स्वास्थ्य स्वयंसेविका हिरा ऐरी पनि एउटै कोठामा ओपडी सेवा, सुरक्षित सुत्केरी सेवालगायतका सेवाहरु प्रदान गरिने भएकाले स्वास्थ्य संस्थामा पुग्ने सेवाग्राहीलाई निकै समस्या हुने गरेको बताउँछिन् । हिरा भन्छिन्, 'हामी गाउँमा महिला दीदी बहिनीहरुलाई सुरक्षित सुत्केरी सेवाका लागि स्वास्थ्य संस्थामा पुर्याउँछौं तर भवनको अभावमा उनीहरुलाई निकै समस्या हुने गरेको छ ।'

यस्तै जिल्लाको दशरथचन्द नगरपालिका १ कलौनकी हिरा भुल यही भदौ १० गते सुरक्षित प्रसूति सेवाका लागि गुरुखोला स्वास्थ्यचौकी पितलथला पुगिन् । वर्षातको समय भएकाले सुत्केरी हुने कोठा पानीले भरिएको थियो । उनले भनिन्, 'एकातिर प्रसव पीडा अर्कोतिर कोठामा नराम्रो गन्ध । सेवा लिन साह्रै समस्या भयो । स्वास्थ्यचौकीको एउटै कोठमा सबै सेवा लिनुपर्दा झन् समस्या भयो।'

पाटन नगरपालिका ४ को भुमेश्वर स्वास्थ्य चौकीको आफ्नो भवन नहुँदा सेवा प्रवाहमा निकै असहजता छ । स्वास्थ्य चौकीको भवन नहुँदा आधुनिक भवन निर्माणका लागि २०७३ सालमा ठेक्का सम्झौता भएको भएपनि समयमा काम नहुँदा थप चुनौती थपिएको छ । स्वास्थ्य चौकीको आफ्नो भवन नहुँदा स्वास्थ्य सेवा प्रदानमा निकै असहजता भएको स्वास्थ्य चौकी प्रमुख मनोज भट्टको पनि स्वीकारोक्ति छ । भट्ट भन्छन्, 'हाम्रो आफ्नो भवन छैन । वडाको भवनमा स्वास्थ्य चौकी संञ्चालन गरिरहेका छौं । अहिले स्वास्थ्यचौकी सञ्चालन गरेको ठाउँमा वडाको नयाँ भवन बन्ने भएपछि ठेकेदार अन्यत्र सार्नु भनिरहेका छन् । तर स्वास्थ्यको भवन अझै पूर्ण हुन सकेको छैन् ।'

भुमेश्वर स्वासथ्यचौकीको भवन निर्माणका लागि सित्तडी  कन्सट्रक्सनले २०७३ असोजमा साविकको  शहरी विकास तथा भवन निर्माण कार्यालयसँग सम्झौता गरेको थियो । सम्झौता गरेको मितिले १८ महिनामा भवन निर्माण कार्य सक्ने लक्ष्य राखिएको भएपनि अहिले सम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन् । 'हामीले निर्माण कम्पनीलाई भवन निर्माण कार्य छिटो सक्न भनेर ताकेता गरिरहेका छौं । दुई पटक म्याद थप हुँदा समेत तोकेको समयमा भवन निर्माण हुन सकेको छैन् ,सघन शहरी तथा भवन निर्माण आयोजना डोटीको फिल्ड कार्यालय बैतडीका सव इन्जिनियर सुजन रेग्मीले भने, ‘अब असोज महिनाभित्र जसरी पनि भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छौं । काम पनि अन्तिम चरणमा पुगेको छ ।'

भुमेश्वर स्वास्थ्यचौकीको भवन समयमा नबन्दा सेवाग्राहीहरुलाई पनि सास्ती भएको छ । पुरानो सानो भवनमा सेवाग्राही आउँदा ठाउँको समेत अभाव हुने गरेको स्वास्थ्यचौकी प्रमुख भट्टले बताए । व्यवस्थित भवन नहुँदा आफूहरुलाई स्वास्थ्य सेवा लिन असहज हुने गरेको पाटन नगरपालिका ४ की भागरथी भट्टले बताइन् । 
उनले भनिन्, 'समयमै सुविधा सम्पन्न भवन बन्ला भनेर सोचेका थियौं । तर ठेकेदारको लापरवाहीले समयमै काम नहुँदा हामीहरुलाई समस्या भएको छ ।’ 
जिल्लाको दशरथचन्द नगरपालिका १ पितलथलामा पनि २०७४ सालमा स्वास्थ्यचौकीको आधुनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भयो । २०७६ भदौमा सो भवनको निर्माण कार्य गरिसक्नुपर्ने भएपनि अहिले सम्म भवन निर्माणको काम सम्पन्न हुन सकेको छैन् ।

१ करोड ७८ लाख बढीको लागतमा निर्माण भइरहेको सो भवन दुई पटक म्याद थप्दा समेत पूर्ण हुन सकेको छैन् । स्वास्थ्यचौकीको भवन समयमै निर्माण नहुँदा स्वास्थ्यचौकीले सेवाप्रवाहमा समस्या भएको जनाएको छ । भवनको अभावमा एक ठाउँमा प्रसुती सेवा केन्द्र र एक ठाउँमा अन्य स्वास्थ्यसेवा सञ्चालन भईरहेको स्वास्थ्यचौकीका अहेव लवदेव भट्टले बताए । उनले भने, 'भवन निर्माण सम्पन्न भएमा एकीकृत सेवा एकै भवनबाट प्रदान गर्न सजिलो हुने थियो । भवन समयमा निर्माण नहुँदा हामीलाई पनि सेवा प्रदान गर्न असहज भएको छ ।'

२०७३/७४ सालमा ठेक्का सम्झौता भएका स्वास्थ्यचौकीका ५ ओटा भवन अझै निर्माण सम्पन्न नभएका सघन शहरी तथा भवन निर्माण आयोजना डोटी अन्तर्गतको फिल्ड कार्यालय बैतडीका सब इन्जिनियर सुजन रेग्मीले बताए । उनले भने, 'निर्माण व्यवसायीहरुको लापरवाही र अन्य कारणले केही भवन समयमा सम्पन्न हुन सकेका छैनन् । यसले गर्दा नागरिकमा समेत निराशा छाएको छ ।'

स्वास्थ्य सेवालाई सुदृढ बनाउने एक प्रमुख सूचक भौतिक व्यवस्थापन भएपनि समयमा भवन नबन्दा स्वास्थ्य सेवा प्रवाहमा कुनै न कुनै रुपमा बाधा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'प्रभावकारी स्वास्थ्य सेवाका लागि भौतिक व्यवस्थापन पनि मुख्य कुरा  हो । कतिपय ठाउँमा भवन अभावकै कारण सेवा प्रदानमा असहजता भईरहेको छ भने कतिपय ठाउँमा समयमा भवन नबन्दा समस्या भएको छ ।'

कोभिड १९ ले पारेको प्रभाव 

बैतडीका ५ वटा स्वास्थ्यका भवन निर्माणमा ढिलाइ हुनुमा कोभिड १९ ले पनि केही प्रभाव पारेको देखिन्छ  । अधिकांश भवन गत वैशाखमै सक्ने गरेर म्याद थपिएको भएपनि लकडाउनका कारण काम हुन नपाएको सघन शहरी तथा भवन निर्माण आयोजना डोटी अन्तर्गतको फिल्ड कार्यालय बैतडीका इन्जिनियर सुजन रेग्मीले बताए ।

उनले भने, 'कोभिड १९ ले निर्माण सामग्रीको पनि अभाव भयो । मजदुरहरुको पनि अभाव भयो । यसले भवन निर्माणमा झनै ढिलाइ भयो।' निर्माण कार्यमा ढिलाइ गरिरहेका निर्माण कम्पनीहरुलाई कोभिड १९ले झन् ढिलोमा धकेलेको सब इन्जिनियरले रेग्मीले बताए । 

कोभिड १९ का कारण निर्माण सामग्री खरीद र ढुवानी नसक्दा भवन निर्माणको काममा ढिलाइ भएको बस्नेत निर्माणका सेवाका प्रतिनिधि पूर्णबहादुर टेरले बताए । उनले भने ‘गएको वैशाखमै पितलथलामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न हुने थियो । तर लकडाउनले काम गर्न पाइएन् । अबको एक महिनाभित्र निर्माण कार्य सम्पन्न गर्छौं ।’

मापदण्डअनुसार छैनन् भवन

नेपाल सरकारले मापदण्ड पुर्‍याएर स्वास्थ्यचौकीबाट सेवा प्रदान गर्न भनेको छ। तर बैतडीमा मापदण्ड अनुसारका भवन कमै छन् । जिल्लामा ६५ वटा स्वास्थ्यचौकीबाट सेवा प्रदान भइरहेको भएपनि मापदण्ड अनुसारका भवन नभएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । उनले भने ,'आवास सुविधा भएको, पानी,शौचालय, बिजुली अथवा सोलार, प्रयोगशालाको व्यवस्था भएको स्वास्थ्यचौकीलाई आधुनिक स्वास्थ्यचौकीको रुपमा लिइन्छ । जिल्लामा बढीमा १० वटा स्वास्थ्यचौकीमा मात्रै आधुनिक सुविधा सम्पन्न छन् ।'

स्वास्थ्यचौकीका भवन मापदण्ड अनुसारका नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ,'स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिक पाटो पनि मुख्य चीज हो । धेरैजसो स्वास्थ्य संस्थामा भौतिक सुविधाको अभाव हुँदा सेवा प्रभावकारी हुन सकेको छैन् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.